वीरगन्‍जमा लट्री पर्‍यो भन्दै ठगी गर्ने गिरोह सक्रिय

वीरगन्‍जमा लट्री पर्‍यो भन्दै ठगी गर्ने गिरोह सक्रिय

वीरगन्ज  : सामाजिक सञ्‍जाल र मोबाइल फोनबाट एसएमएस गरेर लाखौ रुपैयाँको लट्री अर्थात् चिठ्ठा परेको भन्दै सर्वसाधरण र व्यापारीसँग रकम असुल्ने गिरोह वीरगन्जमा  सक्रिय भएको छ।

फेसबुक , भाइबर , इमो , ह्वाट्स अपजस्ता सामाजिक सञ्‍जाल र मोबाइल फोनबाट सर्वसाधरण र व्यपारीलाई लाखौं रकमको लट्री परेको एसएमएस र फोन गरेर रकम असुल्ने गिरोह वीरगन्जमा सक्रिय भएको हो।

गिरोहमा संलग्नले सुरुमा सामाजिक सञ्‍जाल वा मोबाइल फोनमार्फत तपाईले ३५ लाखको लट्री जित्नु भएको छ वा हाम्रो निश्चित कम्पनीले राखेको बम्पर पुरस्कारमा तपाई छनौट हुनु भएको छ तर लट्रीवापत तिर्नुपर्ने कर रकम बुझाएपछि मात्र पुरस्कारको रकम तपाईको बैंक खातामा आउँछ भनेर एसएमएस गरेर पठाउछन्। 

माबोइल फोन तथा म्यासेजबाट उनीहरुले बधाई समेत दिई बैंक खाता नम्बर तथा परिचय खुल्ने कागजात समेत सामाजिक संजालमार्फत पठाउन लगाउँछन्। लट्री परेको लोभमा सर्वसाधरणले गिरोहले दिएको बैंक खाताका साथै आइएमइ गरेर करबापत भनिएको रकम पठाउने गरेका छन्।

करबापतको भनिएको रकम पठाइसकेपछि भने लट्रीमा परेको भनेर एसएमएस गर्ने गिरोह सम्पर्कबिहीन हुने गरेकाले त्यसपछि मात्र सर्वसाधरण आफू ठगिएको थाहा पाउने गरेका छन्।

ठगिएको थाहा पाएपछि मात्र सम्बन्धित पीडित व्याक्ति प्रहरीकोमा उजुरी लिएर जाने गरेका छन्। यसरी ठगिएका व्याक्तिको उजुरी आउने क्रम बढ्दो छ,पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन लिम्बूले भने, 'यसरी ठगिएकाहरुले लिखितभन्दा पनि मौखिकरुपमै आफू ठगिएको भनेर हामीलाइ भन्ने गरेका छन्।'

उजुरी आउने क्रम बढेपछि प्रहरीले गिरोहमा संलग्नका बारेमा निगरानी बढाएको उनले बताए। प्रहरीका अनुसार, ठगी गर्ने गिरोहका मुख्य कारोबारी भारत र पाकिस्तानमा रहेका छन्। उनीहरुले गिरोहमा संलग्न वीरगन्जका युवालाई जनही दैनिक दुईदेखि चार हजार कमिसन दिँदै आएको अनुसन्धानका क्रममा खुलेको पर्साका प्रहरी नायव उपरीक्षक लिम्बूले जानकारी दिए।
 
यो ठगीको धन्दा चलाउने मुख्य गिरोह भारत र पाकिस्तानमा छन्, उनले भने, 'त्यहाँबाट उनीहरुले यहाँका युवालाई यो धन्दामा परिचालन गरेका छन्।'फोन र एसएमएस गरेबापत मुख्य गिरोहबाट यहाँका युवाले दैनिक दुईदेखि चार हजार पाउँदै आएको अनुसन्धानका क्रममा खुलेको छ। 

यसैबीच पर्सा प्रहरीले सोमबार साँझ वीरगन्जबाट उक्त गिरोहका चारजनालाइ पक्राउ गरेको छ। वीरगन्जको भेडियाहीमा रहेको नेशनल मेडिकल कलेज अगाडिको गढीमाइ मनि चेन्जर नजिकबाट प्रहरीले चारजनालाइ पक्रेको हो।
 
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिकाको नगवाका अक्षय चौरसीया, नगवाकै  युवराज पासवान , इनर्वाका  वीर नारायण चौरसीया र वडा नम्बर २ छपकैयाका राहुल कुमार राउत रहेका छन्।

उनीहरुको साथबाट नगद एक लाख पाच हजार, चार थान मोबाइल, आइएमइको भौचर सात थान , विभिन्न व्याक्तिको सक्कली नागरिकता दुई थान र मतदाता परिचय पत्र दुई थान बरामद गरिएको  प्रहरीले जनाएको छ। 

उनीहरु विरुद्ध ठगी तथा संगठित अपराध शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए।पर्सा प्रहरीले  गत मंसिर १४ गते देखि अहिलेसम्म सामाजिक सञ्‍जालमार्फत लट्री परेको भन्दै ठगी गर्ने गिरोहका २७ जनालाई पक्राउ गरिएको पनि जनाएको छ। 

गत मंसिर १४ गते एक भारतीय र पाँच नेपालीसहित ६ जना, पुष ३ गते दुई भारतीय र एक नेपाली , फागुन ७ गते एक भारतीय र दुई नेपाली, फागुन २१ गते दुई नेपाली र तीन भारतीय , चैत ७ गते एक नेपाली र दुई भारतीय , चैत ३० गते तीन नेपाली र सोमबार चार नेपाली गरी २७ जनालाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक ढकालले जानकारी दिए।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.