आर्थिक अभावले खेलाडीको मृगौला प्रत्यारोपणमा समस्या
दमक : ‘२० दिन अघिको कुरा हो । बिहान मलाई एक्कासि बमिट भयो । आँखा पनि मधुरो देख्न थालेँ । स्थानीय मेडिकलमा जाँच गराउँदा मृगौलामा खराबी छ भने । पछि घोपामा जाँच गराउँदा म छाँगाबाट झरेजस्तै भएँ । मेरो दुईवटै मृगौला ड्यामेज भएको रहेछ’, सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पूर्वाञ्चलबाट कुस्तीमा रजत पदक जितेका झापा मेचीनगरका २२ वर्षीय शिव कुँवरले भने।
कुँवरको दुवै मृगौला यति बेला काम नलाग्ने अवस्थामा पुगेको छ । एक महिनाभित्र मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको छ । मृगौला प्रत्यारोपण गर्न ठूलो रकम लाग्ने भएपछि यति बेला उनलाई छटपटी भएको छ । भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररत उनले भने, ‘म बाँच्न चाहन्छु । बाँचेर मेरो सम्पूर्ण जीवन राष्ट्र निर्माणमा अर्पित गर्न चाहन्छु ।
मलाई जसरी हुन्छ आर्थिक सहयोग गरेर बचाइदिनुहुन सबैलाई अपिल गर्दछु ।’ कुँवर झापाका कुशल कुस्ती खेलाडी हुन् । उनले सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ७४ केजी तौल समूहमा रजत पदक जितेका थिए । उनले स्वस्थ भएपछि राष्ट्रको खेलकुद क्षेत्रमा योगदान दिने बताए ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जितेपछि तस्बिर खिचाउँदै झापा मेचीनगरका शिव कुँवर । अन्नपूर्ण
चिकित्सकका अनुसार तीन सातादेखि एक महिनाभित्र मृगौला प्रत्यारोपण गरिसक्नु पर्नेछ । तर, अहिलेसम्म कहीँ कतैबाट सहयोग नजुटेको कुँवरले बताए । केही संघसंस्थाले रकम संकलन गर्दैछौं भने पनि अहिलेसम्म आफूले केही पनि नपाएको उनले बताए । खेल र खेलाडीप्रति चासो राख्ने एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहयोगको याचना गरेको उनले बताए ।
एमाले अध्यक्ष ओलीकै गृहजिल्लाको रहेको बताउँदै उनले ओली पनि आफूजस्तै समस्या पार गरेर आएकाले सहयोग हुने आशासमेत प्रकट गरे । ‘उहाँ पनि मेरोजस्तै समस्याबाट गुजे्रर आउनुभएकाले मेरो पीडा बुझेर केही पहल गरिदिनुहुन्छ भन्ने विश्वास लिएको छु’, कुँवरले भने । विभिन्न संघसंस्थामा रही आपत्कालीन अवस्थामा राष्ट्रका लागि काम गरेको बताउँदै आफूलाई संकट परेको बेला सहयोग गरिदिन उनले सबैलाई आग्रह गरे ।
स्नातक तहमा अध्ययनरत उनले झापाका विभिन्न संघसंस्थामा रहेर काम गर्दै आएका छन् । मेचीनगर नगरपालिका-१० टीकापुरमा बस्दै आएका कुँवरको आर्थिक अवस्था अत्यन्तै कमजोर छ । जग्गाको नाममा ऐलानी आठ धुर रहेको कुँवरकी आमा उमाले बताइन् । उनले गहभरि आँसु पार्दै भनिन्, ‘दुःख गरेर पढाएँ । बुढेसकालमा केही गर्ला भन्ने सोचेको थिएँ तर अहिले यो हालत भयो।’
कुँवरका बुवा कृष्ण ड्राइभर हुन् । उनले मालसामान ओसारपसार गर्ने गाडी चलाएर परिवारको गुजारा गर्दै आएका छन् । शिवको मृगौला प्रत्यारोपणका लागि २० लाख रुपैयाँ आवश्यक पर्ने उनका काका राम कुँवरले बताए । नेपाल सरकारले पाँच लाख बराबरको सहयोग गर्ने आश्वासन दिए पनि अहिलेसम्म सहयोग नपाएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस !