विज्ञापन बजारमा पारदर्शिता
आचारसंहिता आफैंमा कानुन होइन, यो नैतिक बन्धन हो। जुन सामाजिक मूल्य र मान्यतामा आधारित हुन्छ। जसको पालना नगर्दा सामान्य खालका कारबाही भए पनि नैतिकतामाथि प्रश्न उठ्ने गर्छ। विज्ञापन आचारसंहितासमेत त्यसैमा आधारित भएर तयार गरिएको छ। जसको पालना नगर्दा हुने सामाजिक क्षतितर्फ भने सचेत रहनुपर्ने देखिन्छ। विज्ञापन चक्रमा विज्ञापनदाता, विज्ञापन एजेन्सी, सञ्चारमाध्यम, उपभोक्ताका साथै सरकारसमेत गरी पाँच पक्षको सहभागिता हुन्छ। तिनै सरोकारवालासँगको व्यापक छलफल र सुझावपछि विज्ञापन बोर्डले आचारसंहिता जारी गरेको हो।
यसकारण विज्ञापन क्षेत्रका विकृति र विसंगतिलाई नियमन गर्न नेपालमा पहिलो पटक विज्ञापनको आचारसंहिता जारी भएको छ। विज्ञापनले व्यावसायिक रूप लिएको झन्डै तीन दशकपछि जारी भएको विज्ञापन ऐन र सोही ऐनबाट गठन भएको विज्ञापन बोर्डले आचारसंहिता जारी गरेको हो। सरोकारवालासँगको व्यापक छलफलपछि सबैको साझा दस्तावेजको रूपमा आचारसंहिता जारी भएकाले विज्ञापन व्यवसायमा संलग्न सबैले यसको कार्यान्वयनमा ध्यान दिनु आवश्यक छ।
विज्ञापन बजारका मुख्य समस्या
नेपालको विज्ञापन बजार अहिलेसम्म नियमनको दायरामा समेटिएको थिएन। नियमनको अभावको कारण विज्ञापन बजारमा अनेकौं विकृति र विसंगति देखा परे। नियमक निकाय र कानुनको अभावमा त्यस्ता समस्या बढ्दै गए। २०७६ सालमा संसद्ले पहिलोपटक विज्ञापन (नियमन गर्ने) ऐन बनाउँदै विज्ञापन बोर्ड गठन भयो। त्यसपछि मात्र विज्ञापन बजारको नियमनको कार्य प्रारम्भ भएको हो। आमसञ्चारका माध्यमहरूमा हुने विज्ञापन, स्थलगत विज्ञापन जसलाई होर्डिङ बोर्डसमेत भन्ने गर्छौं। डिजिटल माध्यममा हुने विज्ञापनका साथै चलचित्र हलहरूमा प्रदर्शन हुने विज्ञापनलाई नियमन गर्नुपर्ने दायित्व विज्ञापन बोर्डमा छ।
कस्ता विज्ञापन प्रकाशन तथा प्रसारण हुन पाउने, विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारण गर्दा गर्न हुने र नहुने कुरा के हुन्जस्ता विषय स्पष्ट थिएनन्। विज्ञापन ऐनले यी विषयलाई स्पष्ट गरिदियो भने आचारसंहिताले थप पुष्टि गरेको छ। नेपालमा विदेशी विज्ञापनको प्रभावलाई कम गर्ने, विज्ञापन बजारको विकास र विस्तार गर्ने जस्ता काम अझै हुन बाँकी छन्। विज्ञापन र प्रवद्र्धनलाई एकै ठाउँमा राखेर हेर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेजस्ता कार्य बोर्डले गर्नु पर्नेछ।
