‘एउटा भिडियो खिच्ने काम ३००० मा पाउँदा हामीजति खुसी कोही थिएन’

‘एउटा भिडियो खिच्ने काम ३००० मा पाउँदा हामीजति खुसी कोही थिएन’

नेपाली चलचित्र, वृत्तचित्र होस् या म्युजिक भिडियो छायांकनको अग्रपंक्तिमा आउने नाम हो, मधुर बस्नेत। बस्नेतलाई नेपालमा छायांकन पेसाका खम्बा नै हुन् भन्दा फरक पर्दैन। तीन हजारभन्दा बढी व्यावसायिक भिडियो छायांकन गरिसकेका उनी अझै यो पेसालाई नै मलजल गरिरहेका छन्। २०५२ सालदेखि छायांकनलाई नेपालमा व्यावसायिकता दिएका उनले नै लोकदोहोरी, अन्य गीत र कृषिका कुरालाई पनि भिडियोमा उतारेर टेलिभिजनमा देखाउन सकिन्छ भन्ने बानी पारे। यो क्षेत्रमा दक्ष प्राविधिक जन्माए।

चलचित्र छायांकन, निर्देशन एवं म्युजिक भिडियोमा मोडलिङ गर्न समेत पछि परेनन्। प्रविधिमा चाँडो ‘अपग्रेट’ हुनुपर्ने यो पेसामा कहिले पछि रहेनन्। मधुर नामजस्तै मधुरता प्रस्तुत गर्ने व्यक्तिमा पर्छन् उनी। २०५४ सालमा डिल्लीबजारमा कृष्ण फिल्मस् नामको कम्पनी सञ्चालन गरेर नेपालमा छायांकनको दरिलो जग बसालेका बस्नेतसँग अन्नपूर्णकर्मी रविन भट्टराईले गरेको कुराकानी :


नाम मधुर, आफैंले राख्नुभएको हो कि, न्वारनमै राखिएको हो ? 
न्वारनको त होइन। पछि बुवाआमाले राखिदिनुभएको हो। मलाई पनि यो नाम प्रिय लाग्छ। 

नामको अर्थ थाहा छ ? 
यस्तै पोलाइट।

नाम जस्तै हुनुहुन्छ ? 
छु।

आफैंलाई लाग्या हो कि, अरूले पनि भन्छन् ? 
बुझ्नेले भन्छन् पनि। (हाँस्दै) मलाई त लाग्ने भइहाल्यो नि।

छायांकनको क्षेत्रमा लामो समयदेखि लाग्नुभयो। जुन समय नेपालमा भिडियोका कुरा हेर्न टेलिभिजनबाहेकका माध्यम थिएनन्। त्यो समय कसरी आँट आयो ? 
म अध्ययनको सिलसिलामा भारतमा नै थिएँ। प्रारम्भिक शिक्षा भारतको सिलोङमा लिएँ। दार्जिलिङको सेन्ट जोसेफ कलेजबाट उच्च शिक्षा हासिल गरेँ। कलेज पढ्दापढ्दै फिल्म क्षेत्रमा आकर्षित भएको थिएँ। दार्जिलिङमा पढ्दा त्यहाँ क्यानेडियन एक जना पर्यटक आउनु भएको थियो। उहाँ फोटोग्राफीको शिक्षक नै हुनुहुँदो रहेछ। उहाँसँग घुम्ने मौका पाएँ। त्यसपछि मलाई पनि फोटोग्राफीमा हात हाल्न मन लाग्यो। नेपालमा पनि यो क्षेत्रमा केही गर्न सकिन्छ भन्ने मैले त्यसै समय सोचे पनि। 

