सहरको फोहोर नदी र वनमा

सहरको फोहोर नदी र वनमा

 तौलिहवा:  कपिलवस्तुका नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा सहरी क्षेत्र दुर्गन्धित वनेको छ। जिल्लाका ६ वटा नगरपालिकाले अहिलेसम्म फोहोर व्यवस्थापन गर्न सकेको छैन। फोहोर व्यवस्थापन नहुँदा पर्यटकीय केन्द्र तिलौराकोटसहितका सहर कुरूप वनेका छन्। स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष बित्दासमेत फोहोर व्यवस्थापनसम्वनधी कुनै योजना वनन सकेको छैन।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र कृष्णनगर नगरपालिकाको प्रवेशद्वारमै फोहरको डङ्गुर छ। नगरपालिकाले बजारबाट निस्कने फोहोर मुख्य सडक किनारमै फ्याक्ने गरेको छ। कृष्णनगरबाट दैनिक करिब २ टन फोहोर उत्पादन हुँदै आएको छ। ‘फोहर व्यवस्थापनमा नगरपालिकाले लापरवाही गरेका छन्। तत्काल समाधान नगरे यो समस्या पछि ठूलो वनन सक्छ’, वाणगंगाका द्रोणराज सुवेदीले भने, ‘नागरिकको स्वास्थ्यमाथि खेलवाड गरिएको छ।’

नगरले जथाभावी फोहोर फ्याँक्दा बजार दुर्गन्धिन त वनेकै छ, संक्रमण फैलने सम्भावनासमेत उत्तिकै छ। शिवराज नगरपालिकाले बजारबाट निस्कने फोहोर जथाभावी वन क्षेत्रमा फाल्दै आएको छ। सुअरबरवा तथा शिवपुर क्षेत्रका जंगलमा फ्याँकिएका फोहोरले वनयजन्तुमा समेत असर देखिएको वन कर्मचारीको भनाइ छ।

कृष्णनगर र शिवराजजस्तै वाणगंगा नगरपालिकाले पनि वाणगंगा र कोइली नदी किनारमा नगरक्षेत्रबाट निस्कने फोहोर फ्याँक्ने गरेको छ। यी नगरपालिका स्थानीय तह पुनर्संरचना हुनुपूर्व पनि नगरपालिका नै थिए। तर, अति आवश्यक फोहोर तथा ढल व्यवस्थापन भने गर्न सकेको छैन। कपिलवस्तु नगरपालिका, महाराजगंजमा पनि फोहोर व्यवस्थापन गर्ने कुनै योजना र कार्यक्रम लागू गरिएको छैन। फोहोर संकलन र ढुवानीमा रकम विनियोजित गरिए पनि फोहोरको उचित व्यवस्थापनमा सबै नगरपालिकाले लापरवाही देखाएको स्थानीयको गुनासो छ।

जिल्लाको बुद्धभूमि नगरपालिकाले मात्र ल्यान्डफिल्ड साइट निर्माण गरी फोहर व्यवस्थापन गरेको छ। तर, कहिलेकाहीं कर्मचारीको लापरवाहीले कोन्द्रे खोला किनारमा नगरपालिकाको फोहोर फ्याँक्ने गरेको छ। वन कार्यालयले नगरपालिकाले जथाभावी फोहोर फ्याँक्ने गरेकोप्रति पटकपटक गुनासो तथा सचेत गराउँदै आएको छ। कृष्णनगर नगरपालिकाले फोहोर व्यवस्थापन गर्ने स्थान अभावले सडक किनारमै फ्याँक्नुपर्ने बाध्यता रहेको जनाएको छ।

नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले नगरपालिकाले दुई स्थानमा डम्पिङसाइट निर्माण गरी व्यवस्थित गर्न बजेट विनियोजन गरे पनि जग्गा नहुँदा समस्या भएको बताए। ‘बजेट छुट्याएका छौं, तर जग्गा भेट्टाउन सकेनौं’, उनले भने, ‘आगामी वर्ष जसरी हुन्छ, फोहोर व्यवस्थापन गर्ने योजना बनाएका छौं।’

शिवराज नगरपालिका कार्यकारी प्रमुख शेषकान्त पौडेलले नगरपालिकाको फोहोर व्यवस्थापन गर्न कुनै योजना नभएको बताए। ‘नगरपालिका किनारका जंगलमा फोहोर फ्याँक्दै आएका छौं, काम चलेकै छ’, उनले भने। वाणगंगा नगरपालिकाले पनि वनक्षेत्र किनारका नदी तथा जंगलभित्र फोहोर फ्याँक्दै आएको छ। कपिलवस्तु तथा महाराजगञ्ज नगरपालिकाले पनि यसलाई प्राथमिकता दिएको छैन। जथाभावी फोहोर फ्याँक्ने गरिएकाले जिल्लाका अधिकांश बजार क्षेत्र दुर्गन्धित बनेका छन्। फोहोर व्यवस्थापनमा जनप्रतिनिधिले समेत चासो नदेखाएको नगरवासीको गुनासो छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.