जोखिम मोलेर असुरक्षित गर्भपतन
सिन्धुलीः सिन्धुलीका अधिकांश महिलाले आफैं जोखिम मोलेर असुरक्षित गर्भपतन गराउने गरेका छन् । जिल्लाका अधिकांश महिला दक्ष चिकित्सकको सल्लाहबिना नै आफूखुसी औषधि खाने र घरेलु जडीबुटीको प्रयोग गरी असुरक्षित गर्भपतन गराउने गरेको पाइएको छ ।
जिल्लाका ग्रामीण क्षेत्रदेखि सदरमुकामभित्र पनि महिलाहरू मेडिकलमा गएर औषधि खाने र बिनासूचीकृत अस्पतालमा गएर गर्भपतन गराउने गरेको पाइएको जिल्ला अस्पताल सिन्धुलीले जनकारी दियो । यसरी असुरक्षित गर्भपतन गराउँदा महिलाहरूको ज्यानसमेत खतरामा पर्ने गरेको सिन्धुली अस्पतालकी प्रमुख तथा स्त्रीरोग विशेषज्ञ डाक्टर सुमित्रा गौतमले बताइन् ।
‘जिल्लाका अधिकांश महिलाले दक्ष चिकित्सकको सल्लाहबिना आफूखुसी विभिन्न औषधि पसलबाट औषधि खाने र सूचीकृत नभएका अस्पताल र चिकित्सकबाट गर्भपतन गराउनाले ज्यानै जोखिममा पर्ने गरेका विभिन्न घटनाले देखाएको छ,' उनले भनिन् ।
महिलाहरू आफूखुसी औषधि सेवन गरेर ज्यान नै जोखिममा परेपछि उपचारका लागि सिन्धुली अस्पतालमा आउने गरेका छन् । ‘एक सातमै २० देखि २५ जनासम्म महिलाहरू गर्भपतनपछिको जोखिम लिएर अस्पतालमा उपचार गर्न आउने गरेका छन्,' उनले भनिन् । यो संख्या डरलाग्दो हो ।
सुरक्षित गर्भपतन गराउन स्वास्थ्य केन्द्रमा नगई आफूखुसी औषधि सेवन गर्नाले ज्यानै जान सक्छ भन्ने थाहा हुँदाहुँदै पनि परिवार, समाज र लाजका कारण धेरैजसोले घरमै औषधि खाने गरेको डाक्टर गौतमको भनाइ छ ।
कतिपयले सिसा पिसेर खानेजस्तो अत्यन्त जोखिम मोलेर गर्भपतन गराउने गरेका छन् । अत्यधिक कुभिन्डो खाने, पेटमा दबाब दिनेसम्मका उपाय अपनाउने गरेका छन् । डाक्टर गौतमका अनुसार यस्ता महिलामा गर्भ राम्रोसित नझरेर बच्चाको आधा भाग भित्रै रहने, पाठेघर पाक्ने, धेरै रगत बग्नेजस्ता समस्या देखा पर्ने गरेका छन् । जिल्लामा गर्भपतनका लागि सरकारद्वारा सूचीकृत सिन्धुली अस्पताल मात्र हो ।
विवाह नगरेका महिलाहरूले अवैध गर्भ बस्न गएपछि आफूखुसी औषधि प्रयोग गर्ने गरेका छन् । कानुनी रूपमा गर्भपतन सूचीकृत स्थानबाट सूचीकृत डाक्टरबाट मात्र गराउन पाइन्छ । तालिम प्राप्त सूचीकृत डाक्टरले १२ हप्तसम्म र तालिम प्राप्त सूचीकृत नर्सले ८ हप्तासम्मको मात्र गर्भपतन गराउन पाउने कानुनी प्रावधान छ । तर जिल्लामा कानुनी प्रावधानभन्दा बढी समय भएका गर्भको समेत पतन गराउने गरेको गौतमले बताइन् ।
बलात्कृत भएमा, आमालाई मानसिक वा शारिरीक समस्या भएमा, पेटमा रहेको बच्चा विकलांग भएका विशेष तालिम प्राप्त चिकित्सकले १८ हप्तासम्मको गर्भपतन गराउन पाउने कानुनी व्यवस्था छ । १८ हप्तासम्मको गर्भपतन काठमाडौंस्थित थापाथली अस्पतालबाट मात्र हँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस !