समृद्धि सपनाः दूध उत्पादनमा बाँके आत्मनिर्भर बन्दै

समृद्धि सपनाः दूध उत्पादनमा बाँके आत्मनिर्भर बन्दै

नेपालगन्ज : डुडुवा गाउँपालिका–३ हल्कारापुरका रामसुहावन यादव जिल्लामा सबैभन्दा धेरै भैंसी पाल्ने किसानमा गनिन्छन्। उनका गोठमा ६५ वटा भैंसी छन्। जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. वेदबहादुर केसीका अनुसार यादव एक्लैले दैनिक दुई सय ५० लिटर दूध बिक्री गर्छन्। उनको दुई सय ५० लिटर दूध अन्य किसानका लागि समेत भनेर गाउँमै पाँच सय लिटर क्षमताको चिस्यान केन्द्र खोलिएको छ। दुग्ध विकास संस्थान (डीडीसी) ले गाउँमै पुगेर त्यो दूध संकलन गर्छ। यादवले दूध बेचेर वार्षिक २० देखि २५ लाख रुपैयाँ आम्दानी गर्छन्। उनका २५ जना परिवारको आम्दानीको मुख्य स्रोत नै दूध हो। वडा नं. ३ मा मात्र उनीजस्तै दर्जनभन्दा बढी भैंसी पाल्ने यादवको संख्या तीन दर्जनभन्दा बढी छ।

कोहलपुर नगरपालिका–१२ कि शारदा शर्माले २०५८ सालमा १५ हजार रुपैयाँमा एउटा गाई किनेर पाल्न सुरु गरिन्। जुन घरायसी प्रयोजनका लागि मात्र थियो। बाआमाले भारतको आसाम राज्यमा तीन सय गाईपालन गरेका थिए। त्यही अनुभवमा उनी व्यावसायिक गाईपालन गर्ने लक्ष्य बोकेर स्वदेश फर्केकी थिइन्। आफू्ले देखेको सपना साकार पार्न ०६८ सालमा सातवटा उन्नत जातका होलिस्टिक र जर्सी गाई खरिद गरी व्यावसायिक गाईपालन थालिन्, सिर्जनशील गाई फर्म दर्ता गरेर। व्यवसाय थालेको डेढ दशकमै उनी जिल्लाकै व्यावसायिक पशुपालक किसानमा गनिइन्।

अहिले उनको फर्ममा साना–ठूला गरी १५ वटा गाई छन्। त्यसमध्ये १० वटा त बयस्क छन्। दैनिक ७२ लिटर दूध उत्पादन गर्न सफल पशुपालक किसान शर्मालाई बजारको समस्या छैन। विहान उनको घरमा दूघ लिन आउने ग्राहकले खरिद गरेपछिको बाँकी दूध स्थानीय सिर्जना सहकारी संस्थाले खरिद गर्ने गर्छ। दुध बिक्रीबाटै उनले सबै खर्च कटाएर मासिक ६५ हजार रुपैयाँ बचत गर्छिन्। व्यावसायिक रूपमा पशुपालक किसान बनेयता उनले अन्नको भण्डारका रूपमा परिचित बर्दियाको बाँसगढी नगरपालिकामा खेतीयोग्य दुई बिघा जमिनसमेत खरिद गर्न सफल भइन्। उनको जग्गाको मोल दुई करोड ५० लाख पुगेको छ। प्रतिष्ठित औद्योगिक प्रतिष्ठानले माग्दा उनले बिक्री गरिनन्। यसबाहेक उनले कोहलपुर नगरपालिकाको मुटु मानिने एनटीभी रोडछेउ १० धुर जमिनसमेत खरिद गरेकी छिन्। उनी भन्छिन्, ‘सबै सम्पत्ति यही गाईपालन व्यवसायले जोडेकी हुँ।’ तीन कठ्ठा क्षेत्रफलमा रहेको गाई फर्मको जमिन पनि गाईपालनबाटै जोडेकी हुन् उनले। १० सदस्य रहेको परिवारको सम्पूर्ण खर्च र शिक्षाको भरपोषणसमेत यही व्यवसायले धानेको छ। उनका एक जना भाइले स्नातकोत्तरसम्म अध्ययन गरेका छन्। भाइबुहारी पनि स्नातकोत्तर गर्दैछिन्। प्रमाणपत्र तहदेखि विद्यालयसम्मको अध्ययन खर्च पनि यसैले धानेको हो।

व्यवसाय सुरु गरेको १७ वर्षको अवधिमा उनले ४४ वटा साँढे, बहर र गाई बिक्रीबाट ३२ लाख रुपैयाँ आर्जन गरिसकेकी छिन्। होलिस्टिक जातको गाई एक लाख १० हजार रुयैयाँमा बिक्री गरिन्। साँढे २० हजार पाँच सयमा बेच्छिन्। वर्षमा घ्यू मात्र बेचेर ४० हजार रुपैयाँ आम्दानी हुन्छ।


