महानगरमा सत्ता गठबन्धन

महानगरमा सत्ता गठबन्धन

भरतपुर, ललितपुर र वीरगन्ज महानगरपालिका प्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । भरतपुरमा माओवादीकी रेणु दाहाल र ललितपुरमा कांग्रेसका चिरिबाबु महर्जन दोहोरिएका छन् ।

वीरगन्जमा जसपाका राजेशमान सिंहले जितेका छन् । पोखरामा एकीकृत समाजवादीका धनराज आचार्य मेयरमा निर्वाचित भएका छन्। यसअघि विराटनगरमा कांग्रेसका नागेश कोइराला निर्वाचित भएका थिए । ६ महानगरमध्ये काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अग्रता लिएका छन् । 

ललितपुरमा फेरि चिरिबाबु

ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन विजयी बनेका छन्। उनले ४२ हजार ७२२ ल्याए। २०७४ मा पनि लोकप्रिय मत ल्याएर उनी निर्वाचित भएका थिए। मंगलबार साँझ सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार महर्जन दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन्। 

विजयी भएपश्चात् चिरिबाबु महर्जनले गत कार्यकालमा जनताको चित्त बुझाएर काम गरेकै कारणले यो पटकको पनि जित सम्भव भएको बताएका थिए। ‘पाँच वर्षको दौरानमा तपाईंहरूले सम्झिने काम गर्न सकेकाले नै अहिलेको नतिजा पाएका छौं। त्यो अनुभवलाई साँचेर पाँच वर्षको दौरानमा हामीले के गर्‍यौं त्योभन्दा पनि अझ बढी काम गरेर देखाउँछौँ,’ उनले भने।

महर्जनले नेकपा एमालेका प्रतिस्पर्धी हरिकृष्ण व्यञ्जनकारलाई पछि पारेका हुन्। व्यञ्जनकारले २४ हजार ५६० मत ल्याएका छन्। यस्तै, उपमेयरमा नेकपा एमालेकी मन्जली शाक्य बज्राचार्यले २५ हजार ८४
मत ल्याएर निर्वाचित भएकी छन्। उनले गठबन्धनको तर्फबाट उपमेयरका उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई पछि पारेकी हुन्। बज्राचार्यले १८ हजार ७५२ मत पाए।

को हुन् चिरिबाबु ?

२०१४ सालमा छोरा जन्मेपछि बाआमाले उनको नाम चिरिबाबु राखिदिए। नेपाल भाषामा चिरीको अर्थ सानो हो। न्हुच्छे महर्जन र हरिमाया महर्जनका माइला छोरा चिरिबाबु सानैदेखि तार्किक कुरा गर्थे। तेजिला थिए। एक पटक भनेको कुरा ढुंगामा लेखेजस्तै हुन्थ्यो। ललितपुरको त्रिपद्य स्कुल पढेका उनी विद्यार्थी जीवनमा कहिल्यै दोस्रो भएनन्। 

त्यति मात्रैै होइन, चुनावमा पनि उनी कहिल्यै दोस्रो भएनन्। सधंै पहिला भए। पुल्चोकमा जन्मिएका चिरिबाबु वडा नं ३ को तीनपटक वडा अध्यक्ष बने। ललितपुर महानगरको दुईपटक मेयर पदमा निर्वाचित भए। 
परिवारका माइला सन्तान चिरिबाबुलार्ई तडकभडक मन पर्दैन। मध्यवर्गीय परिवारका उनी साधारण भएर जिउन चाहन्छन्। उनको लवाइखवाई र व्यवहारले त्यो देखाउँछ। जीवनमा भोगेको संघर्षले आफूलाई सादा जीवन बिताउन प्रेरित गरेको उनी बताउँछन्। त्यति मात्रै होइन, कस्तो जीवन बाँच्ने भन्ने कुरामा मान्छेको स्वभाव र हुर्काइसमेत महत्वपूर्ण हुने बताउँछन्।

