नागरिकता विधेयकप्रति राष्ट्रपति असन्तुष्ट, प्रधानमन्त्रीसँग भयो दुई घन्टा छलफल

नागरिकता विधेयकप्रति राष्ट्रपति असन्तुष्ट, प्रधानमन्त्रीसँग भयो दुई घन्टा छलफल

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्तामा बहुचर्चित नागरिकता विधेयकको सम्बन्धमा गम्भीर चासो व्यक्त गरेकी छन्।

राष्ट्रपति कार्यालय सितल निवासमा भएको भेटघाटमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवासमक्ष विधेयकमा समेटिएका केही प्रावधानबारे गम्भीर चासो व्यक्त गरेकी हुन्। राष्ट्रपति कार्यालय उच्च स्रोतका अनुसार, राष्ट्रपति भण्डारीले विधेयक समेटिएका बुँदाहरुमा गम्भीर चासो र चिन्ता व्यक्त गरेकी थिइन्।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्नुअघि कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री गोविन्द प्रसादशर्मा (कोइराला) र महान्यायाधिवक्ता खम्मबहादुर खातीसँगको भेटमा पनि नागरिकता विधेयकका सम्बन्धमा सोधपुछ गरेकी थिइन्।

राष्ट्रपति भण्डारीले झण्डै दुई घण्टाको छलफलमा नागरिकता विधेयक प्रमाणीकरणपछि पर्नसक्ने दूरगामी प्रभावबारे चिन्ता व्यक्त गरेको स्रोतले बतायो।

महान्यायाधिवक्ता खातीले नागरिकता विधेयकका सम्बन्धमा छलफल भएको पुष्टि गरे। उनले अन्नपूर्णसँग भने, ‘राष्ट्रपतिज्युबाट नागरिकता विधेयकका सामान्य चासो व्यक्त भयो।’

गत सोमबार क्षत्री समाज,  ब्राम्हण समाज र ठकुरी समाज महासंघ नेपालले राष्ट्रपति कार्यलयमा संयुक्त ज्ञापन पत्र बुझाउँदै नागरिक विधेयक राष्ट्रघाति भएकाले फिर्ता गर्न अनुरोध गरेका थिए।

सरकारले संसदमा प्रस्तुत गरेको नागरिकता ऐन संशोधन विधेयकमाथि छलफलपश्चात् प्रतिनिधिसभाले साउन ७ गते पारित गरेको थियो। त्यस्तै राष्ट्रिय सभाले साउन १२ गते विधेयक पारित गरेको थियो।

सभामुख अग्निप्रसाद सापकोटाले विधेयक प्रमाणीकरणका लागि साउन १५ गते राष्ट्रपति कार्यालयमा  पठाएका थिए। राष्ट्रपतिलाई अर्थबाहेकका विधेयकमाथि विचार गर्न १५ दिनको समयसीमा छ। नेपालको संविधानधारा ११३ को उपधार (३)मा प्रमाणीकरणका लागि पेस भएको विधेयक (अर्थबाहेक)मा पुनर्विचार गर्नु आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा विधेयक पेस भएको मितिले सन्देशसहित विधेयक उत्पत्ति भएको सदनमा फिर्ता पठाउनसक्ने व्यवस्था छ।

राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

त्यस्तै विधेयकलाई संशोधनसहित पारित गरी पुनः पेस गरेमा त्यसरी पेस भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हुन्छ। राष्ट्रपतिबाट प्रमाणीकरण भएपछिमात्र विधेयक ऐन बन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.