काम नगर्ने ठेकेदारको नाम गृह मन्त्रालयमा

काम नगर्ने ठेकेदारको नाम गृह मन्त्रालयमा

धनगढी : आफूले जिम्मा लिएको काम समयमै नगरेको भन्दै कैलालीका १६, कञ्चनपुरका २१ र बैतडीका २२ निर्माण व्यवसायीको नाम गृहमन्त्रालयमा पठाइएको छ। गृहमन्त्री रामबहादुर थापाले सरकारबाट ठेक्का लिएर काममा लापरवाही गर्ने निर्माण व्यवसायीलाई कारवाहीका लागि सबै जिल्ला प्रशासन कार्यालयलाई उनीहरूको नाम पठाउन निर्देशन दिएका थिए।

कैलालीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले ठेक्का लिएर तोकिएको समयमा पूर्वाधार निर्माण नगर्ने १६ निर्माण व्यवसायीको नाम गृह मन्त्रालयमा पठाएको बताए। ‘जिल्लाभित्र सञ्चालनमा रहेका २० ठूला योजनामा लापरवाही गर्ने १६ निमार्ण कम्पनीको सूची गृहमा पठाइसक्यौं, अब गृहबाट जस्तो निर्देशन आउँछ, सोहीअनुसार कारवाही अगाडि बढाउने हो’, प्रमुख जिल्ला अधिकारी तिवारीले भने। जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी र कञ्चनपुरको राजघाट जोड्ने पुल निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी चन्द्रशेखर मल्लको नाम पहिलो नम्बरमा पठाएको छ। ७ करोड लागतको पुल निर्माण चार वर्षदेखि अलपत्र पारेपछि उनको नाम पहिलो नम्बरमा राखिएको हो।

देबहरिया–बेहडाबाबा–चौमाला सडकका ठेकेवार किशोर ठकुराठी पनि सूचीमा परेका छन्। उनी निर्माण व्यवसायी संघ कैलालीका पूर्वअध्यक्ष हुन्। कैलालीको कैलारी गाउँपालिकाको स्वास्थ्यचौकी भवन सात वर्षदेखि अलपत्र छोडेका अर्का पूर्वअध्यक्ष विष्णु कुँवरको नाम पनि गृहमा पठाएको छ।

एक वर्षदेखि धनगढी नगरपालिकाको कैलाली नालामा पुल निर्माणको काम सुरु नै नगरेका गोकर्ण शाह, गेटामा बनिरहेको मेडिकल कलेजको प्रशासनिक भवनको निर्माण अलपत्र छोडेका काठमाडौंका रामगोपाल श्रेष्ठ, घैला बौनियाका जनताको खानेपानी आपूर्तिका लागि निर्माण गरिन लागेको खानेपानीको ओभरहेड ट्यांकीका निर्माण व्यवसायी टीकापुरका तपेन्द्र शाहको नाम पनि गृहमन्त्रालयमा पठाइएको छ।

पवेरा खोलाको पुल निर्माणमा लापरवाही गर्ने लक्ष्मण स्वाँर, कटानी नदीमा पुल निर्माणको जिम्मा लिएका बद्री सिग्देल, गोदावरी नगरपालिकाको भालुखोला पुल निर्माणको ठेक्का पाएका शेरबहादुर खड्कासहित १६ जनाको नाम गृहमन्त्रालयमा पठाइएको हो। धेरै निर्माण व्यवसायीले एउटा ठेक्काबाट आउने ‘मोबिलाइजेसन पेस्की’ अरू नै काममा गरेका छन्। जति ढिला ग¥यो उति प्राविधिकहरूले कमिसन पाउने र सरकारबाट पनि खासै चासो नहुन थालेपछि पूर्वाधारका धेरै योजना वर्षौंदेखि अलपत्र छन्।

कञ्चनपुरमा थेगीमको लापरवाही

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि निर्माणमा लापरवाही गर्ने २१ निर्माण व्यवसायीको नाम गृहमन्त्रालयमा पठाएको छ। कार्यालयले योजनामा भइरहेको ढिलाइ, प्रगति कम भएका तथा कतिपय योजना सुरु नै नभएकाको विवरण मन्त्रालयमा पठाएको हो।

कञ्चनपुरमा सबैभन्दा बढी लापरवाही धनगढीका सुनील थापा सञ्चालक रहेको थेगिम कन्सट्रक्सनले गरेको छ। उसले निर्माणको जिम्मा लिएका विभिन्न योजनाको प्रगति विवरण निकै निराशजनक रहेको पाइएको छ।