त्यो समय मलाई उहाँले फोटोग्राफीसम्बन्धी किताबहरू पनि दिनु भएको थियो। मैले सामान्य त्यो पुस्तकबाट पनि अध्ययन गरे। त्यो समय सिक्नका लागि अन्य माध्यम पनि थिएन। त्यसै समय म काठमाडौं आएँ। त्यो २०५२ सालको कुरा हो। २०४२ सालमा नेपाल टेलिभिजनको स्थापना भएपछि रेडियोमा सुनिने गीत टेलिभिजनमा पनि देखिन थालिएको थियो। विस्तारै टेलिभिजनको पहुँच सर्वसाधारणसम्म पुग्न थालेसँगै अन्य टेलिभिजन च्यानल पनि सञ्चालनमा आउन थाले। फलतः नेपाली गीतसंगीतको भिडियो निर्माणसँगै टेलिभिजन कार्यक्रम पनि निर्माण हुन थालेका थिए। त्यसै समय फोटोग्राफी क्षेत्रमा केही गर्ने हुटहुटीले युवा जोसका साथ बाबुराजा केसी (उज्ज्वल) र गोपाल बाँस्कोटासँग मिलेर मैले २०५४ सालमा डिल्लीबजारमा कृष्ण फिल्मस् नामको कम्पनी सञ्चालन गरें।

साथीहरूको पनि फोटोग्राफी क्षेत्रमा केही गरौं न भन्ने नै उद्देश्य थियो। नेपाली टेलिभिजनका लागि कार्यक्रम निर्माणमा जुटिरहेका बाबुराजा, विनोद शर्मा, गोपाल बाँस्कोटालगायतसँग भेट भएपछि २०५२ सालतिरै वैदेशिक रोजगारसम्बन्धी वैदेशिक रोजगार, सूचना र समाचार कार्यक्रम निर्माण गर्न थालेका थियौं। लगभग ५२ एपिसोड छायांकन एवं प्रसारण गरेपछि मैले डकुमेन्ट्री र विज्ञापनको क्षेत्रमा हात हालेको थिएँ। कार्यालय स्थापनापछि हामीले काम खोज्न थाल्यौं। भिडियो पनि बनाउनुपर्छ भन्ने बुझाउनु पनि थियो। 

त्यो संघर्षका दिनलाई कसरी सम्झनुहुन्छ ?

कार्यालय खोलिहालियो। एक फ्ल्याटको सात हजार भाडा तिर्नुपथ्र्यो। काम खासै छैन, के गर्ने के गर्ने भएपछि दोहोरी गीतको भिडियो बनाऔं भनेर सल्लाह गर्‍यौं। मार्केटिङ गर्न म्युजिक कम्पनीतिर धाउन थाल्यौं। धेरै धाएपछि भर्खरभर्खर सुरु भएको धौलागिरी क्यासेट सेन्टरले तीन हजार दिएर भिडियो निर्माण गर्न दियो। त्यो दिन हामी जति खुसी कोही थिएन होला।

भिडियो बनाएपछि कहाँ लगेर देखाउने भन्ने समस्या पनि थियो। नेपाल टेलिभिजनमा कुरा राख्यौं। त्यो बेला बिहान ७ बजेको समाचार सकिएपछिको पाँच मिनेटको समय किनेर एक–एक मिनेटको प्रोमो देखाएपछि त व्यापक भयो। त्यसपछि म्युजिक भिडियोको निर्माणको संख्या बढ्न थाल्यो। निरन्तर भिडियो निर्माण हुन थालेपछि कामले पनि निरन्तरता पायो र छायांकनको काममा व्यस्त बनायो। कृष्ण फिल्मस्ले नाम र दामको यात्रा तय गर्‍यो। समय कसैको साथमा नहुने रहेछ। २०६४ सालमा अति मिलनसार, सहयोगी, कृष्ण फिल्मस्का सञ्चालक साथी गोपाल बाँस्कोटाको असामयिक निधनले आज पर्यन्त पनि मन पोलिरहन्छ।

त्यो समयको प्राविधिक क्षेत्र, त्यसमा पनि यो महँगो प्राविधिक लाइन। अनि नेपालमा काम पाइन्छ, लगानी उक्सन्छ र यसबाटै जीविकोपार्जन गर्न सकिन्छ भन्ने कसरी लाग्यो ? 