समग्र विज्ञापन बजार, त्यसले राजस्व तथा कुल गार्हस्थ्य उत्पादनमा गरेको योगदानको अध्ययन हुन बाँकी छ। विज्ञापन बजारलाई पारदर्शी र मर्यादित बनाउनुका साथै विज्ञापन व्यावसायीको क्षमता विकास गर्ने, उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्नेजस्ता काम बोर्डले गर्नु पर्नेछ। बोर्ड स्थापनाको एक बर्ष पूरा भएको र त्यसले कार्य प्रारम्भ गरिसकेको अवस्थामा विज्ञापनको आचारसंहिता जारी हुनुलाई महŒवपूर्ण कदमको रूपमा लिइएको छ।
विज्ञापन व्यवसायले संगठित रूप लिएको तीन दशकको यस अवधिमा देखिएका विकृति र विसंगतिहरूलाई कम गर्न आचारसंहिता निर्माण भएको हो। कुनै पनि सञ्चारमाध्यम आफैंले निर्धारण गरेको दररेटमा टिक्न नसक्नु, विज्ञापन एजेन्सी र विज्ञापनदाताले तोकेको दररेटमा सञ्चारमाध्यमहरू विज्ञापनको कारोबार गर्न बाध्य हुनु र गर्नु, विज्ञापनदाता र विज्ञापन एजेन्सीसमेतले गरेको कारोबारको अनुगमन गर्ने निकाय नहुनुजस्ता कारण विभिन्न समस्या देखा परे। ती समस्याहरूको समाधानको पहलस्वरूप विज्ञापनको आचारसंहिता जारी भएको हो। यो आचारसंहिताका मुख्य विशेषता यस प्रकार छन् :
विज्ञापन बोर्डको जानकारीमा रहने व्यवस्था
आचारसंहिताले विज्ञापनको कारोबार गर्ने सञ्चारमाध्यम तथा विज्ञापन एजेन्सी विज्ञापन बोर्डमा सूचीकरण हुनुपर्ने व्यवस्था गरेको छ। यस व्यवस्थाले पटके रूपमा प्रकाशन हुने पत्रपत्रिकामा जाने विज्ञापनलाई नियन्त्रण गर्न खोजिएको छ भने समग्र विज्ञापन बजारको नियमनका लागि मार्ग तयार हुनेछ।
चालू आर्थिक वर्षबाटै विज्ञापन बोर्डमा सूचीकृत भएरमात्र कारोबार गर्नु र गराउनु पर्ने व्यवस्थालाई कडाइ गरिनेछ। बोर्डमा सूचीकृत नभएका सञ्चारमाध्यम तथा विज्ञापन एजेन्सीसँग कारोबार नगर्न विज्ञापनदातालाई अनुरोध गरिएको छ। यस व्यवस्थावाट विज्ञापन कारोबारलाई नियमन गर्न सहज हुनेछ।
पारदर्शितासम्बन्धी व्यवस्था
पारदर्शितालाई विज्ञापन आचारसंहिताले मुख्य प्राथमिकतामा राखेको छ। सञ्चारमाध्यमको दररेट अपारदर्शी हुनु, हचुवा र प्रतिस्पर्धी सञ्चारमाध्यमको दरको आधारमा आफ्नो दर निर्धारण गर्नु परेको छ। व्यवसाय गुम्ने नाममा जतिसुकैमा पनि विज्ञापन प्रकाशन तथा प्रसारण गर्न तयार हुनु र सञ्चारमाध्यमको यही कमजोरीका कारण विज्ञापनदाता तथा एजेन्सी आफैंले सञ्चारमाध्यमको दर निर्धारण गर्नेसम्मको अवस्था सिर्जना हुन पुग्यो। यो समस्या समाधानका लागि आचारसंहिताले सञ्चारमाध्यमले आफ्नो दररेट सार्वजनिक गर्नुपर्ने, उक्त दररेट विज्ञापन बोर्डमा समेत पठाउनुपर्ने र तोकिएको दररेट र छुटको सीमाभित्र रहेर कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ। साथै त्यस्तो नगर्ने सञ्चारमाध्यमको कारोबार समेतलाई रोक्का राख्न सक्ने व्यवस्था आचारसंहितामा गरिएको छ।
