मलेसियाबाट फर्किएका युवाले बनाए बोत्‍तलको घर, हेर्नेको घुइँचो

मलेसियाबाट फर्किएका युवाले बनाए बोत्‍तलको घर, हेर्नेको घुइँचो

दमक : तीन वर्ष मलेसिया बसेर घर फर्किएका एक युवाले दमकमा अनौठो घर बनाएका छन्। दमक-२ का तिगेनहाङ लिम्बूले बोत्तलको प्रयोग गरेर आकर्षक घर बनाइरहेका छन्। रेष्टुरेन्ट एण्ड बार सञ्‍चालनका लागि उनले सो घर निर्माण गरेका हुन्। 

घर हेर्नका लागि दिनहुँ आउने मान्छेले घरका विषयमा विशेष चासो दिने गरेको लिम्बूले बताए। दमक-२ स्थित आम्दा अस्पताल छेउमा बनाउँदै गरेको सो घरको भित्तामा बोत्तल प्रयोग गरिएको छ। 

भित्तामा तथा पिल्लरमा वाइन, बियर तथा स्प्राईटका बोत्तल प्रयोग गरी आकर्षक डिजाइनका साथ घर बनाएपछि विभिन्न ठाउँबाट हेर्न आउनेहरुको स‌ंख्या बढ्दो छ।बोत्तलको प्रयोग गरिए पनि घर भने भूकम्प प्रतिरोधी रहेको लिम्बू बताउँछन्।

आठ इन्च वाल भएको घरमा बोत्तलको पिँधको भाग दुवैतिर चार/चार इन्च प्रयोग गरिएको छ। दुबै काटिएका बोत्तललाई सफा गरी डगटेपले टाँसेर बनाइएको उनले बताए। बोत्तलको पिँधको भाग अत्यन्तै बलियो हुनाले भित्तामा प्रयोग गरिएको लिम्बूको भनाई छ। लिम्बूका बुवा पृथीकुमारले डिजाइन गरेका हुन्। १ कट्ठा जग्गामा निर्माणाधिन सो बोत्तल हाउस सम्पन्न गर्दा १ करोड जति खर्च लाग्ने उनले बताए। 

लिम्बूको बोत्तल हाउसमा कवाडिबाट लिइएका वाइनका बोत्तल, गोर्खा बियर, स्ट्रङ बियर, स्प्राईटका बोत्तलहरु प्रयोग गरिएको छ।वाईनको बोत्तललाई ५ रुपैयाँ तथा अन्य बोत्तललाई ३ देखि ३ रुपैँया ५० पैसामा खरिद गरिएको तिगेनहाङले जानकारी दिए।

घर निर्माण गरिसक्दा २० हजार बोत्तल सकिने उनको अनुमान छ। आफू मलेसियामा हुँदा बोत्तलबाट मन्दिर बनाएको देखेकाले यस्तो घरको परिकल्पना गरेको उनले सुनाए। युवाहरुले विदेशमा आफूले देखेका र सिकेका सीपलाई प्रयोग गर्ने हो भने नेपालमा अन्य नयाँ सम्भावनाका ढोका खोल्न सकिने उनको विश्वास छ।सुरुमा विदेशबाट आएपछि पहिलो वर्ष बाथरुम बनाएर परीक्षण गरेपछि घर निर्माण गरिएको लिम्बूले बताए। 

इँट्टाको तुलनामा बोत्तल सस्तो भए पनि बोत्तलको लेभल र डिजाइन मिलाउन समय लाग्ने भएकाले अन्य घरको तुलनामा ज्यादा मेहनत गर्नुपर्ने उनको भनाई छ। परिवारका तीनैजना आफै घर बनाउन खटिएका छन्। तिगेनहाङले बोत्तलको घर नेपालमै पहिलो रहेको दाबी गरेका छन्। 

अन्य ठाउँमा बोत्तलका स-साना कम्पाउण्ड बनाएको भएपनि घर नै निर्माण गरेको यो पहिलो भएको बताए। बोत्तलको कलर प्याट्रन मिलाएकाले घरमा एकदमै चमक दिने उनले बताए।घाम ढल्किँदै जाँदा घरका भित्ताहरुमा एक प्रकारको चमक आउन सुरु हुने लिम्बूले सुनाए।घर निर्माण भइसकेपछि अझै सुन्दर र कलात्मक देखिने लिम्बूको दाबी छ।

यो घर निर्माण गर्नुअघि आफूले यसका बारेमा धेरै अध्ययन गरेको लिम्बूले बताए। थाइल्याण्डमा र मलेसियामा मात्र यस्ता घरहरु चलनमा रहेको उनले बताए। बोत्तलको घर निर्माणले खेर गएका बोत्तलहरुलाई प्रयोग गरिने हुँदा वातावरणको पर्यावरणीयलाई समेत सन्तुलित राख्न सहयोग पुर्‍याउने उनको विश्वास छ। बोत्तल काटेर रहेको टुक्रालाई उनले सोलिङका रुपमा प्रयोग गर्ने गरेका छन्। 

घरमा बोत्तलको प्रयोग गरेपछि घरको नक्साङ्कन तथा डिजाइन पास नहुने हो कि भनेर लिम्बू स्वयम् इन्जिनियरको सम्पर्कमा पुगे। इन्जिनियरलाई आफ्नो घरका बारेमा बताउँदा छक्क पर्ने गरेको उनी बताउँछन्। 

अन्य निर्माण सामाग्री प्रयोगका बारेमा थाहा भएपनि यस विषयमा आफूहरु अनविज्ञ रहेको  इन्जिनियरले बताएका छन्।आफ्नो अध्ययन उक्त सामाग्रीभित्र नपर्ने बताउँदै इन्जिनियरहरु नै अन्यौलमा  छन्। बोत्तलको घरका विषयमा अहिलेसम्म अनुसन्धान नै नगरिएको इन्जिनियरहरुले बताएका छन्। दसैंसम्ममा बोत्तल हाउस उद्घाटन गर्ने योजना रहेको बुवा पृथीले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.