राष्ट्रिय महाधिवेशन गर्न एमालेले किन रोज्यो चितवन ?
काठमाडौं : नेकपा एमालेले राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने भएको छ। स्थायी समितिको बिहीबार बसेको बैठकले चितवनमा गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
बैठकले स्थायी समिति सदस्य रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ। व्यवस्थापन समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, काशीनाथ अधिकारी, डा. राजन भट्टराई, आनन्द पोखरेल, विनोद श्रेष्ठ, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावललगायतका छन्।
प्रवक्ता ज्ञवालीका अनुसार सातवटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट एक–एक जना रहने गरी मूल व्यवस्थापन समिति गठन भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको गृह जिल्लामा एमाले महाधिवेशन गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। व्यवस्थापन समितिका संयोजक बादलको कार्यक्षेत्र पनि चितवन नै हो। दाहाललाई मनोवैज्ञानिक रूपमा ‘निसाना’ बनाउने उद्देश्यले चितवनमा महाधिवेशन र बादललाई संयोजक बनाइएको स्पष्ट छ।
असोज १५–१७ गतेसम्म भएको पहिलो विधान महाधिवेशनले पार्टीको १०औं महाधिवेशन बुटवलमा गर्ने निर्णय गरेको थियो। बिहीबारको स्थायी समिति बैठकले चितवनमा गर्ने निर्णय गरेको छ। मंसिर १०–१२ गतेसम्म एमालेको राष्ट्रिय महाधिवेशन हुने भएको छ। कात्तिक ६ मा वडा र कात्तिक ९ मा पालिका अधिवेशनको मिति तय भएको छ। पार्टी प्रवक्ता ज्ञवालीले तोकिएकै मितिमा वडा र पालिका अधिवेशन हुने बताए।
उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलगायतका केही नेताले भने तयारी नभएका कारण वडा र पालिका अधिवेशन सार्न प्रस्ताव गरेका थिए।
प्रतिक्रिया दिनुहोस !