भुक्तानी नपाए राजमार्ग बन्द गर्ने उखु किसानको चेतावनी

भुक्तानी नपाए राजमार्ग बन्द गर्ने उखु किसानको चेतावनी

परासी : पश्चिम नवलपरासीका किसानले उखुको भुक्तानी नपाए राजमार्ग बन्द गर्ने चेतावनी दिएका छन्। पटकपटक उखुको भुक्तानी दिन माग गरेपनि जिल्लाका उद्योगले भुक्तानी नदिएको र सरकारलेसमेत पहल नगरेकाले राजमार्ग बन्दको विकल्प नरहेको भन्दै किसानले चेतावनी दिएका हुन्।

उखुको भुक्तानी नभए आन्दोलन गर्ने चेतावनीसहित शुक्रबार प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउन पुगेको उखु उत्पादक कृषक समितिका पदाधिकारीसहितका किसानको टोलीले तत्काल भुक्तानीको व्यवस्था नभए हप्ता दिनपछि राजमार्ग बन्द गर्ने चेतावनी दिएका हुन्।

तीन वर्षअघि पनि उखुको भुक्तानी नपाएको भन्दै किसानले राजमार्ग बन्द गरेर आन्दोलन गरेका थिए।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले दुई महिनाअघि उखु किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिएका थिए तर जिल्लाका किसानले भने अहिलेसम्म रकम पाउन सकेका छैनन्। 

ज्ञापन पत्र बुझाउँदै उखु उत्पादक कृषक समितिका जिल्ला अध्यक्ष उमेश यादवले जिल्लाका तीन वटा उद्योगले यसवर्षको ५० करोडबढी रकम भुक्तानी दिन बाँकी रहेको जानकारी दिए। जिल्लामा बाग्मती, लुम्बिनी र इन्दिरा चिनी उद्योगले किसानसँग उखु लिएर चिनी उत्पादन गरेका छन्।

तर भुक्तानीमा आलटाल गरेको उनीहरुको गुनासो छ। सबैभन्दा बढी बाग्मतीले करिब ३५ करोड, इन्दिराले १२ करोड र बाँकी लुम्बिनी चिनी उद्योगले भुक्तानी गर्न बाँकी रहेको अध्यक्ष यादवले जानकारी दिए। 

सरकारले गतवर्ष निर्धारण गरेको पाँच सय ३१ रुपैयाँलाई बढाएर यसवर्ष (०७४/०७५) पाँच सय ३६ रुपैयाँ ५६ पैंसा प्रति क्विण्टल समर्थन मूल्य कायम गरेको थियो। समर्थन मूल्य कायम गर्नुअघि पेस्कीस्वरुप पाँच सय रुपैयाँ प्रतिक्विटलमा उखु उपलब्ध गराएपनि उक्त रकमसमेत नदिएको अध्यक्ष यादवले जानकारी दिए।'सरकारले निर्धारण गरेको समर्थन मूल्य बराबरको रकम त परै जाओस् पेस्की स्वरुप उपलब्ध गराएको रकम समेत पाइएको छैन, अध्यक्ष यादवले भने, 'उद्योगहरुले चैतसम्म १० प्रतिशत मात्र रकम भुक्तानी गरेपनि त्यसपछि गरेका छैनन्।'

उद्योगीहरुले चिनी बिक्री नभएकाले दिन नसकिनेभन्दै किसानलाई आलटाल गर्ने गरेको उनले बताए। तीनवटा उद्योगले १६ लाख बढी क्विण्टल उखु क्रसिङ्ग गरी चिनी उत्पादन गरेको समितिले जनाएको छ। भुक्तानी नपाउँदा जिल्लाका करिब १० हजार बढी किसान समस्यामा छन्।

जसका कारण दैनिक घरखर्चदेखि अन्य बालीसमेत लगाउन समस्या भएको किसानको गुनासो छ।  समयमा भुक्तानी नपाउँदा जिल्लामा हरेक वर्ष उखु उत्पादन घट्दो छ। दुई वर्षअघि २५ लाख क्विण्टल उखु उत्पादन भएको जिल्लामा गतवर्ष २० लाख मात्र उत्पादन भएको थियो।यसवर्ष १६ लाख क्विण्टल उत्पादन भएको समितिले जनाएको छ।

पछिल्लो पटक दक्षिणभेगमा करिब पाँचदेखि सात हजार हेक्टरमा उखु खेती गरिदै आइएको छ। दक्षिणभेगका किसानको प्रमुख बाली उखु रहेको छ।नगदेबालीको रुपमा रहेको उखुको भुक्तानी नपाउँदा उद्यारो बालीमा परिणत हुँदै गएको भन्दै किसानले चिन्ता व्यक्त गरेका छन्।  

बिक्री नहुँदासम्म भुक्तानी दिन सकिन्न-उद्योग

चिनी बिक्री नभएसम्म किसानको बक्यौता रकम भुक्तानी दिन नसकिने उद्योगहरुले जनाएका छन्। उत्पादन भएका चिनी गोदाममा थन्किएकाले उचित मूल्य नपाएका कारण बिक्रीमा समस्या भएको उद्योगको भनाई छ।
 
बाग्मती चिनी उद्योगका प्रबन्धक टंक काफ्लेले विदेश (पाकिस्तान)बाट खरिद गरेर ल्याइएको चिनीका कारण मूल्य नपाइएको उनले बताए। 'बजारमा बिक्री भइरहेको विदेशी चिनी भन्दा १० देखि १२ रुपैयाँ कम गरेर बिक्री गर्न सकिदैंन सरकारले खरिद गरे किसानको रकम एक दिन पनि ढिला गर्दैनौ, ' काफ्लेले भने।

उनले चिनी बिक्री नहुँदा किसानको मात्र नभएर कर्मचारीले समेत तलब पाउन नसकेको बताए। पाकिस्तान र भारतबाट आउने चिनी बजारमा ५० देखि ५२ रुपैयाँमा बिक्री भएकाले आफूहरुको चिनी बिक्री नभएको उनले बताए। आफ्नो उद्योगमा ६१ हजार क्विण्टल चिनी गोदाममा थन्किएको काफ्लले बताए।

लुम्बिनी चिनी उद्योगका महाप्रबन्धक बाबुलाल अग्रवालले उद्योगको चिनी साल्ट ट्रेडिङ्गले खरिद नगर्नु र बजारमा मूल्य नपाइएकाले बिक्री गर्न नसकिएको बताए। 'घाटा हुने गरी बिक्री गर्न सकिदैंन, सरकारले चिनीको पनि उचित मूल्य निर्धारण गरेर खरिदको व्यवस्था गर्नुपर्छ' उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.