साउदीको जेलमा रहेका छोरा छुटाउन परिवारको गुहार
धनकुटा : चौविसे गाउँपालिका- ४ का २९ वर्षीय दिनेश कार्की जरिवाना रकम तिर्न नसक्दा १३ महिनादेखि साउदीमा जेलजीवन बिताइरहेका छन्।
दिनेशका परिवारले जेलमा रहेका छोरालाई छुटाएर नेपाल ल्याउनका लागि पहल गरिदिन सरकार समक्ष अनुरोध समेत गरेका छन्।
वैदेशिक रोजगारीको सिलसिलामा पाँच वर्षअघि उनी साउदीको अल हवाला फर ट्रेनिङ एण्ड इन्डस्ट्री कम्पनीमा ट्रेलर चालकको रूपमा काम गर्न त्यहाँ पुगेका थिए।
तर कम्पनीले श्रम सम्झौंता अनुसारको सेवा सुविधा नदिएपछि उनी बाहिरै अवैध रूपमा काम गर्न थाले। बाहिर काम गर्ने सिलसिलामा सवारी दुर्घटना भएपछि सुरक्षाकर्मीले पक्राउ गरेको उनले टेलिफोन मार्फत् जानकारी दिए।
'मसँग ड्राइभिङ अनुमति पत्र लगायत सबै काजगात भए पनि अवैध रूपमा बसेका कारण कागजातले काम दिएन' उनले भने 'अहिले त्यहाँको प्रशासनले ५७ हजार रियाल क्षतिपूर्ति बापतको जरिवाना भरेको छ, त्यो तिर्न नसक्दा १३ महिनादेखि जेलमै रहेको छु।'
पहिले ठूलो जेलमा थिए। तर अहिले सानो जेलमा स्थानान्तरण गरेका कारण आफू परिवारसँग सम्पर्कमा रहेको उनले बताए। उनले भने, 'आफू कहिले छुट्ने भन्ने टुंगो छैन। प्रहरीले जरिवाना रकम नतिरेसम्म छुट्दैनस् भनेका छन्।'
जेल परेपछि नेपाली राजदूतावाससँग पनि कुरा गरेको उनले बताए। 'मैले पनि सम्पर्क गरे। प्रहरी आफैंले पनि राजदूतावासमा सम्पर्क राखेको थियो। राजदूतावाससँग आफूले सहयोगका लागि अनुरोध गरेपनि सहयोग गर्न नसकिने कुरा बताए', उनले भने।
सहयोग जुटाएर आफैं निस्कनु भन्ने जवाफ पाएको उनले बताए। यस्तो केशमा धेरै जना फस्ने गर्छन्। सबैलाई सहयोग गर्न सकिँदैन भनेको उनले दुखेसो पोखे। राजदूतावासको प्रतिनिधिसँग तीन पटक भेटघाट भएको उनले बताए।
कार्कीको घर चौविसे गाउँपालिका-४ स्थित फलामेटारको तमोर किनारमा छ।
उनको घरमा अहिले बुबा गणेशबहादुर कार्की र आमा दुर्गा कुमारी कार्की मात्रै वस्छन्। बुबा शारीरिक रूपमा असक्त छन्। १५ वर्ष अघि लडेको कारण सामान्य तरिकाले हिँडडुल गर्न सक्दैनन्।
छोरा जेलमा परेको खबर सुनेदेखि भोक निन्द्रा हराएको दिनेशका आमा दुर्गाकुमारीले बताइन्। 'एक वर्षभन्दा बढी छोरासँग सम्पर्क थिएन। किन टाढियो भनेर मनमा सधै खुल्दुली भइरहन्थ्यो। पछि छिमेकी भाई महेन्द्रले फोनमा कुरा गराइदिँदा सबै कुरा थाहा भयो,' उनले भनिन्।
छोरा कतिबेला घर आइपुग्ला भन्ने प्रतिक्षामा रहेको उनले बताइन्। उनी भन्छिन् 'आर्थिक अवस्था कमजोर छ। त्यत्रो क्षतिपूर्ति तिर्न सक्ने अवस्था छैन। विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार सरकारले गर्ने गरेको सुनेको थिएँ। हाम्रो छोराको पनि उद्धारमा सरकारले सहयोग गरिदिन्छ भन्ने आसा छ।'
कार्कीका तीन दाजु भाई मध्ये दुई वर्ष अघि जेठा दाई र १ महिना अघि माइला दाई वैदेशिक रोजगारका लागि विदेश गएका छन्। घर सहित १५ रोपनी जग्गा छ। उब्जाउ खेत तमोर नदीको बाढीले पुरिदिएको छ। कार्की परिवारको तीन छोरा मध्ये साउदी जेलमा रहेका दिनेश कान्छा छोरा हुन्। उनका परिवार आर्थिक रूपमा विपन्न रहेको छिमेकी महेन्द्र न्यौपानेले बताए।
प्रतिक्रिया दिनुहोस !