हलोदेखि हवाइजहाजसम्मको बिमा
नेपाल बैंकले प्रवद्र्धन गरेको नेपाल इन्स्योरेन्स निर्जीवन बिमा व्यवसाय सुरु गर्ने पहिलो कम्पनी हो। सुरुवातमा बैंकको ५१ प्रतिशत सेयर स्वामित्व रहेको भए पनि उक्त सेयर विनिवेश गर्दै अहिले १५ प्रतिशत सेयर राखेको छ। नेपाल इन्स्योरेन्सको व्यवसाय विस्तार, बिमा व्यवसायका चुनौती र अवसरका विषयमा उपप्रमुख कार्यकारी अधिकृत विक्रान्त पाण्डेसँग तुलसी सुवेदीले गरेको कुराकानी :
नेपाल इन्स्योरेन्सका प्रडक्ट के के छन् ?
नेपाल इन्स्योरेन्स निर्जीवन बिमा कम्पनी भएकाले हाल नेपालमा उपलब्ध निर्जीवन बिमा लेखको सुविधा दिइरहेका छौं। दुर्घटना बिमा, स्वास्थ्य बिमा, सामुद्रिक, उद्योग, कलकारखाना, साधारण पसलको बिमा, घरसम्पत्ति, गाडी, घोडादेखि सबै उत्पादन छन्। हलो (कृषि)देखि हवाइजहाजसम्मका उत्पादन नेपाल इन्स्योरेन्ससँग छन्। नेपालका सबै बिमा कम्पनीले निर्जीवन बिमा लेख बेच्छन्। त्यसमध्ये नेपाल इन्स्योरेन्स पनि एक हो।
सबैभन्दा आकर्षक प्रडक्ट कुन हो ?
वास्तवमा नेपाली जनताको अहिलेको आवश्यकता भनेको कृषि, पशु तथा बाली बिमा नै हो। किनभने नेपाल कृषि प्रधान देश हो। दोस्रो स्वास्थ्य बिमा हो। किनभने हामी नेपाली स्वास्थ्यका लागि धेरै बचत गर्छौं। बिमा ग्रहण गर्ने हो भने जोखिम हस्तान्तरण हुन्छ। स्वास्थ्य बिमा लेख नेपालीका लागि असाध्यै आवश्यक छ। सम्पत्ति बिमा लेख उत्तिकै आवश्यक छ। कलकारखाना, उद्योग, पसल सबै क्षेत्रमा बिमा भइरहेको छ।
साना पसल, व्यवसायीदेखि ठुल्ठूला क्षेत्रमा बिमा भइरहेको छ। नेपाल आर्थिक क्षेत्रमा पछाडि परेको छ। शारीरिक, मानसिक कुनैमा पनि हामी कमी छैनौं। संस्कृति, ज्ञान, अनुभव सबै छ तर आर्थिकरूपमा कमी छौं। त्यो पनि केही समयका लागि हो। आर्थिक क्षेत्रमा नेपालले छिट्टै फड्को मार्नेछ। दुर्घटनाका कारणले हुने आर्थिक जोखिम पूर्ती गर्ने निकाय नै बिमा हो। सबै जनतालाई हामी यसरी नै सुसूचित गर्नुपर्छ। बिमा सबैका लागि हो। बिमा आवश्यकता मात्र होइन, अनिवार्य नै हो।
नयाँ कम्पनी आएपछि अस्वस्थ प्रतिस्पर्धा बढेको छ भन्छन् ?
