सिंहजस्तै सिंहदरबार

सिंहजस्तै सिंहदरबार

काठमाडौंको मध्यभागमा ठडिएको छ सिंहदरबार। १९९४ सालमा राणा प्रधानमन्त्री चन्द्रशमशेरले प्रधानमन्त्री र मन्त्री बस्न बनाएका हुन्। राणाशासन यसै विशाल भवन भित्रबाट चल्यो। शाहीकालमा यो क्रम निरन्तर रह्यो। तर, अहिले गणतन्त्र आएपछि पनि नेपाल सरकार यसकै चौघेराभित्र खुम्चिएको छ। जनताबाट निर्वाचित जनप्रतिनिधिले मुलुक हाँक्ने समय आयो। तर, अहिले पनि सबै गेटमा कडाइ गर्दै भित्र लुकेर राज्य सञ्चालन हुन्छ। जुनै व्यवस्था आए पनि सिंहदरबार नागरिकका लागि खुल्ला बन्न सकेन। अझै पनि काठमाडौंको मध्यभागमा सिंहदरबार सिंहजस्तै ठडिएको महसुस नागरिकले गरेका छन्।

यहाँभित्र कुनै काम परे सर्वसाधारणले गेट छिर्न पुर्‍याउनु पर्ने प्रक्रिया सहज छैन। जो कोही नागरिकको पहुँच पुग्दैन। तिनै नागरिकले जिताएका नेता राज्य सञ्चालन गर्ने ठाउँमा पुग्छन्। चिल्ला गाडीमा हुइँकिएर सिंहदरबार पस्ने उनीहरू काम परेर गेटमा पुगेकाहरूको दुःख बुझ्दैनन्। वर्षाैंदेखि नागरिकको लागि सिंह बनेको सिंहदरबार भित्र सहज पहुँच बनाउन उनीहरू नै डराउँछन्। बरु गेटमा फलामे काँडा थपिन्छ। फलामको गेट मर्मत गरिन्न। तर, किन नागरिक सिंहदरबारको गेट ढकढक्याउन पुग्छन् ? के समस्या लिएर आउँछन् ? ती समस्या खोज्न र समाधान गर्न राज्य संयन्त्र लाग्दैन। सिंहदरबार प्रवेशलाई अझै कडा बनाइन्छ। मन्त्रालयमा काम परेर टाढाबाट आएका नागरिकले पीडा पोखे पनि गेटबाट छिर्न नपाएको कयौं घटना दैनिक यहाँ भेटिन्छन्।

नागरिकको चाहना र मर्म नबुझ्ने धेरै व्यवस्था जनताले परिवर्तन गरे। राज्य व्यवस्था परिवर्तनकै लागि विभिन्न समयमा आन्दोलन भयो। राणाशासन हुँदा प्रजातन्त्र आए ठीक होला भनेर नागरिकले संघर्ष गरे। प्रजातन्त्रपछि पञ्चायतविरुद्ध संघर्ष भयो। पञ्चायतकालमा बहुदलका लागि संघर्ष र बहुदलपछि गणतन्त्रका लागि नेपालीले संघर्ष गरे। संघर्षबाट गणतन्त्र पाए। यसपछि शासन व्यवस्था, नेताको व्यवहार र कर्मचारीको कार्यशैली पनि परिवर्तन हुने आस नागरिकले गरेका थिए। तर, व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन। एउटा सिंहजस्तो सिंहदरबार फैलिएर गाउँगाउँमा सम्म पुग्यो। सहज ठानेका नागरिकलाई झनै हैरानी थपियो। ‘अब त गुनासो सुनाउन सिंहदरबारभित्र पस्न पनि सकिँदैन, दुःख कता पोख्ने ?’ नागरिकका गुनासो सिंहदरबार अघि नै पोखिएको छ। 

नेपाल सरकारको सचिवालय रहेको यस क्षेत्रमा सबै मन्त्रालय छन्। मन्त्रालयगत काम लिएर दैनिक सयौं नागरिक यहाँ पुग्छन्। पहुँच भएका पास बनाउँछन्, सरासर पस्छन्। कसैलाई सांसद् र मन्त्रीले लिएर छिर्छन्। कोही सुरक्षाकर्मीलाई फकाएर पनि पसेको भेटिन्छ। तर जसको कोही छैन, त्यसको लागि सिंहदरबार पनि आफ्नो बन्दैन। गेटमा सुरक्षाकर्मीको हप्किदप्की सहेर फर्कनु पर्ने बाध्यता ती निमुखा नागरिकको छ। यहाँ पुग्न नागरिक मुलुकमा गणतन्त्र नआएको महसुस गर्छन्। कसैले नसुनेको पीडा सरकारले त सुन्ला नि भन्ने सोचेका जनता सरकार पनि आफ्नो नभएको पीडा सुनाउँछन्। मुलुकमा सुशासन कायम हुनुपर्छ। सरकारले सिंहदरबारभित्र लुकेर र लुकाएर बनाउने योजना के हुन्छ ? गणतन्त्रमा नागरिकमैत्री सरकार हुनुपर्छ। मन्त्रालय सर्वजनिक सम्पत्ति र स्थान हुन्। त्यसको नेतृत्व गर्ने व्यक्ति नागरिकबाटै निर्वाचित भएका हुन्छन्। सबै कुरा नेपाली नागरिकको लागि पहुँच योग्य हुनुपर्छ। यहाँ कोही पनि कामबिना पुग्ने कुरो हुँदैन। सुरक्षा संवेदनशीलताको कुरा पनि हुन सक्छ। यस्तो अवस्थामा कामको प्रकृति हेरेर नागरिकलाई सहज पहुँच दिनुपर्छ। सिंहदरबार गेटमा पुग्ने नागरिकलाई मुलुकभित्रै अनागरिक व्यवहार नहोस्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.