चिरिबाबुको राजनीतिक यात्रा

त्यतिबेला उनी कुनै दलमा आबद्ध भएका थिएनन्। सुधारिएको पञ्चायत आएपछि २०३८ मा उनी वडा अध्यक्ष उठे। जसमा उनले सहजै जित हासिल गरे। चिरिबाबु भन्छन्, ‘टोलटोलमा फ्री क्लिनिक र पुस्तकालय स्थापना गर्नमा नेतृत्वदायी भूमिका खेलेकाले चुनाव जित्न सफल भए।
‘मेरो इमान्दारितामा अहिलेसम्म कसैले पनि औंला उठाउन सकेको छैन, किनभने म जनताको पैसा खाँदिन र त मलाई जनताले मन पराउँछन्। अनि उनीहरूको विश्वास जितेको छु,’ चिरिबाबु भन्छन्।
संघीयता लागू भए पछिको पहिलो स्थानीयतहको निर्वाचनमा नेपाली कांग्रेसमा ललितपुर महानगरको नेतृत्व गर्ने उम्मेदवारको खोजी भयो। उपत्यकाको महत्वपूर्ण पालिका, जहाँ सक्षम, योग्य र जित्ने उम्मेदवार उठाउनुपर्ने थियो। जिल्ला पार्टी नेतृत्वको आँखा चिरिबाबुमा परेको रहेछ। पहिलो कार्यकालमा चिरिबाबुले राम्रो काम गरे । अनि दोस्रोपटक पनि उम्मेदवार बने । 

वीरगन्जमा दल फेरेर मेयर

वीरगन्ज महानगरपालिका प्रमुख (मेयर)मा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंह विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सरावगीलाई २२ हजार ५ सय ४४ मतको अन्तरले पराजित गरेका हुन्। 

सिंहले ४६ हजार २ सय १५ र सरावगीले २३ हजार ६ सय ७१ मत पाएका छन्। यो महानगरमा ९३ हजार ७ सय ८२ मत खसेको थियो। उपमेयरमा गठबन्धनकै उम्मेदवार कांग्रेसका इम्तियाज आलम विजयी भएका छन्। उनले निकटतम् प्रतिद्वन्द्वी लोसपाका पुरुषोत्तमलाल झालाई तेब्बरभन्दा बढी मतान्तरले पराजित गरेका हुन्। 

आलमले ३० हजार ७८ र झाले ९ हजार ५ सय ६८ मत पाएका छन्। मेयर र उपमेयरमा एमाले र लोसपाले तालमेल गरेका थिए। २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमका सरावगी मेयर निर्वाचित भएका थिए। तत्कालीन राजपाबाट उम्मेदवार बनेका सिंह १२ हजार १ सय ६५ मतका साथ तेस्रो स्थानमा सीमित भएका थिए। 

सिंह र सरावगी दुवै जना यसपटक दल परिवर्तन गरी मेयरमा उठेका हुन्। जसपाका सरावगी एमाले र लोसपाका सिंह जसपामा लागेका थिए। वैशाख ३० मा चुनाव हुने भएपछि तत्कालीन मेयर सरावगी कांग्रेसमा जाने तरखरमा थिए। सिंहको रोजाइ भने एमाले थियो। उनले माघ २७ गते काठमाडौं पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरे। त्यसको भोलिपल्ट वीरगन्जमा पत्रकार सम्मेलन गरी आफू एमालेमा लागेको सिंहले बताए। चैत ८ गते वीरगन्जमा हुने ओलीको कार्यक्रममा औपचारिक रूपमा एमाले प्रवेश गर्ने उनको भनाइ थियो।
तर, फागुन २८ गते नै सरावगी एमाले प्रवेश गरेपछि सिंह मेयर उम्मेदवार बनाउनुपर्ने सर्तमा चैत ७ गते जसपामा प्रवेश गरे। उक्त दिन वीरगन्जमा आयोजित कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवले सिंहलाई मेयर उम्मेदवार बनाउने वाचा गरेका थिए।

सिंहले २०४३ सालमा कांग्रेस भ्रातृसंगठन नेवि संघबाट राजनीतिक यात्रा सुरु गरेका थिए। २०५४ को स्थानीय निर्वाचनमा उनी कांग्रेसबाट वडा सदस्य (तत्कालीन नगरपरिषद् सदस्य) निर्वाचित भए। त्यसपछि कांग्र्रेस छाडी राप्रपातिर ढल्किए। २०६३ सालको मधेस आन्दोलनदेखि भने मधेस केन्द्रित दलमा आबद्ध भए। 

आन्दोलनताकादेखि नै उनी लोसपाका अहिलेका नेता शरदसिंह भण्डारीनिकट थिए। भण्डारी नेतृत्वको तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा)का महासचिव भए। मधेस केन्द्रित रामसपा, तमलोपा, सद्भावनासहित ६ दलले २०७४ सालमा एकता गरी राजपा गठन गरेपछि सिंह महामन्त्री बने। २०७६ मा महन्थ ठाकुर नेतृत्वको तत्कालीन राजपा र उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबीच एकता भएर जसपा बन्यो। तर, २०७८ जेठतिर जसपा विभाजन भएपछि ठाकुर नेतृत्वको लोसपामा लागेका थिए सिंह।