राजनीतिक आस्था, विचारमा पूर्वाग्रही भई गैरकिसानले अनुदान पाउँदा वास्तविक किसानहरू मारमा पर्ने गरेका छन्।

दुग्घ उत्पादक किसानमा बजारको समस्या देखिए पनि आपूmले यस्तो केही भोग्नु नपरेको बताउँदै शर्माले केही वर्षमै आफ्नै निजी लगानीमा डेरी सञ्चालन गर्ने तयारी गरेको बताइन्। त्यसका लागि आवश्यक प्रक्रिया सुरु गरिसकेकी शर्माले गाईपालन व्यवसायलाई अझ व्यवस्थित बनाउन १० कठ्ठा जमिन भाडामा सिजन अनुसारका घाँस तथा डालेघाँस उत्पादन गरेकी छिन्। नेपिएर, बर्मिम, मकैचरी र सिजनअनुसारका अन्य घाँस तथा डालेघाँस रोपेर उनले गाईहरूको आहारा सजिलै व्यवस्थापन गर्ने गरेकी छिन्। यसबाहेक उनले पराल र दानाका लागि मासिक २५ हजार रुपैयाँ छुट्टाउने गरेकी छिन्। अहिलेसम्म उनले उन्नत जातका गाईहरू खरिद गर्नु परेको छैन। सुरुमा व्यवसाय थालनी गरेको गाईलाई कृत्रिम गर्भाधारण गरेरै हालसम्म उनले फर्ममा गाईहरूको प्रजनन गराउने बताइन्। अनुदानमा आएको भ्याक्सिनबाहेक उनले फर्ममा रहेका गाईहरूको औषधोपचारमा कुनै रकम खर्च गर्नु परेको छैन। सामान्य पशुलाई पखाला तथा जुकाको समस्या देखिने लक्षण देखा पर्नासाथ उनले घरेलु जडीबुटी निम, बकाइनोलगायत बनस्पतिबाटै उपचार गर्ने गरेकी छिन्।

उनले सरकारी तथा गैरसरकारी संस्थाबाट थुप्रै पटक सफल उद्यमी र व्यवसायी पुरस्कार र सम्मानसमेत ग्रहण गरिसकेकी छन्। गैरसरकारी संस्था एक्सन एड, जिल्ला युवा समिति बाँके, कोहलपुर नगरपालिकाको तर्फबाट सफल महिला उद्यमी, सिर्जना सहकारी संस्था र अन्य दर्जनौ गैरसरकारी संस्थाबाट सम्मानित भएपछि अझ केही गर्नुपर्छ भन्ने दायित्वबोध भएको उनी बताउँछिन्। पछिल्लो समय वातावरणमैत्री गोठ निर्माणमा जुटेकी शर्मा नगर क्षेत्रमा मात्र सीमित नरही मुलुककै उदाहरणीय र सफल पशुपालन व्यवसायीको रूपमा परिचित गराउन प्रयासरत छिन्।

नेता पनि भैंसीपालनमा

कोहलपुर नगरपालिका–४ मदनचोकमा जनचेतना भैंसी फर्म छ, जुन तत्कालीन नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य टंक लामिछानेकोे हो। लामिछानेले जिल्लास्तरको नेतासँगै सफल पशुपालकको परिचय बनाएका छन्।

परिवारका पाँच जना सदस्यको सम्पूर्ण अध्ययन खर्च र लालनपालन पशुपालनबाट हुने आम्दानीले गरेका छन्। तीन वर्षअघि एउटा भैंसीबाट सुरु भएको उनको व्यवसाय अहिले अहिले १५ वटामा पुगेको छ। आधुनिक गोठसँगै उनको फर्मबाट दैनिक ५० लिटर दूध उत्पादन हुन्छ। लामिछानेले बैंकबाट १० लाख ऋण लिएर पाँचवटा भैंसी किनेका छन् भने २५ लाखमा गोठ निर्माण गरेर राजनीतिसँगै पशुपालक किसानको परिचय बनाएका छन्। उनले अब बैंकलाई मात्र नौ लाख कर्जा तिर्न बाँकी छ, त्यो पनि सहुलियत ब्याजदरमा। व्यावसायिक रूपमा भैंसीपालन सुरु गरेयता उनले जेठो छोरालाई भारतको दिल्लीमा सूचना प्रविधिसम्बन्धी अध्यापन गराए। यसबाहेक उनका दुई छोरामध्ये एकले एसईईको परीक्षा दिएर उच्च शिक्षा अध्ययनका लागि तयारी अवस्थामा छन् र अर्को छोरा कक्षा १० को अध्ययन गर्दैछन् यसबाहेक घरको मासिक खर्च ३० हजार बरारको आर्थिक व्यवस्थापन पनि दूध बेचेरै जीविका चलाइरहेका छन्। उनी भन्छन्, ‘राजनीतिसँगै किसानी गर्न मेरा लागि सहज थिएन तैपनि मैलै पशुपालन व्यवसायलाई अगाडि बढाए।’ पशुलपालन व्यवसायमा सरकारी तथा अन्य गैरसरहकारी संस्थाको अनुदान सहयोगले किसानलाई परनिर्भर बनाउने तर्क राख्दै उनले वास्तविक किसानहरू सरकारी अनुदानबाट बञ्चित हुँदै आएको बताउँछन्। उनका अनुसार सरकारी अनुदान लिन अनुदान रकममा उल्लेख भएमध्ये ५० प्रतिशत मात्र किसानको हातमा आइपुग्ने परिपाटी गलत भएको उनले बताए। सरकारी अनुदान सहयोगका लागि प्रक्रिया अगाडि बढाउँदा बिचौलियालगायत सम्बन्धित मन्त्रालयका कर्मचारीलाई अनुदानको ५० प्रतिशत रकम दिनुपर्ने अवस्था आएपछि आपूmले कुनै पनि अनुदान नलिएको उनले बताए।

