रक्तदान महादान, अभाव हुन नदिऔं
ब्लड बैंकका जननी चाल्र्स रिचार्ड ड्य्रुले भनेका थिए, ‘म रगत हुँ, रगत म हो।’ अर्थात्, जीवनको सार्थकता नै रगतमा छ। जीवन तबसम्म रहन्छ, जबसम्म रक्तसञ्चार भइरहन्छ। त्यसैले जीवन–मरणका चरणमा अपरिहार्य मानिन्छ रगत। संसारभरि यसको व्यापार हुन्न। भनिन्छ, ‘रक्तदान जीवनदान।’ र, मृत्युको मुखबाट धेरैलाई फर्काउने मनकारी रक्तदाता विश्वभरि धेरै छन्। तैपनि महामारी, ठूला विपत्ति र एकैचोटि धेरै बिरामी हुने परिस्थितिमा यसको जगेडा असन्तुलित हुन पुग्छ। देशमा अहिले त्यस्तैखाले समस्या देखा परेको छ। कोभिडका बिरामी बढ्ने क्रमसँगै रगत अभाव सिर्जना हुँदै गएको छ। संकटका घडीमा धेरै वस्तु अभाव भएझैं ब्लड बैंकमा रगत पनि नपाइएको वा अपुग भएको खबर सुनिन थालेका छन्। रगतको अभाव हुँदा दुर्घटनाका घाइते, रक्तस्राव भएका व्यक्ति, प्रसूति, मुटु, क्यान्सर तथा मिर्गौलाका बिरामीलाई गाह्रो पर्छ। थालसेमिया, हेमोफिलियामा समस्या पर्छ, आकस्मिक शल्यक्रिया प्रभावित हुन्छ। यी स्वास्थ्य समस्या भएका व्यक्तिले समयमै रगत नपाए ज्यानै जोखिममा पर्ने खतरा हुन्छ। कोभिडकै बिरामी गम्भीर अवस्थामा पुगे रगत चाहिन्छ।
रगत अभावको पूर्ति गर्ने आधुनिक चिकित्सा प्रणालीमा अर्को विकल्प अहिलेसम्म पत्ता लागेको छैन। रगत चाहिएमा रक्त समूह मिल्ने अर्को व्यक्तिको शरीरबाट निकालेर दिनुपर्छ। रगत दान नगर्दैमा शरीरमा धेरै रगत हुँदैन, न त दान गरेर यो सकिन्छ। एक पटकमा ३५० मिलिलिटर रगत दान गर्न पाइन्छ। त्यो रगत ३–४ सातासम्म सुरक्षित राख्न सकिन्छ। आवश्यक परेको व्यक्तिले लैजान्छन्। रक्तदाताको शरीरलाई कुनै हानि हुँदैन। रक्तदानको २४ घण्टाभित्र शरीरको तरल भागले दान गरेको रगतको परिपूर्ति गरिसक्छ। कम्तीमा १८ देखि ६० वर्षसम्मका ४५ किलोग्राम तौल भएका, कुनै दीर्घरोग नभएका र स्वस्थ सबै व्यक्तिले रगत दान गर्न सक्छन्। एक पटक रगत दिएपछि अर्को तीन महिनामा पुनः दिन सकिन्छ। शरीरमा पुरानो रगत क्षय हुने र नयाँ बन्ने प्रक्रिया निरन्तर चलिरहन्छ। हामीले बुझ्नुपर्ने कुरा यही हो, त्यत्तिकै नष्ट हुने रगत नै दान गर्ने हो। रगतदानबाट कसैको ज्यान जोगिन्छ वा उसले नयाँ जीवन पाउँछ भने किन नदिने ? अहिले पनि समाजमा रगत दिँदा कमजोर भइन्छ भन्ने भ्रम छ। युवा, त्यसमा पनि शिक्षित वर्ग त्यस्तो भ्रम पालेर बसेका छन्। जीवनभर रगत नदिने जमात ठूलो छ। देशका केही जिल्लामा युवा, विद्यार्थी, सहकारी, मिडियालगायतले हरेक तीन तीन महिनामा रक्तदानको शृंखला नै सुरु गरिरहेका छन्। यो अभ्यास देशैभरि गर्न सकिन्छ। यस्तो अभियान सञ्चालन गर्न न कुनै बजेटको आवश्यकता पर्छ, न धेरै जनशक्तिको नै।
रक्तदानबाट व्यक्तिलाई दोहोरो फाइदा हुन्छ। पहिलो फाइदा रक्तदान गर्नेलाई हुन्छ। शरीरमा नष्ट भएर जाने रगत दान गर्दा शरीर स्फूर्त हुन्छ। रक्तदान नगर्नेको तुलनामा रक्तदान गर्ने व्यक्ति शारीरिक रूपले पनि स्वस्थ रहने अध्ययनले देखाएका छन्। दोस्रो फाइदा आवश्यक परेको व्यक्तिलाई हुन्छ। रगतदानबाट रोगीले नयाँ जीवन पाउँछ। रक्तदान नै संसारको सबैभन्दा ठूलो धर्म र सेवा हो। त्यसैले रक्तदानलाई महादान भनिन्छ। रगतको अभाव हुन नदिन समाजसेवाको पवित्र उद्देश्य भएका व्यक्ति र सामाजिक संघसंस्थाले रेडक्रससँग सहकार्य गरेर हरेक तीन तीन महिनामा रगत दिने बानीको विकास गर्नुपर्छ। यसो हुन सकेमा हरेक संकटको घडीमा रगतको अभाव झेल्नुपर्ने अवस्था आउँदैन। रगत अभावको बेलामा रक्तदान गर्ने होइन कि, नियमित रूपमा रक्तदानको बानी बसाउन सकेमा कहिल्यैै रक्तदानको अभाव हुँदैन। अहिलेको परिस्थितिमा हरेक नागरिकले सोच्ने विषय हो यो। हामीले अरूलाई दियौं भने मात्र आफूलाई चाहिँदा अरूबाट पाउन सकिन्छ। अभाव हटाउने उपाय यही हो।
प्रतिक्रिया दिनुहोस !