पत्रपत्रिकाको वर्गीकरण प्रेस काउन्सिल नेपालले गर्दै आए पनि वितरणको यथार्थ विवरण हेर्ने वैज्ञानिक आधार नेपालमा छैन। टेलिभिजनको मूल्यांकन गर्ने आधार नभएका कारण प्रसारण प्रविधिलाई नै आधार मान्ने गरिएको छ। विश्वमा पत्रपत्रिकाको पहुँच तथा टेलिभिजनको दर्शक विवरण नियमित रूपमा सार्वजनिक हुने र त्यसैको आधारमा विज्ञापनको दर निर्धारण हुने गरेको छ। नेपाल त्यसतर्फ उन्मुख हुनुपर्ने र त्यो व्यवस्था नभएसम्मको लागि अल्पकालीन व्यवस्था आचारसंहिताले गरेको छ।
आचारसंहिताको व्यवस्थाले विज्ञापन बजारमा ९० प्रतिशतसम्म छुट लिने दिने वा पूरा दरमा विज्ञापनदाताबाट विज्ञापन प्रकाशन तथा प्रसारणको खर्च लेख्ने र बीचमा हराउने प्रवृत्ति छ। त्यसलाई निरुत्साहित गर्न विज्ञापन एजेन्सीले विज्ञापनदातालाई बिल गर्दा सञ्चारमाध्यमको बिलको प्रतिलिपि संलग्न गरी आफूले पाउने कमिसनको रकम अलग्गै देखिने गरी बिल गर्नुपर्ने व्यवस्था गरिएको छ। यसलाई कडाइका साथ पालना गर्न गराउन महालेखा परीक्षकको कार्यालय तथा लेखापरीक्षक आदिलाई अनुरोध गरिएको छ।
भुक्तानीसम्बन्धी व्यवस्था
विज्ञापनदाता तथा विज्ञापन एजेन्सीले समयमा भुक्तानी नगर्ने र एजेन्सीले लामो समयसम्म भुक्तानी नगरी भुक्तानीको बेला थप छुट माग्नेजस्ता विकृति विज्ञापन बजारको अर्को र प्रमुख विकृति हो। यसको निराकरणका लागि भुक्तानीसम्बन्धी केही व्यवस्था मिलाइएको छ। विज्ञापनदाता, विज्ञापन एजेन्सी र सञ्चारमाध्यमबीच त्रिपक्षीय सम्झौताको आधारमा कारोबार गर्ने र त्यस्तो कारोबारमा सम्झौतामा उल्लेखित अवधिमा भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।
सम्झौता नभई कार्यादेशको भरमा विज्ञापन प्रकाशन वा प्रसारण भएको भए विज्ञापनदाताले एक महिनाभित्र र विज्ञापन एजेन्सीले सञ्चारमाध्यमलाई दुई महिनाभित्र भुक्तानी गर्नु पर्ने व्यवस्था गरिएको छ। नगद छुट अग्रिम भुक्तानीमा मात्र लिन दिन पाउने र समयमा भुक्तानी नगर्ने विज्ञापनदाता र विज्ञापन एजेन्सीको कारोबार बोर्डले रोक्का राख्न सक्ने व्यवस्था आचारसंहितामा छ। भुक्तानी प्राप्त गर्न कठिनाइ भएमा त्यस्ता विज्ञापन एजेन्सी तथा सञ्चारमाध्यमले बोर्डमा उजुरी दिन सक्ने र बोर्डले छानबिन गरी आवश्यक निर्देशन दिने व्यवस्था गरिएको छ।
विज्ञापन उत्पादनसम्बन्धी व्यवस्था
