प्रम देउवालाई टेलिफोन गरेर अमेरिकी मन्त्रीले सोधे- एमसीसी टेबुल गर्न किन विलम्ब?
काठमाडौं: एमसीसीबारे भइरहेको वादविवादलाई अमेरिकाले नजिकबाट नियालिरहेको छ। त्यही भएर होला पछिल्लो समय अमेरिकी अधिकारीहरु नेपालका सरोकारवाला निकायहरुसँग निरन्तर सम्पर्कमा रहेका छन्। यतिसम्म कि नेपालका सञ्चारकर्मीसँगसमेत एमसीसी मुख्यालयले साक्षत्कार गरिरहेको छ।
यसै सन्दर्भमा अमेरिकाको सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन वार्ता गरेका छन्। प्रधानमन्त्री देउवा र सहायक विदेशमन्त्री लुबीच आज टेलिफोन वार्ता भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार एमसीसीबारे भइरहरेको ढिलाइबारे लुले प्रधानमन्त्री देउवासँग जानकारी लिएका थिए। 'उहाँ(लु)ले प्रधानमन्त्रीसँग एमसीसी टेबुल गर्न किन विलम्ब भएको बारे जानकारी लिनु भएको थियो। एमसीसी नेपाली जनताकै हितका लागि भएको र यसबाट बढी लाभान्वित पनि नेपाली जनता नै हुने उहाँले दोहोर्याउनुभएको थियो,' स्रोतले अन्नपूर्णसँग भने। जवाफमा प्रधानमन्त्री देउवाले राजनीतिक दलहरुसँग छिट्टै सहमति गरेर संसदमा टेबुल गर्ने बताएका थिए।
यसअघि एमसीसीका उपाध्यक्ष फातिमा सुमारले नेपाली सञ्चारकर्मीहरुसँग साक्षत्कार गर्दै यो अन्तिम मौका रहेको बताएकी थिइन्। उनले नेपाली नेताहरुले नै फेब्रअरी २८ को समयसीमा मागेकाले त्यसको सम्मान हुने अपेक्षा गरेकी थिइन्। उनले उक्त समयसीमामा पनि एमसीसी पास नभए उक्त परियोजना अन्य आवश्यक परेका देशलाई दिइने बताएकी थिइन्।
प्रतिक्रिया दिनुहोस !