उनी भन्छन्, ‘मेरो सम्पूर्ण परिवारको पालनपोषण भैंसी पालेरै टारिरहेको छु भने किन नाममात्रको अनुदान लिएर सरकारी तथा गैरसरकारी संस्थालाई धन्यवादको पात्र बनाउने ? ’ वास्तविक किसानमैत्री सरकार बन्न नसकेको गुनासो गर्दै उनले राजनीतिक आस्था, विचारमा पूर्वाग्रही भई गैरकिसानले अनुदान पाउँदा वास्तविक किसानहरू मारमा पर्ने गरेको बताए। विशेष गरी बिजुलीको कमभोल्टेज समस्याले पानी व्यवस्थापन समस्याका रूपमा देखिएको उनको भनाइ छ। उनले आफ्नो फर्ममा आवास भोजन र लत्ताकपडाको व्यवस्थासहित अतिरिक्त मासिक १० हजार उपलब्ध गराउने गरी एक जनालाई रोजगारी समेत दिएका छन्। दूध उत्पादन भइसकेपछि घरमा बिक्रीपछिको दूधको व्यवस्थापन गर्न छोराहरू मोटरसाइकलमै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालअन्तर्गतको नर्सिङ्ग क्याम्पससम्म पुग्छन्। बजार मागअनुसार दूध उत्पादन गर्न नसकिरहेको उनी बताउँछन्। यसका लागि राज्यले कुनै ठोस रणनीति अवलम्बन गर्न नसक्नु बिडम्बना भएको उनको भनाइ छ।

अबका दिनमा राज्य पक्षले कृषि क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न आवश्यक रहेको उनी बताउँछन्। राज्यले किसानमैत्री नीति बनाउन सके मुलुकले कृषि र पशुपालनमा उल्लेख्य उपलब्धि हासिल गर्न सक्ने उनको तर्क छ।

उत्पादन र बिक्री आफैं

जानकी गाउँपालिका–२ मा अम्बिका शर्माको गौतम लाइभ स्टक क्याटल फार्म छ। जहाँ १५ वटा गाई छन्। २०६८ सालमा चितवनबाट एक लाख ३० हजार रुपैयाँमा दुईवटा होलिस्टिन गाई ल्याएर फार्म सुरु गरेकी हुन्। उनले २५ वटासम्म गाई पालेकी छन्। भर्खंरै १० वटा गाई बेचेको बताउने शर्मालाई उचित मोल नपाएकोमा चित्त दुखाइ छ। ‘मैले किन्दा एउटा गाईको घटीमा ६० हजार रुपैयाँ थियो। बेच्दा त्यसको ठिक आधा मोल पाएँ। प्रतिगाई ३० देखि ४० हजार रुपैयाँमा बेच्न प¥यो’, उनी भन्छिन्, ‘हिजोआज गाईको मोल घटेको छ।’

अहिले उनको फर्मबाट दैनिक ४१ लिटर दूध उत्पादन हुन्छ। त्यसको खपत नेपालगन्जको सेतु बिक चोकको आफ्नै डेरीमा हुन्छ। उनले ३६ लाख रुपैयाँमा गृहलक्ष्मी डेरी किनेर सञ्चालन गरेकी छन्। मासिक ५० देखि ६० हजार रुपैयाँ आम्दानी हुने उनको अनुभव छ। उनको डेरीमा आफ्नोबाहेक एक हजार दुई सय लिटर दूध बिक्री हुन्छ। गाईका लागि खुवाउन उनले एक बिघा जग्गामा घाँस खेती गरेकी छन्। उनी भन्छिन्, ‘नपढेका व्यक्तिका लागि गाईपालन आम्दानीको राम्रो स्रोत हो।’