युवा जोस थियो। टेलिभिजनहरूको सुरुवात भएर भिडियोका सामग्री उत्पादन भइरहेको समय पनि थियो। तर, त्यस्ता संस्थाबाहेक यसरी कार्यालय खोलेर प्राइभेट रूपमा काम गर्न कसैले आँट नै गरेको थिएन। जुन आँट हामी मिलेर गर्‍यौं। अहिले त लाग्छ, धन्न समयमा नै त्यो क्षेत्रलाई समाइएछ। जुन काम सुरु गरियो त्यो सफल पनि भयो। 

पहिले म यो क्षेत्रमा लाग्छु भन्ने त थिएन होला नि। दार्जिलिङमा ती प्रोटोग्राफर पर्यटकलाई नभेटेको भए कुन क्षेत्र अँगाल्ने सोच थियो ?
म पहिले भारतमा पढ्न जाँदा उता पनि चलचित्र हेर्थे। विदेशीले बनाएको डकुमेन्ट्री हेर्थें। त्यो समयसम्म मलाई नेपालमा पनि फिल्म हल बनाउँछु भन्ने लागेको थियो। हलमा चलचित्र देखाउने ठूलो सोच थियो। तर, जुन समय मैले ती पर्यटकलाई भेटेँ मेरो लक्ष्य फेरियो। नभेटेको भए अहिले पनि म कुनै चलचित्र हलको सञ्चालन हुनेथिएँ कि। 

सुरुवातमा टेलिभिजनमा कार्यक्रम अथवा म्युजिक भिडियो प्रसारण गर्न के गर्नुपथ्यो ? समय किनेर पनि आफ्ना सामग्री प्रसारण गर्नुभयो ?
नेपाल टेलिभिजनमा मिनेटको दरमा समय किन्नु पथ्र्यो। हामीले आधा घण्टाको समय किनेर हाम्रा उत्पादनलाई प्रसारण गरेका थियौं। आफैं उत्पादन, प्रचार र व्यवस्थापन खर्च जुटाउनेसम्म गरेको थियौं। सबै लगनशील भएर लाग्दा काममा गर्न पनि मजा आउँथ्यो।

क्यामेरालगायतका उपकरण धेरै महँगो पर्छ। त्यो समयमा आवश्यक सामग्री कसरी व्यवस्थापन गर्नुभयो ? सुरुको लगानीको याद छ ?
याद मजाले छ नि। मेरो एउटा जग्गा थियो। त्यो समयमा मैले साढे १० लाखमा जग्गा बेचेर क्यामरालगायतका उपकरणमा खर्च गरें। त्यसलाई भरपूर प्रयोग गरेर काम गर्‍यो। तर, समय 
मिलेर हो क्यारे, कहिल्यै यो पेसामा लाग्दा घाटा भएन। थकान लागेन। मज्जाले काम गरियो। यतिका वर्ष बितेछ। पत्तै भएन।

२०५२ सालमा जग्गा बेचेर क्यामेरा लगायतका उपकरणमा लगानी गर्दा घाटा पो होला कि भन्ने डर भएन ?

भिडियोको बजार छ भन्ने सोचेर नै मैले त्यो आँट गरेको हुँ। एक जना साथी हुनुहुन्थ्यो गोपाल बाँस्कोटा, उहाँले सरकारी डकुमेन्ट्री लिनुहुन्थ्यो। हामीले सरकारी विज्ञापन पनि धेरै 
छायांकन गरेका छौं। काम गर्न अल्छी गर्दैनथियौं। एकै दिनमा पाँच वटासम्म हामीले विज्ञापनको छायांकन पनि गरेका थियौं। आफैं खिच्ने, इडिट पनि आफैं गर्ने, निर्देशन र कहिलेकाहीँ स्क्रिप्ट पनि आफंै लेख्ने भएकाले समस्या भएन। खर्च उठ्यो। घाटाको बाटोमा हिँड्नै परेन। 

दोहोरी गीतको भिडियो खिचेर टेलिभिजनमा बजाउनुपर्छ। यसका दर्शक पनि छन्। यस्ता कार्यक्रम उत्पादन गर्नुपर्छ भनेर बानी पार्न त त्यो समय अलि गाह्रै थियो होला नि ? किनकि दर्शकको पहुँच पनि आजको जस्तो थिएन नि ?

