बहिनी छिन् काँधमा, पढाइ चल्छ साथमा

बहिनी छिन् काँधमा, पढाइ चल्छ साथमा

मनहरी /हेटौंडा : व्यस्त राजमार्ग। तीव्र गतिमा गुडिरहेका सवारीसाधन। उस्तै छ यात्रुको आवतजावत। लाग्छ, गन्तव्य पुग्न सबैलाई हतार छ। तर, त्यही राजमार्गछेउ हिँडिरहेकी ६ वर्षीया मनीषा परियारलाई कुनै हतार देखिएन। उनी सुस्त चालमा आफ्नो गन्तव्य पछ्याउँदै थिइन्।

बहिनी बोकिरहेकी मनीषा परियार।

यी दुई दृश्य मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित राजमार्गका हुन्। जसमा मनीषाको यात्रा फरक थियो। उनी सानी छिन्। अभिभावकको सहारा लिएर हिँड्नुपर्ने उमेर छ। तर, एक वर्षकी बहिनी प्रीतिलाई पिठ्युँमा बोकेर स्कुलबाट घर फर्किरहेकी थिइन्।

बहिनीलाई बोकेर हिँडिरहँदा पछि–पछि थिइन् उनकी हजुरआमा मीना। दमको बिमारीका कारण ५५ वर्षीया मीनालाई छिटो र धेरै हिँड्न गाह्रो छ। त्यसैले उनी सम्हालिएर र सुस्त गतिमा पाइला लम्काइरहेकी थिइन्। बेला–बेला टक्क अडिएर अघिअघि हिँडिरहेकी नातिनीलाई बिस्तारै हिँड्न सुझाउँथिन्।

स्कुलको झोला बोकेर पछि–पछि हिँडिरहेकी उनीसँगै थिइन् अर्की नातिनी खुसी। मीनाले बोकेको झोला भने मनीषाको हो। मनीषा र खुसी स्थानीय विद्यालयमा कक्षा १ मा पढ्छन्। उनीहरू दुवै जनालाई हजुरआमा मीनाले दिनहुँ लैजाने र ल्याउने गर्छिन्। 

मकवानपुरको मनहरीस्थित राजमार्गमा एक वर्षकी बहिनी प्रीतिलाई पिठ्युँमा बोकेर स्कुलबाट फर्किंदै गरेकी मनीषा परियार। पछि–पछि हजुरआमा मीना र बहिनी खुसी।  तस्बिर : दिवाकर भण्डारी 

शारीरिक अस्वस्थताका कारण उनलाई स्कुल जान झन्डै एक घण्टा लाग्छ। आउजाउ गर्दा दिनमा चार घण्टा बित्छ। नातिनीहरू पुर्‍याउन बिहान ९ बजे र लिन दिउँसो ३ बजे स्कुल जाने गरेको उनले सुनाइन्।  
घरमा हजुरआमा र हजुरबुवा मात्रै रहेका कारण प्रीतिलाई पनि स्कुलमै लिएर जान्छन्। जाँदा हजुरआमासँग हिँडेर जाने उनलाई फर्किंदा दिदी मनीषाले बोकेर ल्याउने गरेकी छन्। मीनाका दुई छोरी सन्दिपा र रोशनी रोजगारीको खोजी गर्दै भारत गएका छन्। उनको दैनिकी नातिनीहरूको हेरचाहमै बित्ने गरेको छ। 

‘म बोक्न सक्दिनँ। दम रोगका कारण मलाई धेरै हिँड्न पनि गाह्रो हुन्छ। त्यसैले उ (मनीषा) आफैंले बोक्छिन्’, मीनाले भनिन्, ‘उसको झोला म बोकिदिन्छु। अनि उसले बहिनी बोकेर घर ल्याउँछिन्।’ मनीषाले प्रीतिलाई बोकेर झन्डै एक घण्टामा घर ल्याउने गरेको मीनाले सुनाइन्।  

अर्की नातिनी खुसीसँग मीना परियार। 

उनका अनुसार मनीषा र खुसी सन्दिपाका र प्रीति रोशनीकी छोरी हुन्। तीनै जनालाई मीनाले हेरचाह गर्दै आएकी छन्। यो परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर छ। मीनाका पति पनि दम रोगका कारण घरमै बस्छन्। छोरीहरू काम गर्न भारत गएपछि तीन नातिनीको जिम्मेवारी सम्हालेर भाडाको घरमा बस्दै आएकी छन्।

