परदेशको दसैं
चन्द्र गुुरुङ
आज दसैंको महाअष्टमीको दिन हो । साथीहरूले खसी काट्ने योजना बनाएका छन् । घरदेशदेखि टाढा भए पनि गल्फमा नेपालीहरूलाई दसैंको रन्कोले गजब छुुन्छ । हाम्रो क्याम्पमा बिहानैदेखि चहलपहल छ । यो वर्षको दसैं मनाउन एउटा खसी किनेर ल्याएका छन् । कोल्ड स्टोरको फ्रोजन चिकेन र मटनको भोज भतेर त सधैं नै चलिरहन्छ । तर चाडपर्वमा खसी नै काट्न रुचाउँछन् । साथीभाइको समूह, तात्तातो भुुटनको साथमा चिरिप्प चिरिप्प रक्सी या बियरको चुुस्की तथा नाचगानमा हुुने रमझमले चाडपर्वमा मस्ती थप्छ । परदेशमा एकसाथ मिलेर गरेको खानपिनले बेग्लै आनन्द दिन्छ ।
चाडपर्व त एउटा बहाना हो, दैनिकीको थकान र भौगोलिक हिसाबले टाढा हुुनुुको पीडा मेट्न । कुुन धर्मावलम्बीको चाड हो वा कुुन चाहिँ समुुदायको उत्सव हो, खासै फरक पर्दैन । मुुस्लिमको ईद होस या क्रिश्चियनको न्युु इयर र क्रिसमस वा हिन्दुुहरूको दसैंतिहार यस्ता मौकाहरूमा रमाइलो गर्ने माहोल तयार भइहाल्छ । नेपाली संघ संगठनहरूले अनेक कार्यक्रमको आयोजन गर्छन्, भलिबल या फुुटबल टुुर्नामेन्ट हुुन्छन् । प्रायः हरेक बिदा, विशेष वर्षमा दुुई पटक आउने ईद, नेपालीको दसैंतिहार र नयाँ वर्षमा नेपालबाटै गायक तथा कलाकार झिकाएर सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम गर्ने चलन छ । नाचगान र कमेडीले कार्यक्रमलाई रमाइलो बनाउँछ । उल्लासमय क्रियाकलापले परदेशको नियास्रोपन घटाउँछ र जीवनमा केही ऊर्जा थप्छ ।
साथीहरू बिहानैदेखि व्यस्त छन् । आजको काम भनेकै खानपिन र रमाइलो गर्ने हो । किचनबाहिरको खुुला ठाउँमा खसी बाँधिएको छ । एकजना साथीले मार हान्ने भयो । कोही ठूलो भाँडोमा पानी तताउँदै छन् । मासुुका लागि साथीहरू प्याज, गोलभेंडा काट्दै छन् । साथीहरूले काटिएको खसीमाथि तातोपानी खन्याउँदै सफा गर्न थाले । सफा गरिएको खसीमाथि बेसार दलेपछि हेदाहेर्दै खसीको स्वरूप नै फेरियो । मासुु काटकुुट गर्दै अनेक गफ पनि निस्किँदै छन् । हुुन त मनको कुुनै कुुनामा चाडपर्वमा परिवारजनसित भेटन नपाएको पीडाले सर्पझैं डस्छ । देश फिर्न नपाएको दुुःख छँदै छ । केहीले बिदा माग्दा पनि नपाएका होलान् । यी मनहरू चाडपर्वमा आआफ्नो गाउँघर पुुगिसकेका छन् ।