उक्त निर्माण कम्पनीले बंक–नायल–बुडर सडकखण्डअन्तर्गत निर्माण गर्नुपर्ने दुई वटा पुलको काममा पनि सुस्तता देखाएको छ। कलुवापुर–बेलौरी जोड्ने सडकको निर्माणको काम गरिरहेको सन्तोषी थेगिम कन्सट्रक्सनले सडक कालोपत्रेको काममा समेत ढिलाइ गरेको छ। दुई चरणमा गर्नुपर्ने उक्त सडक कालोपत्रेमा अहिलेसम्म १० प्रतिशत मात्रै काम भएको छ। जिल्ला प्रशासनले झोलुंगे–कुतियाकवर जोड्ने सडकका ठेकेदारको नाम पनि केन्द्रमा सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए।

बैतडीका २२ जनाको नाम गृहमन्त्रालयमा

जिल्ला प्रशासन कार्यालय बैतडीले पनि विकास निर्माणका कामहरू समयमै नसक्ने २२ कम्पनीको नाम गृह मन्त्रालयमा पठाएको छ। मन्त्रालयको निर्देशनअनुसार समयमै काम नसक्ने र लापरवाही गर्ने निर्माण कम्पनीहरूको नाम मन्त्रालयमा पठाइएको प्रजिअ सिद्धराज जोशीले बताए।

एमके कन्सट्रक्सन बह्रमतोला बाजुरा, इन्द्र निर्माण सेवा बैतडी, रफिना एन्ड कन्स कम्पनी काठमाडौं, श्रीराम निर्माण सेवा कञ्चनपुर, महारुद्र निर्माण सेवा बैतडी, एसके निर्माण सेवा बैतडी, कैलाश कन्सट्रक्सन बैतडी, रणवीर निर्माण सेवा बैतडी, चाँदनी कन्सट्रक्सन डडेलधुरा, ओएसीसयस इन्जिनियर्स एन्ड विल्डर्स काठमाडौं र एडभेन्चर कन्सट्रक्सन भरतपुरको नाम मन्त्रालयमा पठाइएको छ।

यस्तै शंकर माली अकेला जेभी, चक्र निर्माण सेवा, लोहनी एन्ड ब्रदर्श जागृति जेभी, पीएस कन्सट्रक्सन डोटी, सित्तडी कन्सट्रक्सन महेन्द्रनगर, कृष्ण निर्माण सेवा, श्रीकेदार निर्माण सेवा, एमके कन्सट्रक्सन प्रालि, गाल्वा निर्माण सेवा प्रालि, शाह निर्माण सेवा र सुप निर्माण सेवा प्रालिको नाम मन्त्रालयमा पठाइएको सहायक प्रजिअ दीपककुमार आचार्यले बताए।

२२ वटा कम्पनीले निर्माण गरिरहेका २९ वटा योजनाको म्याद पटक पटक थपेर पनि नसकिएको जिल्ला प्रशासनले मन्त्रालयमा पठाएको सूचीमा उल्लेख छ। जिल्ला पशु सेवा कार्यालय भवन निर्माण कार्य समयमै सकिएको छैन भने डिभिजन सडक कार्यालयमार्फत ठेक्का भएका १२ वटा सडकका योजनामा ठेकेदारको लापरवाही भएको पाइएको छ।

यस्तै जिल्ला समन्वय समिति र जिल्ला प्राविधिक कार्यालयमार्फत ठेक्का भएको परमलीगाडमा पक्की पुल अलपत्र परेको छ भने सुक्खा फलफूल केन्द्रको सडक निर्माण गरे पनि कार्यालयलाई हस्तान्तरण नगर्दै भत्केकाले पुनर्निर्माण गर्न निर्देशन दिइएको छ।

सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीमार्फत ठेक्का सम्झौता भएका बैतडीका ३ वटा स्वास्थ्यचौकी भवन, बझाङको एउटा स्वास्थ्यचौकी भवन र अन्य ७ वटा निर्माणका योजना ठेकेदारको लापरवाहीका कारण समयमै सम्पन्न हुन नसकेको जिल्ला प्रशासनको कार्यालयको सूचीमा उल्लेख गरिएको छ।

कैलाश जोशी, धनगढी

विष्णु देवकोटा, कञ्चनपुर

भगिरथ अवस्थी, बैतडी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.