सुरुमा हामीले के काम गर्ने भनेर सोच्यौं। त्यो समय टेलिभिजनको पहुँचमा नेपाली दर्शक अहिले जस्तो थिएनन्। तर, यस्ता लोकगीत र लोकदोहोरी पनि हेर्छन्। रमाइलो गर्छन् भन्ने सोच बनाएर हामीले ग्रामीण भाकालाई सधंै प्राथमिकतामा राखेर खिच्यौं। गीत अडियोमा निकाल्ने कम्पनीहरूलाई भिडियो पनि बनाउनुपर्छ भन्नेर बानी लगायौं। त्यसपछि टेलिभिजनमा समय किनेर बजाउन थालेपछि माग बढ्दै गयो। हामीलाई गीतको भिडियो बनाउनुपर्‍यो भनेर कामको लाइन नै लाग्यो। काम भ्याइनभ्याइ हुन थाल्यो। त्यसै समयको एउटा रोचक कुरा पनि सम्झन्छु– मैले ऋणमा मोटरसाइकल किनेको थिएँ। किस्ता तिर्नुपर्ने हुन्थ्यो। कामको चापले किस्ता बुझाउने समय पनि भुलेँछु। हाम्रो कार्यालयमा ऋणको रकम उठाउन आएका रहेछन्। 

म कार्यालय पस्दा बसिरहेका थिए। मैले त तपाईंहरूको कुन गीत पो हो भिडियो बनाउनुपर्ने भनेर सोधेछु। भरे हामी ऋणको रकम लिन आएका पो त भन्दा हाँसो भएको थियो। काम धेरै आउने भएकाले अन्य कुरा पनि भुलेर काममा लागेको थिएँ। पहिले डकुमेन्ट्री र दोहोरीको काम गरेका थियौं। पछि धौलागिरी क्यासेट सेन्टरका इन्द्र गिरी भन्ने साथ हुनुहुन्थ्यो। उहाँले अन्य गीतको पनि भिडियो बनाऔं भन्नुभयो। त्यसपछि धेरै म्युजिक भिडियो खिच्यौं। त्यो मेहनतले नै हो आज यो ठाउँसम्म पुर्‍याएको।

यो अन्तरालमा कति भिडियो खिच्नुभयो ? 
ठूलो पर्दाका जादगर २, जेसुकै होस्, नैना रेशम, टेलिचलचित्र चेली, शक्तिलगायत विभिन्न हेरिटेज वृत्तचित्र, विज्ञापन, सुुसेली, लोकसुसेली, लोकभाका टेलिभिजन कार्यक्रमलगायत झन्डै ६ हजारभन्दा बढी म्युजिक भिडियोको छायांकन गरेको छु। तर व्यावसायिक रूपमा खिचेको चाहीँ ३ हजार देखि ३५ सय जति हो। त्यसमा पनि धेरै म्युजिक भिडियो खिचेको छु। चलचित्र, डकुमेन्ट्री, टेलिसिरियल पनि धेरै सिरिज खिचियो। 

आफैंले बानी पारेको क्षेत्र, सुरुमा काम नै पाउन समस्या, पछि कामको चापाचाप, त्यसपछि यो क्षेत्रमा आम्दानी हुनेरहेछ भनेर कति युवाको आकर्षण बढ्यो ? 
पहिले हामी थोरै थियौं। पछि हामीले नै प्राविधिक धेरै उत्पादन गरेका हौं। यो क्षेत्रमा लाग्ने मेहनती पनि हुन्छन् र मेहनतको राम्रो फल पनि पाउँछन्। क्षमता हुनेले खाली हात बस्नु पर्दैन। पछिल्लो समय प्राविधिक क्षेत्रमा काम गर्ने अधिकांश हाम्रा उत्पादन छन्। पहिलेभन्दा अहिले त यो क्षेत्रमा आउने युवा ट्यालेन्ट छन्। पढेर बुझेर आएका पनि छन्।