वास्तवमा, परदेश सजिलो छैन । आफू जन्मेको हुुर्केको माटोदेखि पर रहेर बाँच्नुु पर्ने पीडाले हरेक पल मनलाई चिमोट्छ । चाडपर्वको बेलामा आफ्नै घरपरिवार र आफन्तजनदेखि टाढा हुुनुुको व्यथाले रुवाउँछ । खोला किनार र बेंसीतिर खेतहरूमा हरियो धान लहलह झुुलेको तस्बिर मनमस्तिष्कमा कोरिन्छन् । चिटिक्क लिपिएको पिँढी, आँगन र कमेरो माटोे पोतिएको घरको झझल्को आउँछ । चाडपर्वमा टाढाटाढाबाट इष्टमित्र तथा पाहुुनाहरू आउँछन् । यी यस्ता माहोलदेखि टाढा परदेशको शून्यताले मन खल्लो बनाउँछ ।
परदेशमा दैनिकीलाई कामले नै पेल्छ । तर मानसिक र शारीरिक तनावलाई कम गर्न रमाइलो कार्यक्रमहरूको आवश्यकता हुुन्छ । सब मिलेर तयारी गर्छन् । जोरजाम गरिन्छ । साथीहरूले कोठालाई फराकिलो बनाएका छन् । केही सामानहरू खाटमुुनि धकेली दिएका छन् । केही सामानलाई अलमारीमाथि पुु¥याइएको छ । भुुइँमा १०, १५ जना सजिलै अट्ने स्पेस बनेको छ । यहीबेला किचनबाट भुुटन तयार भइसकेको संकेत आउँछ । कुुक र खाना पस्किने साथीहरूबाहेक अन्य सब भुुइँमा बसिसकेका छन् । सबको अगाडि प्लास्टिकको प्लेटमा भुुटन छ । आजकै लागि भनेर ल्याएको बियरका कार्टुुनहरू बाहिर निस्कन थाल्छन् । हातहातमा बियरको चिल्डकैन छन् । प्लेटहरूमा अनेकथरी सलाद सजिएका छन् । पापडको कडक सुुगन्ध नाकको डन्डीमा ठोकिन्छ । साथमा मुुखै रसाउने सेलरोटी र चटनी छन् ।
अब त खानपान ढिलो गर्ने कुुरै छैन । चियर्स गर्दै कार्यक्रमलाई सुुरु गरिसकेका छौं । कोठामा मादकता थपिएको छ । साथीहरू दुुनियाँ थरिका गफ गर्छन् । ख्यालठट्टा चल्छ । सब रमाइरहेका छन् तर मन पक्कै गाउँघरतिर परिवारजनको यादमा अल्झेको हुुनुुपर्छ । कल्पनामा गाउँ वरिपरिका घमाइला पाखाहरू फैलिएका छन् । यस्तो रमाइलोदेखि टाढा चाडपर्वको समयमा परदेशमा हुुनुु भनेको दुुःखै हो ।
रहर होइन बाध्यता हो । घाँस–दाउराको चटारो हुुन्न दसैंतिहारको बेला । बनजंगलतिर उकाली चढ्नुु पर्दैन । बेंसीतिर मेलापातमा सामेल हुुन ओरालो झर्नुु पर्दैन । दिनहरू फुुर्सदिला हुुन्छन् । वन, खेत, डाँडाकाँडा हरिया देखिन्छन् । सब दसैंतिहारको स्वागतमा उभिएका लाग्छन् । यस समयमा परदेशीको मनको चरी उडेर आफ्नो गाउँघर र घरआँगनमा नपुुग्ने कुुरै छैन ।
यसबेला कोठामा दसैंको स्वागतमा माहोल तातिँदै छ । साथीहरूका अनुुहार राता भइसकेका छन् र आँखाहरू लोलाउँदैछन् । बोलीहरू लर्खराउँदैछन् । सब मस्त देखिन्छन् । एकजना भाइले आफ्नो स्मार्टफोनमा गीत बजाउन थाल्यो, ‘कुुटुुमा कुुटुु सुुपारी दाना, कुुटुुमा कुुटुु,’ साथीहरू कम्मर मर्काउँदै नाच्न थाले । गल्फको गर्मी त्यसमाथि डान्सको उन्माद । सब नाचगानमा डुुबेका छन् । निधारबाट पसिनाको खोलो बगेको छ । एउटा गीत सिद्धिएपछि अर्को गीत बज्दै छ, ‘वारि जमुुना पारि जमुुना ।’ थाकेर बसेका साथीहरू नाच्नलाई फेरि जुुर्मुुराउँदै उठेका छन् । कोठा थर्किएको छ तर कसैलाई मतलव छैन । सब आफ्नै तालमा छन् ।
