प्रधानमन्त्री ओली र नेता नेपालबीच बूढानीलकण्ठमा भेटवार्ता
काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ। बिहीबार अध्यक्ष ओलीले नेपाललाई फोन गरेर भेटको निम्ता दिएका थिए । नेता नेपालले बालुवाटारमा नआउने बताएपछि दुई नेताबीच बूढानीलकण्ठमा भेट भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बूढानीलकण्ठमा भेटवार्ता शुरू भएको छ ।'
बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनको कारवाही फिर्ता लिने निर्णय गरेको छ।
वरिष्ठ नेता नेपालले २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउनु पर्ने अडान राख्दै आएका छन्। आफूहरूको अडानमा ओली सहमत नभएमा नेपाल पक्षीय सांसदले आजै राजीनामा दिने बताएका छन्।
संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय बिहीबार बेलुका ९ बजे सकिदैछ। तर राजनीतिक दलहरुबीच नयाँ सत्ता गठबन्धन बन्न सकिरहेको छैन।
अध्यक्ष ओलीले पार्टीका शीर्ष नेतामार्फत नेपालसँग छलफल गरिरहेका छन्। यसैबीच उपमहासचिव विष्णु पौडेल छलफलका लागि माधव नेपाल निवास कोटेश्वर पुगेका छन्। पौडेलले माधव समूहको राजीनामा रोक्न प्रयास गरिरहेका हुन्। एमाले वरिष्ठ नेता नेपाल, नेता भीम रावललगायत नेता प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिएकै दिन राजीनामा दिनुपर्ने पक्षमा थिए। उनीहरूले राजीनामाको तयारी नै गरेका थिए। तर, दोस्रो तहका नेता सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतले असहमति जनाएपछि बैठकमा अनुपस्थित भएको जनाइएको थियो।
स्थायी कमिटी बैठकपछि ओलीले नेपालबीच वार्ता भएको हो । यसलाई महत्वका साथ हेरिएको छ । यो भेटले एमालेको भविष्य निर्धारण गर्ने बताइएको छ ।
हालको संसदको विद्यमान अवस्थामा विपक्षी गठबन्धनलाई बहुमत पुर्याउन कम्तीमा पनि थप १२ सांसदको आवश्यकता पर्छ। कांग्रेससँग ६१ र माओवादी केन्द्रसँग ४८ सांसद छन्। जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षमा १५ वा १६ जना छन्। यसरी हेर्दा विपक्षी गठबन्धनसँग १२५ को हाराहारीमा मात्रै सांसद हुन्छन्। बहुमतका लागि १ सय ३६ आवश्यकता पर्छ।
एमालेको नेपाल पक्षका प्रत्यक्षतर्फका १९ जनाले राजीनामा दिँदा प्रतिनिधिसभामा सांसद संख्या २ सय ५२ हुन्छ। बहुमतका लागि १ सय २७ आवश्यक हुन्छ। नेपाल पक्षका १९ जनाले राजीनामा दिँदा पनि बहुमत जुटाउन सकस नै छ। नेपाल समूहले ओलीलाई सघाए उनी पुन प्रधानमन्त्री बन्ने बाटो खुल्ने छ ।
प्रतिक्रिया दिनुहोस !