क्यामरा चलाउँदाचलाउँदै आफैं मोडलिङ र निर्देशन पनि गर्नुभयो। त्यो रहर थियो कि आवश्यकता अथवा बाध्यता ? 
सबै कुराको मिश्रण थियो त्यो। एकपटक एउटा म्युजिक भिडियोको काम गरिरहेका थियौं। कलाकार नआउने भएपछि म आफैं मोडलिङ गर्छु भनेर आँट पनि गरेको थिएँ। क्यामरा रेडी गरेर मेकअप आर्टिस्टलाई खिच्न लगाएँ पनि। तर, त्यो भिडियो सोचेभन्दा हिट भयो। त्यसपछि दर्जनौं गीतमा मैले पनि मोडलिङ गरें। निर्देशन गरें । तर, मेरो लगाव भने छायांकनमा नै सधैं रह्यो। भरिया दाइ, मोहनी बोलीमा, मायाले मार्‍यो, काली पारे दाइलगायत धेरै गीतमा मैले मोडलिङ गरेको छु।

सुरुमा खिचेको म्युजिक भिडियोको याद छ ?
इलाममा सुटिङ गरेका थियौं। गीत चाहिँ ठ्याक्कै याद भएन। 

कतिको लामो म्युजिक भिडियोहरू हुन्थ्यो ?
अहिले जस्तो ४÷५ मिनेटको कमै थिए। दोहोरी र अन्य गीत पनि २० मिनेटसम्मको त बनायौं। सुटिङ लामैं हुन्थ्यो। गायक—गायिकाहरूले पनि आफ्ना गीतलाई भिडियो बनाउँ भनेर धेरै आउनुभयो। हामी क्युमा राखेर काम गथ्यौं। लगानी कम्पनीले गथ्र्यो। भीसीडी धेरै धौलागिरी क्यासेड सेन्टरले बनाएको थियो त्यो समय। 

पहिलो आम्दानी कति भएको थियो ?
 एउटा म्युजिक भिडियो बनाएको तीन हजार रुपैयाँ पाएका थियौं। धेरै खुसी भएका थियौं त्यो समय। 

यो प्राविधिक क्षेत्रमा काम गर्दा एउटा भोग्ने समस्या हो – समय अनुकूल प्रविधिमा लगानी गर्नुपर्ने। लगानी गर्न नसके प्रतिस्पर्धा गर्न समस्या। समयअनुसारको प्रविधि भित्र्याउँदै टिक्न अतिको गाह्रो रहेछ ?
नयाँनयाँ प्रविधि आइरहन्छन्। अझै यो भिडियोको क्षेत्रमा धेरै उपकरण चाँडै आइरहन्छ। क्वालिटीको कुरा हुन्छ। त्यसमाथि महँगा क्यामरा र अन्य ग्याजेट। तर, आफ्नो कामको मूल्य निर्धारण गर्दै बजारमा आए त्यस्ता उपकरण किन्न र प्रयोगमा ल्याउन त समस्या छैन।

  •      मेरो एउटा जग्गा थियो। २०५२ सालमा मैले साढे १० लाखमा जग्गा बेचेर क्यामरालगायतका उपकरणमा खर्च गरें। त्यसलाई भरपूर प्रयोग गरेर काम गरें।
  •      २०५२ सालतिरै वैदेशिक रोजगारसम्बन्धी वैदेशिक रोजगार, सूचना र समाचार कार्यक्रम निर्माण गर्न थालेका थियौं। त्यसपछि म्युजिक भिडियो बनायौं। अनि कामको लाइन लाग्यो।
  •      भर्खर–भर्खर सुरु भएको धौलागिरी क्यासेट सेन्टरले २०५२ सालमा तीन हजार दिएर भिडियो निर्माण गर्न दियो। त्यो दिन हामी जति खुसी कोही थिएन होला सायद।
  •      त्यो समय कार्यालय खोलेर प्राइभेट रूपमा काम गर्न कसैले आँट नै गरेको थिएन। जुन आँट हामी मिलेर गर्‍यौं। अहिले त लाग्छ, धन्न समयमा नै त्यो क्षेत्रलाई समाइएछ।
  •      झन्डै ६ हजारभन्दा बढी म्युजिक भिडियोको छायांकन गरेको छु। तर, व्यावसायिक रूपमा खिचेको ३ हजार देखि ३५ सय जति हो।
  •      प्राविधिक क्षेत्र भएकाले समय अनुकूल चल्नै पर्छ। प्रविधिलाई पछ्याउन सकिएन भने पछि परिन्छ। तर, म कहिल्यै पछि परेको छैन। 