अस्वस्थ प्रतिस्पर्धाभन्दा सकारात्मक प्रतिस्पर्धा आवश्यक हो। सेवा, सुविधा राम्रो दिनुपर्छ। आज दुई पैसा कम भयो भनेर बिमक मख्ख पर्नु जरुरी छैन। बिमा दुःखको साथी हो। बिमा सस्तो लिने होइन, सम्पूर्ण लिने हो। त्यसकारण प्रतिस्पर्धा सम्पूर्णतामा गरौं। सेवामा, सचेतनामा, ग्राहकको विश्वासमा प्रतिस्पर्धा गर्नुपर्छ।
मूल्यमा प्रतिस्पर्धा गर्नु भनेको कम सेवासुविधा पाउनु नै हो। यो प्राकृतिक नियम नै हो। मूल्य सस्तो खोज्नु सेवासुविधामा सम्झौता गर्नु हो। बिमा नियमनकारी व्यवसाय हो। यो राष्ट्रको अंग हो। बिमा सरकारको सहयोगी हो।
बिमा कम्पनीले अभिकर्तालाई राम्रो प्रशिक्षण नगराउँदा धेरै समस्या आएका छन् नि ?
एजेन्ट व्यक्ति विशेष होइन। यो वितरण माध्यम हो। कुनै पनि सेवासुविधा सर्वसाधारणसम्म विस्तार गर्न बलियो माध्यम अभिकर्ता हो। त्यसकारण अभिकर्तालाई गाली, अपमान तथा अविश्वास गर्ने होइन, प्रोत्साहन गर्नुपर्छ। अभिकर्ता संवाहक हो। सचेतनाको संवाहक, आपूर्तिकर्ता सहजकर्ता हो। एकाध गल्ती भएका होलान्, सञ्चाएर जानुपर्छ।
नेपालमा बिमामा स्वरोजगारको सम्भावना प्रशस्त छ। बिमा रोजगारी दिने पेसा हो। उत्प्रेरणाका लागि एजेन्सी कमिसन दिने चलन हुन्छ। अहिले नेपालमा न्यून छ तर बढाउन सकिन्छ। संसारमा पार्ट टाइमजस्तो जब चलेको अवस्थामा बिमामा दुईतीनघण्टा काम गरेर कमाउन सकिने आधार छ।
बजारमा अस्वस्थ अभ्यास बढ्न नदिन बिमा क्षेत्रको नियामक बिमा समितिको भूमिका कत्तिको प्रभावकारी छ ?
बिमा व्यवसाय नै नियमनकारी व्यवसाय हो। यसले सर्वसाधारणसम्म प्रत्यक्ष सम्बन्ध राख्छ। दूर्घटना परेको बेला, दुखित, पीडित भएको बेला पीडा हुनुभएन। त्यस्तो बेला बिमा कम्पनीले राहत दिन सक्नुपर्छ। त्यो राहत सुरक्षित र व्यवस्थित भएको क छि छैन भनेर राज्यले नियमन गर्नुपर्छ। यो सामाजिक व्यवसाय भएकाले अरु व्यवसायभन्दा फरक छ।
नाफामात्रै होइन सेवा पनि हो। नाफामात्रै सोच्ने हो भने बिमाले कम दिने, दिँदै नदिने गर्न सक्छन्, त्यस्तो विषय नियमनकारी नियकाले नियमनका माध्यमबाट पत्ता लगाउनुपर्छ।
नेपाल इन्स्योरेन्सको शाखा सञ्जालले कस्तो व्यवसाय गरिरहेका छन् ?
नेपाल इन्स्योरेन्सका देशभर ५० शाखा छन्। यी शाखाबाट सर्वसाधारणलाई सेवा दिइरहेका छौं। अझै विस्तार गर्दै सबै ठाउँमा पहुँच बढाउने सोच छ। बिमा दाबी भुक्तानीमा कसरी ग्राहकमुखी हुन सकिन्छ भनेर लागेका छौं। कुनै पनि कमजोरी हुन सक्छ। त्यसलाई कसरी समाधान गर्न सकिन्छ भनेर हामी लागेका छौं। जायज दुर्घटनाको बिमाले क्षतिपूर्ति गर्नुपर्छ। यो नै बिमाको सुन्दरता हो।
तस्बिर : उमा विष्ट/ अन्नपूर्ण पोस्ट्
प्रतिक्रिया दिनुहोस !