कोरोना भाइरस : के छ नेपालको अवस्था ?

कोरोना भाइरस : के छ नेपालको अवस्था ?

काठमाडौं : युनाइटेड अरब इमिरेट्स (यूएई)बाट स्वदेश फर्किएका एक नेपाली युवामा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । धादिङका यी युवा गत चैत ६ गते एयर अरबियाको फ्लाइट नम्बर जी–९५३७ बाट सारजाहबाट स्वदेश फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले दुई दिनअघि मंगलबार मात्रै कतार हुँदै स्वदेश आएकी एक किशोरीमा कोरोना संक्रमण पुष्टि गरेको थियो। संक्रमित दुवै जनाको उपचार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा भइरहेको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बुधबार अपराह्न पत्रकार सम्मेलनमा थप एक युवामा कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । ३२ वर्षीय ती युवा काठमाडौं आई होटलमा बसेको मन्त्री ढकालले सुनाए । हालसम्म तीन जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । व्यक्तिगत गोपनीयताको ख्याल गर्नुपर्ने जनाउँदै मन्त्रालयले तीनै जनाको नाम र ठेगाना मन्त्रालयले सार्वजनिक गरेको छैन ।

यसअघि फ्रान्सबाट कतारको दोहा हुँदै स्वदेश फर्केकी १९ वर्षीया किशोरीमा पनि कोरोना देखिएको थियो । १० चैतमा भाइरस संक्रमण भएको पुष्टि भएपछि उनी पनि शुक्रराज अस्पतालको आइसोेलेसन शय्यामा उपचाररत छिन् । दुई महिनाअघि पहिलो पटक चीनबाट अध्ययन गरी फर्केका युवामा कोरोना पोजिटिभ देखिएको थियो । उपचारपछि निको भएर घर फर्किसकेको शुक्रराज अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बाँस्तोलाले बताए ।

स्वदेश फर्केलगत्तै असहज महसुस गरेका ती युवा मंगलबार शुक्रराज अस्पताल टेकुमा भर्ना भएका थिए ।

६ दिनपछि संक्रमणको जानकारी

कोरोना संक्रमित व्यक्ति काठमाडौंमा बसेको ६ दिनपछि मात्र जानकारी सरकारले सार्वजनिक गरेको छ ।

यसअघि कतार एयरवेजबाट काठमाडौं आएकी नेपाली विद्यार्थीको पनि ६ दिनपछि संक्रमण भएको मन्त्रालयले पुष्टि गरेको थियो । तेस्रो संक्रमितका रुपमा रहेका युवामा पनि काठमाडौंमा बसेको ६ दिनपछि बुधबार मन्त्रालयले पुष्टि गर्दै सार्वजनिक गरेको हो ।

मन्त्री ढकालले अपराह्न नियमित पत्रकार सम्मेलन गरी जानकारी दिनुअघि सञ्चारमाध्यमले संक्रमणको अवस्थाबारे सार्वजनिक गरेका थिए । चीनबाट स्वदेश फर्केका पहिलो संक्रमित युवा आफैं शुक्रराज अस्पताल पुगेर जाँच गराएपछि संक्रमण भएको पत्ता लागेको थियो ।

सम्पर्कमा रहेकाको खोजतलास

बाहिरी मुलुकबाट स्वदेश फर्केका व्यक्तिमा कोरोना संक्रमण देखिनुलाई पहिलो चरणका रूपमा लिइन्छ ।

यस चरणमा संक्रमितलाई तत्कालै आइसोलेसनमा राखेर उपचार गर्न सकेको अवस्थामा संक्रमण फैलने सम्भावना न्यून हुन्छ । अहिले आइसोलेसनमा उपचाररत दुई जनाले ६ दिनको अवधिमा कति जनालाई संक्रमण गराए भन्ने यकिन भएको छैन ।

मन्त्री ढकालका अनुसार संक्रणको सम्भावित व्यक्तिबारे खोजतलास कार्य अघि बढाइएको छ ।

संक्रमित किशोरी घरमै रहेका कारण उनका परिवारका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । उनी स्वदेश फर्कने क्रममा यात्रा गरेको कतार एयरवेजमा नेपाल आएका सबै यात्रुको विवरण लिई क्वारेन्टाइनमा राख्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।

तेस्रो व्यक्ति होटेलमा बसेका कारण अन्यलाई पनि संक्रमण गराएको हुन सक्ने चिकित्सकको अनुमान छ । मन्त्री ढकालले भने, ‘उहाँ (संक्रमण देखिएका व्यक्ति) बसेको होटेल र सम्पर्क भएका सम्भावित व्यक्तिको बारेमा खोजतलास गर्ने, क्वारेन्टाइनमा राख्ने र स्वास्थ्य परीक्षण गराउने खालको काममा पनि विधिपूर्वक नै जुटिरहेका छौं ।’

महामारी युद्ध

सरकारले कोरोना संक्रमितको संख्या बढ्न थालेपछि महामारीको युद्ध सुरु भएको जनाएको छ । महामारीको युद्धमा उभिएको चर्चा गर्दै मन्त्री ढकालले भने, ‘यो युद्धमा चेन अफ कमान्ड होस् । सर्वत्र प्रवक्ताहरु नभई दिऊन् भन्ने उद्देश्यले मन्त्रालयमा विगतमा अभ्यस विभिन्न समितिलाई पुनर्गठन गरिएको छ । मन्त्रीको नेतृत्वमा रहेको समितिले अनुगमन गर्नेछ ।’

सचिवको नेतृत्वमा रहेको कार्यनिर्देश गर्ने समितिलाई व्यवस्थित गरिएको छ । समितिले सरकारी, सामुदायिक र निजी क्षेत्रका अस्पताललाई अभियानमा समेट्नका लागि नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्की, नेपाल नर्सिङ संघका अध्यक्ष मन राई, स्वास्थ्य मन्त्रालयको तर्फबाट डा. गुणराज लोहनी र निजी मेडिकल कलेजको तर्फबाट बसरुद्दिन अन्सारी, निजी अस्पतालका अध्यक्ष बसन्त चौधरी रहेको समितिलाई कायम राखिएको छ । अन्य कमिटीलाई भंग गरिएको छ ।

हवाईजहाजबाट नमुना ल्याउने

सरकारले कोरोना भाइरसको संक्रमण जोखिम बढेको उल्लेख गर्दै एक साताका लागि लकडाउन गरेपछि आशंकित संक्रमितको नमुना परीक्षण गर्न असहज भएको छ ।मन्त्री ढकालका अनुसार लकडाउन पछि मुलुकका विभिन्न ठाउँबाट नमुना परीक्षण गर्न काठमाडौं ल्याउनुपर्ने अहिलेको बाध्यकारी परिस्थिति छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वमा गठित उच्चस्तरीय समितिले पूर्वमा विराटनगर र पश्चिममा नेपालगन्जमा संकलित नमुना परीक्षणका सामग्रीलाई दैनिक बेलुका हवाइजहाजबाट काठमाडौं ल्याउने व्यवस्था मिलाइएको मन्त्री ढकालले जानकारी दिए ।

तीन–चार घण्टासम्मको दूरीमा एम्बुलेन्सको माध्यमबाटै ल्याउने व्यवस्था मिलाइएको छ । बुधबार किटजन्य पदार्थलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्रयोगशाला परीक्षण गरिनेछ । ल्याबलाई क्रमशः सातै प्रदेशमा ल्याबको विस्तार गरिने योजना रहेको मन्त्री ढकालले बताए ।

उनले विगतमा नेपालमा गरिने बन्द हडतालजस्तो मानेर निश्चित समयपछि फुकुवा हुन्छ भन्ने नठान्न आग्रह गरे । बन्द हडतालको बेला साँझ ५ बजेपछि सवारी साधन फुकुवा हुने गरेको सन्दर्भ उल्लेख गर्दै लकडाउनमा फुकुवा नहुने बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.