कांग्रेस नेता खतिवडाको व्यङ्य : नेकपाको सर्वोच्च नेता चीनियाँ राजदूत र राष्ट्रपति हुन् जस्तो लाग्यो
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा यतिबेला आन्तरिक किचलो उत्कर्षमा पुगेको छ । नेकपा विवाद चलिरहेको समयमा राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता पुनः बढाएका छन्।
उनीहरु सँगको भेटघाटलाई लक्षित गर्दै कांग्रेसका नेता रामहरि खतिवडाले दुई माता जता लाग्यो उतै बहुमत हुने टिप्पणी गरेका छन्। उनले नेकपा सचिवालय सदस्यमा दुई महिला थपिएको भन्दै व्यङ्ग्यसमेत गरेका छन्।
खतिवडाले नेकपाको सर्वोच्च नेता चीनको राजदूत र दोस्रो नेता राष्ट्रपति हुन कि जस्तो आभाष भएको धारणा राखेका छन्। 'नेकपा भन्ने पार्टीको सर्वोच्च नेता यी चीनको राजदूत हुन जस्तो लाग्न थाल्यो। दोस्रो नेता राष्ट्रपति ।' खतिवडाले ट्वीट गर्दै भनेका छन्, 'अरु नेता कार्यकर्ता यीनैका आदेशमा चल्ने हुन जस्तो अहिलेको भेटघाटबाट बुझिदै छ।' उनले भारतीय "र" प्रमुखले राती भेटेको समाचारपछि चीनको राजदूत पनि प्रधानमन्त्रीलाई भेट्न् रातिनै जानुपर्ने ? भन्दै प्रश्न उठाएका छन्।
'नेकपा सचिवालय सदस्यमा दुई महिला थपिएको समाचार छ। ' उनले ट्वीटमा लेखेका छन्,'दुर्गा माता र लक्ष्मी माता ती "दुई माता" जता लाग्यो उतै बहुमत हुने।' 
कात्तिक २८ गतेको सचिवालय बैठकमा दाहालले ओलीमाथि दर्जनौं आरोप लगाउँदै १९ पृष्ठको प्रस्ताव पेस गरेपछि शीर्ष नेताहरूकै बीच आरोप–प्रत्यारोप चरम बिन्दुमा पुगेको छ। ओली पक्षका नेताहरू दाहालको प्रस्ताव फिर्ता लिनुपर्ने अडानमा छन्।
ओलीले दाहालले सचिवालय बैठकमा राखेको प्रस्ताव दस्तावेज नभई आफूविरुद्ध नियोजित रूपमा गरिएको प्रहार भएकाले त्यसलाई आफूले जवाफ दिएर नजाने बताउँदै आएका छन्।
दाहालले आफ्नो प्रस्ताव फिर्ता नहुने र बैठक पनि नरोकिने बताएका छन्। सबै विषयमा सचिवालय बैठकभित्रै छलफल गरेर निचोडमा पुग्न सकिने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !