वैदेशिक रोजगारी : १० महिनामा ८३ करोड ठगी दाबी

वैदेशिक रोजगारी : १० महिनामा ८३ करोड ठगी दाबी

काठमाडौं : वैदेशिक रोजगारीमा जाने युवा ठगीने क्रम बढ्दो छ। चालु आर्थिक वर्षको पहिलो १० महिनामै वैदेशिक रोजगारीका लागि गएका र जाने तयारीका युवाले आफूहरूसँग ८३ करोड रुपैयाँ ठगी भएको भन्दै उजुरी दिएका छन्।

चालु आवको वैशाख मसान्तसम्म १७ सय ४४ युवाले ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएका हुन्। वैदेशिक रोजगारमा गएका र जाने तयारीमा रहेकाहरू आफू ठगिएको भन्दै उजुरी दिन आउने गरेको विभागका प्रवक्ता उद्धव रिजाले जानकारी दिए। उजुरी दिनेको संख्या बढ्दो क्रममा छ। विभागमा सबैभन्दा बढी व्यक्तिगत ठगीका उजुरी परेका छन्।

‘व्यक्तिगत ठगीको तुलनामा म्यानपावर कम्पनीको ठगी कम छ’, उनले भने, ‘म्यानपावरको ठगी पनि विगतभन्दा बढी नै छ।’ विभागका प्रवक्ता रिजालका अनुसार चालु आर्थिक वर्षको १० महिनामा म्यानपावर कम्पनीले ठगेको भन्दै आठ सय ५५ जना कामदारले उजुरी दिएका छन्। म्यानपावर कम्पनीबाट ठगीमा परेका कामदारले विभागमा २५ करोड ८४ लाख रुपैयाँको दाबीसहित उजुरी दिएका छन्।

यसमा वैशाख महिनामा मात्रै म्यानपावर कम्पनीबाट आफूहरू ठगीमा परेको भन्दै ८६ जनाले उजुरी दिएका छन्। यसैगरी पछिल्लो समय व्यक्तिगत ठगीका घटना पनि निरन्तर बढिरहेका छन्। १० महिनामै व्यक्तिगत ठगीतर्फ आठ सय ८९ उजुरी परेका छन्। व्यक्तिगत ठगीमा परेका कामदारले आफूहरूसँग ५७ करोड ५५ लाख रुपैयाँ ठगी भएको दाबीसहित उजुरी गरेका छन्।

ठगी दाबीसहित परेको उजुरीमा विभागले हालसम्म १६ करोड ९७ लाख रुपैयाँ रुकम कामदारलाई उपलब्ध गराएको छ। यसमा चालु आवको १० महिनामा व्यक्तिगत ठगीतर्फ एक सय ६५ वटा उजुरी विभागले छिनोफानो गरेकोे छ। विभागले व्यक्तिगत ठगीतर्फ छिनोफानो गरेका उजुरीबाट कामदारलाई १२ करोड ५७ लाख रुपैयाँ उपलब्ध गराएको छ।

यसैगरी म्यानपावरबाट आफूहरू ठगीमा परेको भन्दै उजुरी दिएका मध्ये ८८ प्रतिशत उजुरीको छिनोफानो गरेको छ। सात सय ५२ वटा उजुरीको छिनोफानो गरी म्यानपावर कम्पनीबाट ठगीमा परेका कामदारलाई विभागले चार करोड ३५ लाख रुपैयाँ उपलब्ध गराएको छ। ००००व्यक्तिगत ठगीमा समस्या रोजगारीका लागि दैनिक करिब दुई हजार नेपाली विभिन्न मुलुक जाने गरेका छन्। ऋण खोजेर वा जग्गाजमिन धितो राखेर विदेश पलायन हुने युवा स्वदेशमै दलाल र म्यानपावर व्यवसायीबाट ठगिएका छन्। रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले मलेसिया जाने कामदारमाथि ठगी गरिरहेका संस्था खारेज गरिसकेका छन्।

