कोरोना संक्रमणको केन्द्र अब युरोप
एजेन्सी: कोरोना भाइरसबाट इटालीमा मृत्यु हुनेको संख्या १ हजार ४ सय ४१ पुगेको छ । विश्व स्वास्थ्य संगठनकाअनुसार भाइरस संक्रमितको संख्या २१ हजार १ सय ५७ छन् । कोरोनाको संक्रमणबाट चीनपछि सबैभन्दा धेरै मृत्यु इटालीमा भएको हो।
यस्तै इरानमा पनि ६ सय ८ को मृत्यु भएको पुष्टि भएको छ । बेलायतमा पनि बिरामीको संख्या १ हजार १ सय ४४ पुगेको छ । बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या भने २१ पुगेको अधिकारीले जनाएका छन् ।
पछिल्लो पटक मृत्यु भएका दशमध्ये सबै ६० वर्षभन्दा बढी उमेरका रहेको बेलायती स्वास्थ्य तथा सामाजिक हेरचाह विभागले जनाएको छ ।
चीनमा ३ हजार २ सय ४ जनाको मृत्यु भएको छ भने ८१ हजार ४८ मानिसहरु संक्रमित भएका छन् । चीनमा कोरोनाको संक्रमणमा सुधार आएपछि सहर बजारको आवतजावत खुकुलो तथा उद्योग, कलकारखाना खुल्न थालेका छन् ।
कोरोना भाइरसबाट बढी प्रभावित हुने तेस्रो मुलुकमा इरान परेको छ । इरानमा १२ हजार ७ सय २९ जना संक्रमितमध्ये ६ सय ८ को मृत्यु भएको छ ।
त्यस्तै स्पेन पाचौं भाइरस प्रभावित देश हो । स्पेनमा दुई हप्ताका लागि संकटकाल घोषणा गरिएको छ। भाइरस संक्रमण नियन्त्रणका लागि स्पेनले त्यँहाका नागरिकलाई अत्यावश्यक सामग्री, औषधि किन्न वा काममा जाँदाबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाएको छ।थुप्रै मानिस जम्मा हुने ठाउँ संग्राहलय, सांस्कृतिक केन्द्र, खेलकुदस्थल बन्द हुनेछ । रेस्टुराँ र क्याफेले होम डेलिभरी मात्र गर्न पाउनेछन्। बैंक तथा इन्धन स्टेशनहरुरू खुला रहनेछन् भने देशभर विद्यालयहरू बन्द भइसकेका छन् ।
स्पेनमा अहिलेसम्म ५ हजार ७ सय ५३ भाइरस संक्रमित छन् भने १ सय ३६ को कोरोनाभाइरस संक्रमणबाट मृत्यु भइसकेको छ।
स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजी पत्नी बेगोना गोमज पनि कोरोना संक्रमित भएकी छन् । अहिले उनीहरु दुबै मड्रडस्थित प्रधानमन्त्रीको निवासमा बसेका छन् ।
विश्व स्वास्थ्य संगठनले युरोप अहिले कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु बनेको जनाएको छ । विश्वका १ सय ४१ देशमा भाइरस संक्रमण भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनले युरोप अहिले कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु बनेको जनाएको छ ।
विश्व स्वास्थ्य संगठनले जारी गरेको तथ्यांकअनुसार विश्वभर १ लाख ५२ हजार ४ सय २८ भाइरस संक्रमित र ५ हजार ७ सय २० को संक्रमणपछि मृत्यु भएको छ ।
त्यसैगरी दक्षिण कोरियामा ८ हजार ८६ संक्रमित छन् भने ७२ जनाको मृत्यु भएको छ। जापानमा ७ सय ८०, कतारमा ३ सय ३७, सिंगापुरमा २ सय १२, कुवेतमा १ सय ४, साउदी अरेबियामा १ सय ३, युएईमा ८५, भारतमा ८४, मेलेसियामा १ सय ९७ कोरोना भाइरस संक्रमित छन् ।
प्रतिक्रिया दिनुहोस !