नेतृ रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न प्रचण्ड-नेपाल समूहको माग
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले नेतृ रामकुमारी झाक्री पक्राउ परेकोप्रति चर्को विरोध जनाएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति सार्वजनिक गर्दै झाँक्री पक्राउ परेकोप्रति आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेका छन् ।
प्रवक्ता श्रेष्ठले सार्वजनिक गरेको विज्ञप्तिमा झाँक्रीको गिरफ्तारिले आश्चर्यचकित पारेकोर यो शैलीले अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाएको भन्दै आपत्ति जनाएका छन् । । विज्ञप्तिमा झाँक्री पक्राउ परेपछि सरकारको अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्र उदांगो भएको उल्लेख गरिएको छ ।
‘हाम्रो पार्टीका केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य कमरेड रामकुमारी झाँक्रीलाई आज गरिएको गिरफ्तारीबाट हाम्रो पार्टी आश्चर्यचकित भएको छ’, प्रवक्ता श्रेष्ठले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानले प्रत्याभूत गरेको भिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारिले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको छ ।’
राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम र पूर्वाग्रह भएको प्रवक्ता श्रेष्ठले बताएका छन् । उनले यो कदमलाई सरकारको स्वेच्छाचारिताको संज्ञासमेत दिएका छन् । झाँक्री पक्राउ परेकोप्रति आपत्ति जनाउँदै प्रवक्ता श्रेष्ठले विज्ञप्तिमा निःशर्त र अविलम्ब रिहा गर्न जोडदार माग गरेका छन् । 
‘लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन सक्दैनन् भन्ने तथ्य स्पष्ट हुँदाहुँदै पनि राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक केही होइन’, विज्ञप्तिमा थप भनिएको छ, ‘हाम्रो पार्टी सरकारको यस हर्कतको घोर निन्दा तथा भत्सना गर्दै केन्द्रीय कमिटी सदस्य कमरेड रामकुमारी झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न जोडदार माग गर्दछ ।’

केही दिनअघि गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले र एकल महिलाप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो। बिहीबार बिहान महानगरीय अपराध महाशाखाको टोली झाँक्रीको निवासमा पुगेको थियो।
प्रहरीले नियन्त्रणमा लिनु अगाडि झाँक्रीले प्रतिगमनको विरुद्ध र लोकतन्त्रका लागि लडिरहँदा अभिव्यक्त गरेको आधारमा पक्राउ पूर्जी जारी गरेको जानकारी दिएकी छन्। उनले कानुनको पालना गर्दै आफूले गिरफ्तारी दिएको बताइन्। उनले राज्यको कानुन पालना गर्न आएका प्रहरीमाथि कुनै अमर्यादित व्यवहार भएको भए क्षमा दिन आग्रह गरिन्। उनलाई राज्यविरुद्धका कसुर अन्तर्गत दफा ५८ कसुरमा पक्राउ गरेको हो।
झाँक्रीलाई पक्राउ गर्न प्रहरी निवासमा पुग्दा उनका समर्थकले प्रतिगमन मुर्दावाद, प्रहरी हस्तक्षेप बन्द गरलगायतका नारा लगाएका थिए ।
गोरखाको कार्यक्रममा झाँक्रीले के भनेकी थिइन् ?
झाँक्रीले गोरखाको कार्यक्रममा राष्ट्रपति बडामहारानी भएको अभिव्यक्रि दिएकी थिइन् । ‘राष्ट्रपतिका कुरा त के गर्नु ? म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु, निर्वाचनको तयारीका लागि सुखसुविधा ऐश–आराम छाडेर शीतलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुस्, चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गएपनि हुन्छ’, उनले भनेकी थिइन्, ‘नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो ? त्यसको तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि भारी हुन्छु।’
बुधबारको अभिव्यक्ति
बुधबार राजधानीमा आयोजित विरोध सभामा पनि राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाउँदा आलोचना भएको भन्दै झाँक्रीले आक्रोश व्यक्त गरेकी थिइन्। उनले आफूले राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्ध नबोलेर र व्यक्तिको प्रवृत्तिविरुद्ध आवाज उठाएको जिकिर गरेकी थिइन्। ‘कार्यकारी प्रधानमन्त्रीको एउटा कोठाको एसिस्टेन्सजस्तै प्रधानमन्त्री या मन्त्रिपरिषदका निर्णयहरुलाई खुसुस्क सही छाप गर्ने राष्ट्रपतिका विरुद्ध आवाज उठाएको हो,’ उनले भनेकी थिइन, ‘यो राष्ट्रपति सम्मानीय संस्था हो। यो हाम्रो बलिदानीले प्राप्त गरेको संस्था हो। हाम्रो शीरमाथिको संस्था हो।’
उनले राष्ट्रपति संस्थाविरुद्ध नभएर व्यक्तिविरुद्ध बोल्न पाइने बताएकी थिइन् । ‘त्यो संस्थामा कुनै व्यक्तिले निर्वाचनको प्रक्रियाबाट गएर निरुंकुशको सांक्षी बस्छ भने त्यस्ता व्यक्तिको विरुद्धमा बोल्न पाइन्छ’, उनले बुधबार थप भनेकी थिइन्, ‘एउटा खलपात्रकाविरुद्ध बोल्दै गर्दै कसले भन्छ महिला अस्मिता मिचियो भनेर ? बोल्न पाइन्छ ।’
प्रतिक्रिया दिनुहोस !