हिमपातले जाजरकोटमा लाखौंका बिरुवा नष्ट
जाजरकोट : भारी हिमपातले जाजरकोटमा कलमी गरेका लाखौं सुन्तलाका बिरुवा नष्ट भएका छन्। प्लाष्टिक टनेलभित्र ग्राफ्टिङ्ग गरिएका लाखौं सुन्तला, ओखर, कागतिलगायत बिभिन्न जातका बिरुवाहरु भारी हिमपातले थिचारिएर नष्ट भएका हुन्।
गत हप्ता दुई दिनसम्म भएको भारी हिमपातले कुशे गाउँपालिका–५ दम्दालामा रहेका व्यवसायिक फलफूल नर्सरीहरुमा लाखौं सुन्तलाका बिरुवाहरु नष्ट भएको जेवी कृषि फर्म उद्योगका प्रोपराईटर जानुका मल्लले जानकारी दिएकी छन्। दुई वटा प्लाष्टिक टनेलमा रहेका ६० देखि ७० हजारसम्म सुन्तलाका विरुवाहरु नष्ट भएको प्रोपराईटर मल्लको भनाई रहेको छ।
केही दिन अगाडि दैनिक १२ सय ज्याला दिएर सुन्तलाका विरुवाहरुमा कलमी गरेका थियौं, दुई दिनसम्मको हिमपातले प्लाष्टिकका टनेल थिचारिएर सबै बिरुवाहरु नष्ट भएका छन् मल्लले भनिन् ‘उक्त हिमपातले हाम्रो जेवी कृषि फर्म उद्योगमा रहेका ६० देखि ७० हजारसम्म बिरुवा नष्ट गरेको छ। यस्तै हरिबहादुर थापा प्रोपराईटर रहेको बाटापाखा हार्बिष्ट कृषि र्फमका ५० देखि ६० हजार बिरुवा नष्ट भएका छन्, वीर बहादुर खड्का प्रोपराईटर रहेको प्रगतिशिल नर्सरी उद्योगका ४० देखि ५० हजारसम्म सुन्तलाका बिरुवा नष्ट भएका छन्।’
शिवबहादुर मल्ल प्रोपराईटर रहेको प्रबीण हिउँदे तथा वर्षे फलफूल नर्सरीमा भने हिउँले त्यस्तै क्षति गरेको छ। शक्तिबहादुर वली प्रोपराईटर रहेको कुशे अर्गानिक कृषि फर्ममा रहेका सुन्तलाका बिरुवाहरु हिमपातले के कति क्षति गर्यो भन्ने विषयमा अहिलेसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन।
जिल्ला कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तलाजात फलफूल जोनबाट विभिन्न अनुदान प्राप्त गरेका उक्त नर्सरीहरुका बिरुवाहरु हिमपातले नष्ट भएपछि नर्सरी संचालक तथा प्रोपराईटरहरु चिन्तित भएका छन्। गत साताको हिमपातले हैरान भएका स्थानीय पुनः बुधवारदेखि हिमपात हुन थालेपछि थप चिन्तित भएका छन्।
प्रतिक्रिया दिनुहोस !