प्रचण्ड र चिनियाँ विदेश विभाग प्रमुख ताओबीच भेटवार्ता
काठमाडौं : चिनियाँ विदेश विभाग प्रमुख सोङ ताओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्।
मंगलबार राजधानीको होटल मेरिओटमा ताओले प्रचण्डसँग भेट गरेका हुन्। भेटमा दुवै देशका कम्युनिस्ट पार्टीका गतिविधिबारे कुराकानी भएको प्रचण्डको निजी सचिवालयले जानकारी दिएको छ।
भेटमा अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीले नेपाल र नेपाली जनतामा गरेको सहयोग र सद्भावले नेपालमा राम्रो प्रभाव परेको बताएका छन्।
उनले दुई कम्युनिस्ट पार्टी बीचको आपसी सम्बन्धलाई नयाँ स्तरमा विकास गर्ने र एकअर्काका अनुभवहरु साटासाट गरेर अगाडि बढ्ने बताए। ‘नेपालको समृद्धिमा चिनियाँ सरकार र कम्युनिस्ट पार्टीको सहयोग आगामी दिनमा अझ बढ्ने मैले विश्वास लिएको छु’, प्रचण्डले भने।
प्रचण्डसँगको भेटमा ताओले दुबै पार्टीका अनुभव साटासाट गर्ने साझा कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका छन्.।। कम्युनिस्ट पार्टीका लागि सिद्धान्त ठूलो कुरा भएको बताउँदै यसलाई अझै मजबुत बनाउनुपर्ने उनको जोड थियो।
‘देशको आर्थिक विकास मुख्य कुरा हो, विकास गरेर नै जनताको मन जित्न सकिन्छ,’ ताओको भनाइ उद्धृत गर्दै सचिवालयले उल्लेख गरेको
छ।
नेकपा स्कुल विभाग र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले दराजधानीमा विचारधारात्मक छलफल कार्यक्रममा गरेको छ। ताओले उक्त छलफललाई सोमबार सम्बोधन गरेका थिए।
प्रतिक्रिया दिनुहोस !