रवि लामिछानेविरुद्ध काठमाडौंमा पुडासैनी पत्नीको किटानी जाहेरी
काठमाडौं : सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दर्ता भएको छ ।
चितवनमा झुन्डिएको अवस्थामा भेटिएका पत्रकार सालिकराम पुडासैनीकी पत्नी सम्झना पुडासैनीले आइतबार परिसरमा पुगेर रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध किटानी जाहेरी दिएकी हुन् ।
काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार सम्झनाले आत्महत्यामा दुरुत्साहन गर्ने तीनैजनाविरुद्ध हदैसम्मको कारबाही माग गर्दै जाहेरी दिएकी हुन् । उनले काठमाडौंमा दर्ता गरेको जाहेरी चितवन पठाउने तयारी भइरहेको बोगटीको भनाइ छ ।
लामिछानेसहित तीनविरुद्ध चितवनमा आत्महत्या दुरुसाहन मुद्दामा अनुसन्धान भइरहेको छ । शुक्रबार चितवन जिल्ला अदालतले रविसहित तीनैजनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न निर्देशन दिएको थियो । रवि र युवराजलाई प्रहरीले बिहीबार साँझ न्युज २४ च्यानलको कार्यालय पानीपोखरीबाट पक्राउ गरेको थियो । बिहीबार दिउँसो पक्राउ परेकी अस्मितासहित तीनैजनालाई प्रहरीले बिहीबार राति चितवन पुर्याएको थियो ।
पुडासैनीले आत्महत्याअघि अस्मिता भनिने रुकु कार्की, लामिछाने र कँडेलले आफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरेको भिडियो सार्वजनिक भएको थियो। उक्त भिडियो पुडासैनीको मोबाइलमा फेला परेपछि प्रहरीले फरेन्सिक जाँच गर्दा भिडियो आफैं खिचेको पुष्टि भएको प्रहरीले जनाएको छ। पुडासैनीकै आवाजको भिडियो रहेको पुष्टिपछि थप अनुसन्धान गर्न लामिछाने, कार्की र कँडेललाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।
के छ भिडियोमा ?
न्युज २४ टेलिभिजनमा कार्यरत पत्रकार युवराज कँडेलले सँगै काम गरौँ भन्दा सुरुमा आफूले नमानेको पुडासैनीले भिडियोमा उल्लेख गरेका छन्। 'काठमाडौंमा सेक्युरिटी कम्पनी चलाएर बसेका बेलामा युवराजसँग केही वर्ष अघि भेट भयो। उसले मलाई तान्न कोसिस गर्यो', पुडासैनीले भिडियोमा भनेका छन्, 'मैले गर्दिनँ भनेँ। धेरै कोसिस गरेपछि पार्ट टाइम गरेँ। महिनाको १५ हजार दिन थाले।'
पछि फुल टाइम गर्न दबाब दिन थालेपछि उनीहरूले भनेबमोजिम सबै अफिस छोडेर काम गर्न थालेको उनले उल्लेख गरेका छन्।
सेक्युरिटी कम्पनी र कन्सल्ट्यान्सी चलाउँदा महिनामा एक डेढ लाख कमाएको उल्लेख गर्दै टिभीमा काम गर्न थालेपछि बैंकमा रहेको ऋण तिर्न नसकेर आफू डिप्रेसनमा पुगेको पनि उल्लेख गरेका छन्।
न्युज २४ टेलिभिजनमा जोसँग रिस उठ्यो उसैविरुद्ध समाचार बनाउने गरेको पनि उनले भिडियोमा दाबी गरेका छन्। आफूले धेरैपटक तलब बढाउन आग्रह गर्दा पनि अन्तिममा १९ हजार ५०० मात्र पुर्याइएको र छोड्छु भन्दा 'छोडिस् भने सिध्याउँछु भनेर युवराजले धम्की दिने गरेको' उनले दाबी गरेका छन्।
न्युज २४ का युवराज र दीपकले 'काम नछोड्' भन्दै अस्ट्रेलिया जाने केटी मिलाइदिन्छु भनेर अस्मिता कार्की नामकी युवतीलाई फेसबुकमा सम्पर्क गराइदिएको उल्लेख गरेका छन्। 'सबै कुरा हुन थाल्यो, नजिकिन थाल्यौँ', उनले भिडियोमा भनेका छन्।
तर, पछिल्लो समय ती युवतीले हेप्न थालेपछि आफूले न्युज २४ छोडेर माउन्टेन टेलिभिजन ज्वाइन गरेको उल्लेख गरेका छन्। त्यसपछि युवराजले आफूलाई 'फँसिस्' भनेको पनि उनले दाबी गरेका छन्। भिडियोमा पुडासैनीले दाबी गरेका छन्- 'युवराज र रवि दाइ मिलेर फसाउने प्लान बनाएका रहेछन्। त्यसैले मैले यो डिसिजन लिएँ।'
आफूले जोडेको करोडौँको सम्पत्तिको संरक्षण गर्न उनले श्रीमतीलाई भनेका छन्। श्रीमती र बाबु आमासँग उनले रुँदै माफी मागेको भिडियोमा देखिन्छ।
'रवि लामिछाने तिमीलाई एक दिन पाप लाग्नेछ। तिमीजस्तो अधर्मी यो देशमा कोही छैन। दुनियाँलाई थर्काएका छौ, लुटेका छौ। तिमीलाई पोल्नेछ त्यो पैसाले', उनले आफ्ना पूर्व सहकर्मीलाई भनेका छन्, 'मलाई १८ हजार दिएर करोडौँ कमाउँथ्यौ। अरुको प्रगति देख्न सक्दैनौँ। रविको असली रूप देखिन केही वर्ष लाग्नेछ।'
प्रस्तोता लामिछानेले बालुवा तस्कर, व्यापारी र उद्योगसँग करोडौँ असुलेको आरोप लगाउँदै उनले भिडियोमा दाबी गरेका छन्- 'अस्मिता कार्की, रवि र युवराज कँडेल मेरो हत्यारा हौ।' भिडियोमा नाम लिएका 'दीपक दाइको...दोष नभएको उनले उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस !