रवीन्द्रलाई सम्झिएर जब योगेश भावुक बने...
![रवीन्द्रलाई सम्झिएर जब योगेश भावुक बने...](https://annapurnapost.prixacdn.net/media/albums/Yogesh-bhattari-Tourism-Minister_20190731143025_N4wZ8s0wWI.jpg)
काठमाडौं : शीतल निवासमा शपथ लिएर सिधै पर्यटन मन्त्रालय पुगेका योगेश भट्टराई जब मन्त्रीको कुर्सीमा बसे, दिवंगत मन्त्री रवीन्द्र अधिकारीलाई सम्झिएर भावुक बने। ‘मैले घनिष्ठ मित्र गुमाएँ। आज परिस्थिति र घटनाक्रमले उहाँको कुर्सीमा बस्न आइपुगेको छु’, योगेशले भने, ‘म उहाँलाई बिर्सन सक्दिनँ। ....अफशोच प्रकृति र घटनालाई हामी जित्न सक्दैनौँ।’
गत वर्ष फागुन १५ गते तत्कालीन पर्यटनमन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो। चार महिनाको रिक्ततापछि पहिलो पटक मन्त्री बनेर मन्त्रालय पुगेका योगेशले आकस्मिकताकाबीच आएको बताए। उनले टिममा कोही ठूलो र सानो नभएको बताए।
‘आकस्मिकताका बीच म यहाँ आएको छु’, योगेशले भने। उनले काम गर्न मन्त्रालय आएको बताए। ‘कार्यालय सहयोगीदेखि सचिवज्यू सबै हामी साथी हौँ। टिमलाई गति दिने मेरो भूमिका हुन्छ’, उनले भने, ‘म यहाँ कसैलाई काम लगाउन आएको होइन। म तपाईंहरुले लगाएको काम गर्न आएको हुँ। कस्तो काम गर्दा इज्ज्त बढ्छ ? के काम गर्दा सफलता मिल्छ ? त्यो कुरा तपाईंहरुले ख्याल गर्नुपर्ने हुन्छ।’
नवनियुक्त मन्त्री भट्टराईले मन्त्रालय छोडेर जाँदा खादा र माला दिँदा अर्थ हुने भन्दै त्यही अनुसार काम गर्नुपर्ने बताए। ‘मेरो स्वागतमा खादा र माला प्रयोग नगर्नू भनेर सचिवज्यूलाई भनेको थिएँ। तर, त्यो सूचना पुगेनछ’, उनले भने, ‘यो मन्त्रालय छोडेर जाँदा खादा माला दिनुभयो भने ज्यादा राम्रो हुन्छ। त्यो बेलाको खादा र मालाको अर्थ पनि हुन्छ। त्यसरी काम गर्नुपर्छ।’
![](http://bg.annapurnapost.com/uploads/media/Yogesh-bhattari1_20190731143438.jpg)
मन्त्री भट्टराईले सञ्चार जगत्बाट आफू नभाग्ने बताए। ‘सञ्चार जगतसँग हामी भाग्दैनौँ। सञ्चार जगतको भूमिका ठूलो छ भन्नेकुरा मलाई थाहा छ’, उनले भने, ‘सञ्चारको निगरानीमा हामी छौँ।’ देश बनाउने दायित्व प्रधानमन्त्री, मन्त्री, सचिवको मात्र नभएर सबैको भएको उनको भनाइ छ। मन्त्रालयमा निर्देशन भन्दा पनि सामूहिक निर्णयबाट काम हुने उनले बताए।
‘सबैको सहयोगी भूमिका रहने अपेक्षा गर्छु’, उनले भने, ‘मन्त्रालयमा निर्देशन कम हुनेछन्।’ भट्टराईले समाजवादी संगठनमा विश्वास गर्ने बताए। ‘हामी सामूहिक निर्णयबाट अगाडि बढ्छौँ’, उनले भने। मन्त्री भट्टराईले भ्रमण वर्ष २०२० को लक्ष्य सफल पार्ने उल्लेख गरे। त्यसका लागि सम्पूर्ण संयन्त्र प्रयोग हुने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)