भरतपुरमा दोहोरिइन् रेणु

मुक्ति या मृत्यु भनेर जनयुद्धमा होमिदा रेणु दाहाल १९ वर्षकी थिइन्। अहिले सम्झदा कहाली लाग्ने ती घटनाले उनलाई संघर्ष गर्न मात्र सिकाएन। सानो उमेरमा ठूलो जिम्मेवारी पनि दियो। युद्धको मोर्चा सम्हालेकी युवती अहिले भरतपुर महानगरपालिकाको दोस्रो पटक प्रमुखको जिम्मेवारी समाल्दै छिन्। २०७४ साउन २२ मा पहिलोपटक नेतृत्व सम्हाल्दा उनी ४० वर्षकी थिइन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको छोरीको रूपमा बढी चर्चा गरिए पनि राजनीतिक योगदान आफ्नो पनि कम नभएको दाबी छ।  

‘मुक्ति या मृत्यु भनेर जनयुद्धमा बुबासँगै दुनियाँका छोराछोरी मर्न तयार भएपछि हामी किन नलाग्ने भन्ने सोचाइले राजनीतिमा आउन अभिप्रेरित भएँ’, उनले भनिन्, ‘मुलुकको अग्रगमन र मुक्तिको लडाइँबाट सुरु गरेको राजनीति निरन्तर आजसम्म जनताको सेवामा खटिने अवसरले मलाई खुसी बनाएको छ।’

बुबाको कारण राजनीतिको पहुँचमा रहेको भनी आलोचना धेरै भयो। तर, उनको राजनीतिक गतिविधि बुवासँगै सक्रिय थियो। ःरेणु अहिले नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिकाकी इन्चार्ज हुन्। अखिल नेपाल महिला संघ क्रान्तिकारीको महासचिव पनि छिन्। २०६४ सालको पहिलो संविधानसभामा उनी सदस्य भएकी थिइन्। दाहाल पहिलो संविधानसभामा समानुपातिक सभासद् भएकी हुन्। दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग काठमाडौंमा पराजित भइन्। 

राजनीतिक प्रतिष्ठा र प्रतिस्पर्धाले रोचक बनेको भरतपुर महानगरमा दाहालले यसपटक सहजै  जितिन्। नेकपा एमालेका विजय सुवेदलाई १२ हजार ८ सय ४९ मत अन्तरले पराजित गर्दै उनी विजयी भइन्। 
दाहालले आफ्नो दोस्रो कार्यकालको सुरुवात जनताको मन जित्ने योजनाको साथमा गर्ने तयारी गरेकी छन्। उनीसँग पराजित नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले मतगणना स्थलमै पुगेर दाहाललाई बधाई तथा शुभकामना दिएका छन्। दाहाल पाँच दलीय गठबन्धनबाट मेयरका उम्मेदवार हुन्। सुवेदी नेकपा एमाले–राप्रपा गठबन्धनबाट उम्मेदवार बनेका थिए। दाहालले  ५२ हजार २८ मत ल्याइन्। सुवेदीले ३९ हजार ५ सय ८२ मत ल्याए। स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत ल्याए। 

 पोखरा महानगरपालिका आचार्य

 पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) र उपमेयरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)विजयी भएको छ। एमालेका कृष्ण बहादुर थापालाई पराजित गर्दै सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार बनेका धनराज आचार्य मेयर पदमा विजयी भएका हुन्। 

आचार्यले ५८ हजार ८९३ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी थापाले ५२ हजार ८४८ मत ल्याएका छन्। उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएकी छन्। सत्ता गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेवदवार  कोपिला रानाभाटलाई पराजित गर्दै एमालेकी गुरुङ विजयी भएकी हुन्। 

गुरुङले ६० हजार ५४६ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी रानाभाटले ५६ हजार ६६३ मत ल्याएकी छन्। २०७४ सालमा पोखरामा एमालेका मानबहादुर जिसी र मञ्जुदेवी गुरुङ मेयर र उपमेयर निर्वाचित भएका थिए। गुरुङ यसपालि फेरि उपमेयर दोहोरिएकी छिन्। 

राधा खनाल/काठमाडौं, क्रान्ति शाह/ वीरगन्ज, अनिल ढकाल/चितवन, केशवशरण लामिछाने/पोखरा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.