नेपालको बजार, लगानी गर्नेको अवस्था र माग गरेको क्वालिटीअनुसार मात्रै सामान प्रयोग गर्छौं। विश्वका अन्य देशजस्तो प्रविधि त यहाँको बजार र लगानीकर्ताले पनि धान्न सक्दैन। त्यसैअनुसार हामीले पनि सोच्ने हो नि। हामी भाडामा लिएर काम गर्दैनौं। सकेको अपग्रेट गर्दै लैजान्छौं। अहिले त हामी बजारको मागअनुसारका सामान भाडामा समेत लगाउन सफल भएका छौं। 

प्रविधिको विकास भइरहँदा नयाँ सामग्री भित्र्याऔं भन्ने त सोच हुन्छ। तर, बजारले धान्दैन भनेर सीमित साधनमा खुम्चनुपर्दा आफैं कुँजिए जस्तो लाग्दैन ? अन्य देशका प्राविधिक र प्रविधिको विकास हेर्दा ?

लाग्न त लाग्छ नि। तर, घाँटी हेरेर हाड निल्नुपर्छ भन्छन्। सामान जोडेर मात्रै भएर प्रयोगमा आएन भने घाटा हुन्छ। त्यसैले नेपालको माग र बजारअनुसार मात्रै हामी फिट हुँदै आएका छौं। मागजस्तो छ त्यस्तै दिँदै र अन्य नयाँलाई क्रमश 
भित्र्याउँदै जाने सोच हो। 

धेरैको सुरुवाती अवस्था गाह्रो हुन्छ भन्छन्। त्यसमा पनि चलचित्र क्षेत्रका कलाकारको अवस्था सुन्दा अझै धेरै मेहनत गर्नु परेको सुनिन्छ। तर, यो प्राविधिक लाइन, त्यसमा पनि क्यामरा समाएर काम गर्ने तपाईं जस्ताको संघर्षका दिनमा आम्दानीको दुःख कम हुने रहेछ है ?

हामीले आम्दानीका लागि धेरै दुःख गर्नु परेन। समय चिन्न सकेर पनि हुन सक्छ। अर्को कुरा काममा रमाएर भिज्न सकियो भने अवश्य मीठो फल त पाइन्छ नि। तर, कलाकारमा भने अलि समस्या नै छ। अहिले त कुनै गीतमा आफैं लगानी गरेर मोडलिङ गरेको देख्छु। त्यस्तो हुनका लागि त पैतृक सम्पत्ति वा परिवारको आम्दानीको स्रोत मजबुत हुनुपर्‍यो। त्यो क्षेत्रमा रहरले लाग्दा घाटा छ। तर, यो प्राविधिक क्षेत्रमा त्यो छैन।

आम्दानी पनि राम्रो छ। यहाँबाट बरु अन्य कलाकारिता क्षेत्रमा गएकाहरू धेरै छन्। सबै ज्ञान भएकाहरू प्राविधिक क्षेत्रमा भए कहिले दुःख भोग्नु पर्दैन। 
यो कुरा म ठोकुवा गरेर भन्न सक्छु। किनकि मैले भोगेको कुरा हो नि।

कुनै समय यो छायांकनलाई छाडेर मोडल बनौं जस्तो लागेन ?
मोडल पनि बने। धेरै अभिनय गरेका मेरा म्युजिक भिडियो हिट पनि छन्। तर, क्यामराबाट मेरा हात छुटेनन्। मेरो लगाव छायांकनमा नयाँ के गर्न सकिन्छ भन्ने नै रह्यो सधैं। मेरो त्यो चलचित्र हल बनाउँछु भन्ने पहिलेको सोचबाहेक सबै इच्छा यो क्षेत्रले नै पूरा गरेकाले दायाँबायाँ गरिन।

