राष्ट्र बैंकलाई पाँच दिनभित्र पुन:प्रतिवेदन बुझाउन अर्थ समितिको निर्देशन
काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकले माग गरिएका विषयहरू स्पष्ट रूपमा समेटेर प्रतिवेदन पेश नगरेको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ। मंगलबार बसेको समितिको बैठकले राष्ट्र बैंकले बुझाएको प्रतिवेदनमा अपेक्षित विवरण समावेश नभएको निष्कर्ष निकाल्दै माग गरिएका सबै विषय स्पष्ट खुलाएर पाँच दिनभित्र पुनः प्रतिवेदन पेश गर्न निर्देशन दिने निर्णय गरेको थियो। समितिले उक्त निर्णय कार्यान्वयन गर्न बुधबार राष्ट्र बैंकलाई परिपत्र गरेको हो।
समितिले असार ५ गतेको बैठकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति कार्यान्वयनको प्रगति,बैंक तथा वित्तीय संस्थाहरूमा बढ्दो तरलता व्यवस्थापनका लागि अवलम्बन गरिएका विशेष नीति तथा कार्यक्रम, तिनको प्रभावकारिता, नेपाल सरकारको स्वामित्वमा रहेका बैंक तथा वित्तीय संस्थाहरूको विगत तीन वर्षको कार्यसम्पादनलगायत विषयमा विषयमा सान्दर्भिक तथ्यसहितको संक्षिप्त प्रतिवेदन उपलब्ध गराउन राष्ट्र बैंकलाई निर्देशन दिएको थियो।
तर,राष्ट्र बैंकले असार १२ गते पेश गरेको प्रतिवेदनमा समितिले माग गरेका विषयहरू स्पष्ट रूपमा समेटिएको नपाइएपछि समितिले असन्तुष्टि जनाएको हो।
समितिको निर्णयअनुसार असार ५ गतेको निर्देशनबमोजिम माग गरिएका सबै विषय स्पष्ट रूपमा खुलाएर पाँच दिनभित्र पुनः प्रतिवेदन पेश गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिइएको हो।
प्रतिक्रिया दिनुहोस !