हल्लाले सीमावासी हैरान

हल्लाले सीमावासी हैरान

धनगढी : धनगढी उपमहानगरपालिका ३ का लिलाधर भट्टका छोरा भारतको बैंगलोरमा आईटी अध्ययनरत छन्। उनको परीक्षा सकिने बेला भएको छ। भारतले धेरै राज्यमा कोरोना देखा परेकाले परीक्षा भइरहेका बाहेकका विद्यालय बन्द गरिसकेको छ भने परीक्षा भइरहेका कलेजको सकिने वित्तिकै विदा गरिरहेको छ।

परीक्षा सकिएर छोरालाई घर आउन भनेका भट्ट शनिबारदेखि नै अलमलमा परेका छन्। ‘छोराको दुई दिनपछि बिदा हुन्छ, बोर्डर बन्द हुने भन्ने हल्ला चुलिएको छ, के गर्ने होला ? अलमलमा परेको छु’, उनले भने। ‘वनवासा नाका बन्द नहुने भन्ने सुनेको छु, छोरालाई त्यहीँबाट आउन भने।’ कैलालीकै गोदावरी नगरपालिकाकी चित्रा न्यौन्यालले आइतबार फेसबुकमा स्टाटस हालिन् ‘सीमा कहिलेदेखि बन्द हो ? ’ तर उनको स्टाटसमा कसैले आइतबार राति १२ बजेदेखि र कसैले बन्द होइन भनेर कमेन्ट गरे।

‘सामाजिक सञ्जाल र नामै नसुनेका अनलाइनले फैलाएको हल्लाका कारण अलमलमा परे’, उनले भनिन्। सीमा बन्द हुने हल्लाका कारण स्टील व्यापार गर्दै आएका धनगढीका व्यापारी महेश कुँवरले भारतबाट आउने स्टील स्टक राख्न भारतीय पार्टीलाई आइतबार नै अर्डर गरेको बताए। ‘सीमा बन्द हुने हल्लाले, केही महिनाका लागि भए पनि सामान स्टक राखुँ भनेर अर्डर गरेको छु’, उनले भने। सुदूरपश्चिमका तराईका जिल्लासँग सीमाना जोडिएका र तीन सय किलोमिटरको आसपासको दूरीमा रहेका भारतीय सहरहरूमा कोरोनाका बिरामी देखिएपछि सीमा क्षेत्र जोखिममा भने देखिएको छ।

सीमा बन्द हुने हल्लाले भारतीय बजारमा आ िश्रत नेपाली सामान थुपार्न, आफन्तलाई छिटो बोलाउँदै अलमलमा परेका छन्। सीमा बन्दबारे स्थानीय, प्रदेश र संघ सरकारले जनतालाई सूचना दिने कुनै संयन्त्र नबनाएकाले उनीहरू अलमलमा परेका हुन्। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा भन्छन्, ‘नचाहिँदो हल्लाले प्रशासन पनि हैरान भएको छ।’

उनले भारतले अनएराभल भिसा भएकालाई मात्रै नेपालको सीमानाबाट प्रवेशमा रोक लगाएकाले कुनै पनि सीमा नाका बन्द नहुने बताए। ‘गृह मन्त्रालय, भारतीय काउन्टर पार्ट र सीमा क्षेत्रका सुरक्षा अधिकारीसँग नियमित सम्पर्क भइरहेको छ, तर त्यत्तिकै हल्लाले बजार तातेको छ’, उनले भने।

मैत्रीपूर्ण बस बन्द

कैलाली र कञ्चनपुरबाट भारतको विभिन्न सहरमा चल्ने मैत्रीपूर्ण बस सेवा बन्द भएका छन्। कञ्चनपुर प्रशासनले आइतबारदेखि नै मैत्रीपूर्ण बस सेवा बन्द गराएको हो। कञ्चनपुरबाट एक दिन भारतका र एक दिन नेपाली गरी दैनिक ७ वटा बस भारतको राजधानी नयाँ दिल्ली र उत्तराखण्डको राजधानी देहरादुनका लागि छुट्ने गरेका छन्।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज पाण्डेले सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा बसेको बैठकमा मैत्रीपूर्ण बसबाट पनि कोरोना सर्न सक्ने देखिएकाले बन्द गरिएको बताए। कैलालीबाट पनि भारतको राजधानीका लागि दैनिक तीन बस छुट्ने गरेका छन्। धनगढीबाट छुट्ने बस सोमबारदेखि बन्द गरिने भएका छन्।

अस्थायी नाका पूरै बन्द

कैलाली र कञ्चनपुरका भारतसँग सीमाना जोडिएका अस्थायी सबै नाका अनिश्चितकालका लागि बन्द गरिएका छन्। प्रजिअ बोहराले कैलालीमा टीकापुर क्षेत्रमा रहेको खक्रौला र धनगढीसँग जोडिएको गौरीफन्टा नाका बाहेकका सबै अस्थायी नाका बन्द गरिएको बताए।

‘शनिबार अस्थायी नाकाको पनि अनुगमन गरियो, सबै ठाउँमा सशस्त्र र नेपाल प्रहरीलाई अस्थायी नाकाबाट आवागमन नगर्न र नगराउन निर्देशन दिइएको छ’, बोहराले भने। कञ्चनपुरको पनि गड्डाचौकी बाहेकका सबै अस्थायी नाका बन्द गरिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.