यो कामले सम्मान दिएको छ भन्ने लाग्छ ? 
सबैभन्दा पहिले त कामलाई सम्मान गर्न सिक्नुपर्छ। यसले नै नेपालका त प्रायः सबै ठाउँ पुग्ने अवसर मिलायो। विभिन्न देशमा पुगेर पनि काम गरेको छु। यसै कामले टेली अवार्ड २०६८ मा सर्वोत्कृट म्युजिक भिडियो निर्देशकको अवार्ड पाएँ। अन्य विभिन्न पुरस्कार तथा सम्मान पनि पाएको छु।

१२औं विन्ध्यवासिनी अवार्ड २०७८ मा सर्वोत्कृष्ट छायांकारको अवार्ड प्राप्त गरेँ। विभिन्न रियालिटी सो, प्रतियोगिताहरूमा निर्णायकको भूमिका निर्वाह गर्ने मौका मिलिरहन्छ। यसलाई नै त सम्मान भन्ने होला नि हैन र ? 

अहिले केको छायांकन गरिरहनु भएको छ ?

विभिन्न म्युजिक भिडियोको काम छन्। केही च्यारिटी सोको लागि बाहिर पनि जानु पर्नेछ। चलचित्रका केही काम पनि लाइनमा नै छन्। अहिले पनि खाली हात छैन। 

चलचित्र एउटा विशाल क्षेत्र हो। त्यसभित्रको मुख्य पाटोलाई नै तपाईंहरूले काँध हाल्नु भएको छ। कति तपाईंले खिचेका कलाकार हिट भए। आफू पर्दा पछि काम गरेर हेरिरहँदा चलचित्र क्षेत्रभित्र प्राविधिकलाई हेर्न दृष्टिकोण कस्तो पाउनु भएको छ ? 

सबै कुरा टिम र मानिसको व्यवहारमा भर पर्ने रहेछ। नयाँ पुराना सबै कलाकार, निर्देशक, वितरक, उत्पादक, लगानीकर्तासँग काम गर्नुपर्छ। अहिलेसम्म यो सम्मानजनक पेसाकै रूपमा हामीले अड्याउन पाएका छौं। यो गर्वको कुरा पनि हो। प्राविधिक लाइनलाई हेर्ने यो क्षेत्रमा दृष्टि राम्रो पाएको छ अहिलेसम्म। 

हरेक क्षेत्रमा प्रतिस्पर्धा छ, पहिलेभन्दा अहिले काम पाउन समस्या छ कि अझै सहज ?
पुरानो टिम भएर पनि होला र समय अनुकल प्रविधि र क्षमता लगाए पनि होला काम पाइरहेका छौं। धेरैजनासँगको लिंक र सहकार्यले पनि काम पाउन अहिले पनि समस्या छैन। तर, यो यस्तो क्षेत्र हो अल्छी र ढिलोपन चाहिँ 
गर्नै हुँदैन।

प्राविधिक क्षेत्रमा आउन चाहने युवालाई के सुझाव दिनुहुन्छ ?
पढेर आउनुहोस्। बुझेर आउनुहोस् रा मेहनत गर्नुहोस्। यो क्षेत्रमा मेहनत गरे लाइफ सुन्दर छ भन्छु। तर, अब बुझ्नुपर्ने के कुरा हो भने हामीले छायांकनमा प्राकृतिक कुरालाई भने कहिले पनि छाड्नु हुँदैन। सुन्दर ठाउँ देखाउनु पर्छ र त्यसलाई कलात्मक रूपमा क्यामरामा कैद गर्न पछि पर्नु हुँदैन, अल्छी गर्नु हुँदैन नै भन्छु म। 

अबको लक्ष्य के छ ?
अब पनि यो क्षेत्रमा नै काम गर्ने हो। नयाँ प्रविधि भित्र्याएर दर्शकलाई नयाँ टेस्ट दिने नै हो।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.