विज्ञापन उत्पादन गर्दा मौलिकता, सिर्जनशीलता तथा व्यावसायिकतालाई प्रोत्साहन दिने, विज्ञापन शिष्ट र मर्यादित हुनु पर्ने, अरूको नक्कल गर्न नपाउने व्यवस्था पनि गरिएको छ। विज्ञापनदाताको परिचय खुलेरमात्र विज्ञापन गर्न पाउने, दोहोरो अर्थ लाग्ने वा भ्रम सिर्जना गर्ने खालका विज्ञापन गर्न नपाउने, विज्ञापन उत्पादन गर्दा सिर्जनात्मक कार्य गर्ने एजेन्सीमार्फत गराउनु पर्ने नियम छ। महिलालाई यौन, भोग्य वस्तु, विलासिता वा मनोरञ्जनको साधनको रूपमा विज्ञापनमा प्रयोग गर्न नहुने, महिलालाई पुरुषको तुलनामा कमजोर पात्रको रूपमा प्रस्तुत गर्न नहुनेजस्ता प्रावधान आचारसंहितामा छ। बालबालिकाको शारीरिक वा मानसिक विकासमा आघात पुग्ने गरी विज्ञापन उत्पादन गर्नु गराउनु नहुने व्यवस्था पनि छ। उपभोक्ताको हित तथा जनस्वास्थ्यमा प्रतिकूल हुने गरी विज्ञापन सामग्री उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी व्यवस्थासमेत छ।
विज्ञापन प्रकाशन तथा प्रसारणसम्बन्धी व्यवस्था
विज्ञापन प्रकाशन तथा प्रसारण गर्दा गराउँदा तोकिएको स्थान, समय र अवधिभित्र विज्ञापन प्रकाशन तथा प्रसारण गर्नु, गराउनु पर्ने व्यवस्था छ। विज्ञापनदाताको नाम, ठेगाना तथा उसको आधिकारिकताको एकिन गरेरमात्र विज्ञापन प्रकाशन तथा प्रसारण गर्नु पर्ने व्यवस्था पनि आचारसंहिताले गरेको छ। विज्ञापनदाताको आधिकारिकता बेगर विज्ञापन प्रकाशन तथा प्रसारण भए प्रकाशन तथा प्रसारण गर्ने सञ्चारमाध्यम जिम्मेवार हुनुपर्ने अवस्था सिर्जना भएको छ। विज्ञापन संकलन गर्दा विज्ञापनदातालाई अनुचित दबाब र प्रभाव पार्न नहुने, विज्ञापनलाई समाचार वा कार्यक्रमको रूपमा प्रस्तुत गर्न नहुने व्यवस्था गरिएको छ।
आचारसंहिताअनुसार विज्ञापनदाताले तोकेको वा निर्धारण गरेको समय वा स्थानमा प्रकाशन तथा प्रसारण गर्नु पर्ने, विज्ञापन प्रकाशन भएको अंक वा पेज गायब गर्ने काम हुनेछ। बजारमा नपठाउने वा प्रसारण गर्नु पर्ने विज्ञापन प्रसारण नगर्ने र प्रसारण नै नगरी भुक्तानी माग्ने जस्ता कार्य गर्न नहुने व्यवस्था पनि गरिएको छ। विज्ञापन प्रसारण गर्नु पूर्व बोर्डबाट अनुमति लिनु पर्ने व्यवस्था पनि छ। जसअनुसार स्वदेशी तथा विदेशी पुनः प्रसारकले विज्ञापन प्रसारण गर्न नपाउने व्यवस्था गरिएको छ।
विज्ञापन वितरणसम्बन्धी व्यवस्था
विज्ञापन वितरण गर्दा कानुनबमोजिम दर्ता भई बोर्डमा सूचीकृत सञ्चारमाध्यममा बोर्डमा सूचीकृत विज्ञापन एजेन्सीमार्फत गराउनुपर्ने, विज्ञापनदाताले सञ्चारमाध्यम, विज्ञापन प्रकाशन तथा प्रसारण गर्ने स्थान र समय स्पष्ट गरी पठाउनु पर्नेछ। विज्ञापन एजेन्सी तथा सञ्चारमाध्यमले तोकिएको स्थान र समयमा प्रकाशन तथा प्रसारण गर्नुपर्ने व्यवस्था गरिएको छ। विज्ञापन प्रकाशन तथा प्रसारण गर्दा स्वदेशी सञ्चारमाध्यमलाई प्राथमिकता दिनुपर्ने र विदेशी सञ्चारमाध्यममा प्रकाशन वा प्रसारण गर्नुपर्ने भए कारण खोली बोर्डवाट अनुमति लिनुपर्ने व्यवस्थासमेत गरिएको छ।