नाचगानको साथसाथै खाना पनि रेडी भइसकेको छ । खाना खाएर कोही सांगीतिक कार्यक्रमतिर त कोही भलिबल म्याच हेर्न जानेछन् । कोही चाहिँ कोठामै गीत सुुन्दै र तास खेल्दै बस्नेछन् । चाडपर्वको बेलामा देश फिर्न नपाएकाहरू नरमाइलो अनुुभव गर्छन् । टीकाको दिन निधारहरू खाली रहन्छन् । कानमा जमरा सिउरिन पाउँदैनन् । यिनका बालबच्चाहरूले परदेशी बाआमाको आशीर्वाद थाप्न पाउँदैनन् । मनभरि घरपरिवारसित बसेर खुुसी साट्न नपाएको दुुःखको हावाहुुरी चल्छ । यस्ता पीर घटाउन साथीहरू भेला भएर खानपिन गर्न रुचाउँछन् । कुुनैकुुनै देशमा राजदूतबाट अनि कतै आफ्नै क्याम्पतिर उमेर पुुगेको दाइहरूबाट टीका थापेर आशीर्वाद लिन्छन् । यस्ता भेटघाटले कामको एकोहोरो रुटिनमा पिल्सिएको परदेशी मनमा केही उल्लास भरिन्छ । खुुसीको लहर चल्छ ।
परस्पर मित्रता, सहयोग र एकताको अभावमा यस्ता जमघटहरू सम्भव नै हुुँदैनन् । भेटघाटले आपसी सम्बन्धलाई अझै कसिलो पार्छ । दिनैभरि साथमा काम गर्ने साथीहरू हुुन्छन् । साथमा सुुखदुुःख बाँड्छन् । सामूहिक प्रोग्रामहरूले यी साथीभाइमाझ उत्साह तथा सकारात्मक सोचको अंकुुरण गर्छ । संवेदनाको जरा गहिरो सल्बलाउँछ । भेटघाटहरूले नियास्रोपनको अग्लो होचो झ्यांङ छिचोल्दै खुुसीयालीको सुुन्दर फाँटमा ल्याई पुु¥याउँछन् । मौजमस्तीको माहोल बन्छ । सधैं काममा पेलिनेहरूले एकसाथ केही आत्मीय पलहरू बिताउने अवसर पाउँछन् । यी चाडपर्वहरू बन्धुुत्व तथा एकताका द्योतक हुुन् । यिनले सामाजिक सहिष्णुुताको माहोल सिर्जना गर्छन् ।
बिस्तारै बालुुवाको पहाडमाथिबाट साँझको घाम ओरालो ढल्किन्छ । भलिबल म्याच हेर्न गएका साथीहरू पनि फर्किसकेका छन् । कुुन टिमले जितेको र कुुनले हारेको बेली बिस्तार लाउँछन् । कोठामै तास खेल्न बसेका साथीहरू पनि खालबाट उठिसकेका छन् । सांगीतिक कार्यक्रम अबेलासम्म चल्ने हुुँदा हेर्न गएका साथीहरू भने मध्यराततिर या भोलिको बिहान मात्रै फर्किनेछन् । यस्तो रमाइलो बेगर परदेश स्वादहीन र बिरानो छ । अहिले साथीहरू नाचगान र घुुमफिरको थकानलाई कम गर्न सुुत्ने तयारीमा छन् । भोलि उही चिरपरिचित घाम उदाउनेछ । बिहानै कामतिर लाग्नुुपर्छ ।
००
प्रतिक्रिया दिनुहोस !