चालु आवको वैशाख मसान्तसम्म १७ सय ४४ युवाले ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएका हुन्।

चालु आवको १० महिनामै नयाँ कामको खोजीमा झन्डै तीन लाख युवा विदेश पलायन भइसकेका छन्। यसरी पलायन हुनेले विदेशमा गएपछि नेपालमा सम्झौता भएअनुसार काम नपाएको भन्दै व्यापक उजुरी दिने गरेका छन्। तलब र अन्य सुविधा पनि यहाँ भने जस्तो दिँइदैन। म्यानपावर कम्पनीले पठाउँदा एउटा कम्पनी भन्ने र उता गएपछि अर्को कम्पनीमा काम गर्नुपर्ने कारण पनि बढी समस्या हुने गरेको विभागका प्रवक्ता रिजाल बताउँछन्।

उनले भने, ‘विदेश जाने बेलामा सरकारले तोकेभन्दा बढी रकम तिर्ने र पछि समस्यामा परेर नेपाल आएपछि मैले यती रकम तिरेको भन्दै विभागमा उजुरी गर्न आउने युवाको संख्या धेरै छ।’ संस्थागत (म्यानपावर) भन्दा व्यक्तिगत उजुरीका समस्या समाधान गर्न कठिन हुन्छ। व्यक्तिगततर्फ उजुरी गर्न आउनेमा कन्सलट्यान्सीबाट ठगिने बढी हुने गरेको रिजाल बताउँछन्।

खाडी र मलेसिया जाने कामदारभन्दा अमेरिका, पोर्चुगाल, पोल्यान्डलगायत देश पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी भएको उजुरी गर्न विभाग आउनेको संख्या बढी छ। यस्तो उजुरीमा विभागले प्रमाण भएको अवस्थामा मात्रै कारबाही र क्षतिपूर्ति दिलाउने उनको भनाइ छ।

पछिल्लो समय म्यानपावरको ठगीभन्दा व्यक्तिगत ठगी बढी हुनुमा कामदार आफै पनि सचेत हुन नसक्नु प्रमुख कारण हो। कुनै प्रमाण र विदेश पठाउन कुनै इजाजत नभएका व्यक्तिले अमेरिका, पोल्यान्ड पठाइदिन्छु भन्दा कामदारले विश्वास गरेर रकम दिने र पछि ठगी भन्दै उजुरी दिन आउने विभागको भनाइ छ। यसैगरी म्यापवरतर्फको ठगी दाबीसहितका उजुरीको पनि कुनै प्रमाण नहुने विभागको भनाइ छ। म्यापावर कम्पनीले सरकारी नियमअनुसार कामदारलाई १० हजार रुपैयाँको रसिद दिन्छ। तर, कामदारसँग म्याननपावर कम्पनीले लाखौं असुल गरिरहेका हुन्छन्। उजुरी परेपछि दुई पक्षलाई नै राखेर म्यानपावरतर्फको ठगी उजुरी समाधान गर्ने काम भइरहेको रिजालको भनाइ छ।

एक सय ९२ मुद्दा न्यायधिकरणमा

विभागले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा एक सय ९२ उजुरी वैदेशिक रोजगार न्यायधिकरणमा दायर गरेको छ। विभागका अनुसार म्यानपावर कम्पनीको नाममा दर्ता भएको एउटा पनि उजुरी न्यायधिकरणका गएको छ। तर, व्यक्तिगत ठगीतर्फका एक सय ९२ वटा ठगीको उजुरी न्यायधिकरण गएको रिजाल बताउँछन्।

विभागले एक सय ९२ वटा वटा ठगीका उजुरीमा २६ करोड ९२ लाख विगो दाबीसहित मुद्दा दर्ता गरेको छ। यसैगरी विभागले चालु आवको १० महिनामा विभिन्न म्यानपावर कम्पनी तथा व्यक्तिलाई २५ लाख ५० हजार रुपैयाँ जरिवान गराएको रिजाल बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.