विज्ञापनदाताले विज्ञापन एजेन्सी परिवर्तन गर्दा साबिकको विज्ञापन एजेन्सीबाट सहमतिपत्र वा कारोबार चुक्ता गरेको हुनुपर्छ। कानुनबमोजिम अन्यथा भएको अवस्थामा बाहेक स्थानीय वा प्रदेश स्तरका विज्ञापन स्थानीय वा प्रदेशस्तरकै सञ्चारमाध्यममा प्रकाशन वा प्रसारणमा प्राथमिकता प्रदान गर्नुपर्छ। सार्वजनिक निकायहरूले बोर्डले निर्धारण गरेको मापदण्डको आधारमा समानुपातिक किसिमले विज्ञापन वितरण गर्नुपर्छ।
विज्ञापनको गुणस्तर वृद्धिसम्बन्धी व्यवस्था
विज्ञापन वस्तु र सेवाको बारेमा जानकारी दिन, ब्रान्ड स्थापित गर्न र उपभोक्तालाई उपभोगको लागि उत्प्रेरित गर्न गरिने सञ्चारको अत्यन्त सशक्त विधि हो। तर विज्ञापनको बारेमा जानकारी नै नभएका र विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्तिवाट विज्ञापन उत्पादन गर्दा गराउँदा त्यसको प्रभाव न्यूनमात्र होइन।
कतिपय विज्ञापनको कारण वस्तु वा सेवा उपभोग गर्नु भन्दा नगर्ने खालको अवस्था सिर्जना भएको पाइन्छ। अरूको नक्कल गरी विज्ञापन निर्माण गर्ने, कुनै अमुक विज्ञापन देखाई त्यस्तै विज्ञापन निर्माण गर्न दबाब दिने जस्ता कार्य भएका छन्। जसले विज्ञापनमा सिर्जनात्मक हुन नसकेको र विज्ञापन निर्माणको कुनै ज्ञान नै नभएका व्यक्ति वा संस्थाबाट स्तरहीन विज्ञापनहरू नेपालमा उत्पादन प्रकाशन तथा प्रसारण भइरहेको पाइन्छ। त्यस्तो समस्या समाधानका लागि आचारसंहिताले विज्ञापन उत्पादनको काम सिर्जनात्मक एजेन्सीमार्फत गराउन अभिप्रेरित गरेको छ। त्यसले विज्ञापनको प्रभाव र गुणस्तर वृद्धि हुन सक्ने अपेक्षा गरिएको छ।
अनुगमन, उजुरी र कारबाहीको व्यवस्था
विज्ञापन आचारसंहिताको कार्यान्वयनका लागि आचारसंहितामा एक अनुगमन समिति गठन हुने व्यवस्था छ। उक्त अनुगमन समितिले नियमित अनुगमन गरी बोर्डलाई प्रत्येक ६ महिनामा प्रतिवेदन दिनेछ। अब विज्ञापनदाता, विज्ञापन एजेन्सी, सञ्चारमाध्यम तथा उपभोक्ता जो सुकैले पनि बोर्डमा आचारसंहिता वा विज्ञापन ऐन, नियमको उल्लंघन भएको पाइए उजुरी दिन सकिनेछ। उजुरीकर्ताले आफ्नो विवरण गोप्य राख्न चाहे सो राख्न सक्ने व्यवस्थासमेत मिलाइएको छ।
प्राप्त उजुरीको छानबिनका लागि छानबिन समिति गठन हुने र त्यस्तो समितिले छानबिन गरी कारबाहीको लागि बोर्डमा सिफारिस गर्ने व्यवस्था मिलाइएको छ। विज्ञापन आचारसंहिता समग्र विज्ञापन बजारको व्यवस्थापन गर्न, विज्ञापन व्यवसायलाई मर्यादित र पारदर्शी बनाउन सफल हुने विश्वास बोर्डले लिएको छ।
- हुमागाईं विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष हुन्।
प्रतिक्रिया दिनुहोस !