प्रदेश २ मा जसपाका ११ सांसदले रोजे लोकतान्त्रिक समाजवादी

जनकपुरधाम : जसपाबाट अलग भएर दर्ता भएको महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका लागि प्रदेश २ का प्रदेशसभा सदस्यहरुले बुधबार सनाखत गराएका छन् । बुधबार जनता समाजवादी पार्टी (जसपा) छोडेर नयाँ पार्टीमा प्रवेश गरेका प्रदेश २ का प्रदेशसभा सदस्यहरुले निर्वाचन आयोगको कार्यालय पुगेर सनाखत गराएका हुन् ।
निर्वाचन आयोगले नयाँ दलमा जान चाह्ने जनप्रतिनिधिहरुलाई भदौ १ गतेदेखि भदौ २२ गतेसम्मको समय दिएको छ । लोसपाको पक्षमा जसपा छोडेर ११ जना प्रदेशसभा सदस्यहरुले सनाखत गराएका हुन् । बाँकी रहेका प्रदेशसभा सदस्यहरुले बिहीबार सनाखत गराउने लोसपाका नेता जितेन्द्र सोनलले जानकारी दिए ।
लोसपाको पक्षमा सनाखत गर्ने प्रदेशसभा सदस्यहरुमा सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, अलका झा, गौरीनरायाण साह, जानकीशरण साह, परमेश्वर साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह र उपेन्द्र महतो रहेका छन् ।
जितेन्द्र सोनल, अभिराम शर्मा लगायतका प्रदेशसभा सदस्यहरुले बिहिबार सनाखत गराउने जनाइएको छ । प्रदेश २को प्रदेशसभामा तत्कालिन समाजवादी पार्टीबाट ३० र तत्कालिन राजपाको तर्फबाट २५ गरी जसपाको कुल ५५ प्रदेशसभा सदस्यहरु रहेको थियो ।
प्रतिक्रिया दिनुहोस !