आर्थिक अभावका कारण उपचार गर्न गाह्रो भएको पीडा उनले सुनाइन्। ‘श्रीमान् आफैं थला परेर बसेका छन्। म पनि बिरामी छु। उपचार गराउन पैसा छैन’, उनले भनिन्, ‘छोरीहरू काम खोज्दै भारत गए। म यता जसोतसो गुजारा टार्दै आएकी छु।’

तारिदिने नपाए छुट्छ स्कुल

विजय घिसिङ बिहान ९ बजे धेत्रे दमारस्थित सिमात खोलामा विद्यार्थीलाई खोला तार्न पर्खिरहेका हुन्छन्। बालबालिका आएपछि आफ्नो काँधमा बोकेर उनीहरूलाई खोला तारिदिन्छन्। र, नजिकै रहेको कालभैरव प्राविमा पुर्‍याउँछन्। उनी साँझ पुनः बालबालिकालाई उसरी नै खोला तारिदिन्छन्।

मकवानपुरको बकैया–१२ धेत्रे दमारस्थित कालभैरव प्राविका विद्यार्थीलाई ज्यान जोखिममा राखेर खोला तारिदिँदै

घिसिङ आइपुगेनन् भने बालबालिका उर्लिएको सिमातको डिलमा पर्खिएर बसिरहन्छन्। वर्षाको समय, खोलाको डिलमा घण्टौं कुर्दा पनि कोही तारिदिन आएन भने उनीहरू घर फर्कन्छन्। घिसिङ कालभैरवकै विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुन्।  

‘खोला तारिदिन कहिलेकाहीँ विजय सर आउनुहुन्छ। अहिलेकाहीँ पियन कविता दिदी आउनुहुन्छ’, बालबालिका भन्छन्, ‘धेरै पटक साथीहरू मिलेर खोला तर्न खोज्दा सकेनौं।’ खोलाले बगाउने डर भएपछि कोही नआउँदा बालबालिका घर फर्कन्छन्।

मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिका–१२ धेत्रे दमारस्थित उक्त विद्यालय पुग्न त्यहाँ अध्ययनरत बालबालिका ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य छन्। सोही वडाका २७ विद्यार्थी पढ्न आउने गर्छन्। धेत्रे, गोदाम डाँडा, ढिस्कापाखा, चुवार पाखा र अजिंगरेका विद्यार्थी सिमातको भेलमा ज्यान जोखिममा पारेर विद्यालय पुग्ने गरेका छन्। 

गाउँबाट विद्यालय पुग्न छोटो स्थानमा पुल छैन। करिब एक घण्टा हिँडेपछि खोलासम्म आइपुगिन्छ। धेरै पटक कापीकलम खोलामा खसेको छ। केही विद्यार्थीको चिप्लिएर हात गोडा भाँच्चिएको अध्यक्ष घिसिङ बताउँछन्। उक्त विद्यालयमा शिशु कक्षादेखि ३ सम्म मात्र पढाइ हुन्छ। कक्षा ४ देखि ठिंगनको कान्ति मावि जानुपर्छ। कान्ति मावि पुग्न दमारबाट २ घण्टाभन्दा बढी हिँड्नुपर्छ। 

झोलुंगे पुल नहुँदा विद्यार्थीलाई आवतजावतमा परेको समस्याबारे बकैया गाउँपालिका र १२ नम्बर वडा कार्यालयले चासो नदेखाएको प्रधानाध्यापक चेतबहादुर घलेले बताए। भदौ ३० गते सुरु भएको त्रैमासिक परीक्षा असोज ५ गतेसम्म सञ्चालन हुँदै छ। वर्षाका कारण विद्यार्थीलाई खोला तार्न नसक्दा भदौ ३१ गते परीक्षा स्थगन गर्नुपरेको प्रध्यानाध्यापक घलेको भनाइ छ।  २०५३ सालमा प्लान नेपालले स्थापना गरिदिएको उक्त विद्यालय २०६१ मा जिल्ला शिक्षा कार्यालयबाट अनुमति लिई सञ्चालनमा छ। जहाँ २७ बालबालिका अध्ययनरत छन्। जीर्ण अवस्थाको विद्यालय।

विद्यालयमा राहत दरबन्दीमा १ प्रध्यानाध्यापक र १ कार्यालय सहयोगी मात्रै छन्। बालकक्षा शिक्षिका अभाव रहेको विद्यालयले जनाएको छ। विद्यालय भवनसमेत जीर्ण अवस्थामा छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.