राम सुहावन, शारदा, टंक र अम्बिका व्यावसायिक पशुपालन किसानका प्रतिनिधि पात्र मात्र हुन्। जिल्लामा सयौंको संख्यामा किसानहरू पशुपालनमा क्रियाशील छन्। चरिचरनको राम्रो व्यवस्था भएका कारण पनि जिल्लामा परम्परागत रूपमा गाई र भैंसीपालन पनि उत्तिकै छ। जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. वेदबहादुर केसी बाँके जिल्ला दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको बताउँछन्।

गाईभैंसी पकेट क्षेत्र

जिल्ला पशु सेवा कार्यालयका अनुसार जिल्लामा एक दर्जनभन्दा बढी गाई र उत्तिकै संख्यामा भैंसीको पकेट क्षेत्र घोषणा गरिएको छ। बागेश्वरी, कोहलपुर, सीतापुर महादेवपुरी, कचनापुर, वनकटवा, चिसापानी र बैजापुर गाई पकेट क्षेत्र हुन् भने भैंसी पकेट क्षेत्र कोहलपुर, परसपुर, वनकटवा, बेलभार, बनकट्टी, मनिकापुर र शम्शेरगन्जमा पर्छन्। कार्यालयका पशु प्राविधिक कर्मध्वज छन्त्यालका अनुसार जिल्लामा दुई सय ३५ गाईभैंसी फर्मबाट ४५ हजार मेट्रिक टन दूध उत्पादन हुन्छ। १४ हजार दुई सय २५ मेट्रिक टन गाईको दूध र ३१ हजार ७७ मेट्रिक टन भैंसीको दूध उत्पादन हुन्छ। जहाँ दुई दर्जनको हाराहारीमा डेरी उद्योग सञ्चालन गरिएका छन्।

जिल्लामा दूधको कारोबार गर्न सहकारी नै खुलेका छन्। पशु सेवा कार्यालयको रेकर्डमा यस्ता सहकारी नौवटा छन्। सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय बाँकेका अनुसार दूधको कारोबार गर्ने सहकारीको संख्या सातमात्र छ। नेपालगन्ज उपमहानगर, कोहलपुर नगरपालिकाका साथै खजुरा, राप्ती सोनारी र बैजनाथ गाउँपालिकामा दूग्ध उत्पादक सहकारी सञ्चालित छन्। कार्यालयका निमित्त प्रमुख दिलकुमार वली ०७१÷०७२ मा कोहलपुरमा रहेको बागेश्वरी दुग्ध प्रशोधन सहकारी संस्था लिमिटेडलाई भने खारेज गरिएको बताउँछन्।

सहकारीका अवाला डेरी उद्योगले दूध संकलन, प्रशोधन, दुग्ध पदार्थ उत्पादन गरी बिक्री वितरण गर्छन्। जिल्ला दूग्ध उत्पादक व्यवसायी संघ नेपालगन्जमा आबद्ध डेरी उद्योगको संख्या १८ छ। संघका अध्यक्ष बसरुद्दिन अन्सारी दैनिक १५ हजार लिटरदेखि २० हजार लिटरसम्म दूध बिक्री हुने बताउँछन्। दूध तथा दूग्ध पदार्थ (दही, पनिर, खुवा, आइसक्रिम, घ्यूलगायत) उत्पादन भएर स्थानीय बजारमै बिक्री हुने गरेको छ। भारतबाट आउने दूध मूख्य समस्या हो। दैनिक अहिले पनि दुई हजार लिटर लिटरदेखि दुई हजार पाँच सय लिटरसम्म भारतीय दूध आउँछ। नेपालगन्ज भन्सार कार्यालय हुँदै, बेतहनी, होलिया, नरैनापुर र सुइया बघौडा क्षेत्रबाट पनि अवैध दूध आउने गरेको उनले बताए।

‘वैशाख, जेठ, असार र साउनलाई ड्राइ सिजन मानिन्छ तर जेठमै यसपटक जेठमै तीन पटक मिल्क होलिडे गर्नुप¥यो। दूध उत्पादनमा हामी आत्मनिर्भर भइसकेका छौं’, अध्यक्ष अन्सारी भन्छन्। उनी भारतीय गुणस्तरहीन दूध स्थानीय बजारमा खुलेआम बिक्री हुनुलाई दुःखद मान्छन्। उनले भने, ‘भारतको बहराइचमा रहेका ठुल्ठूला डेरीले रिजेक्ट गरेको गुणस्तरहीन दूध नेपालमा ल्याक्टो मात्र परीक्षण गरेर बिक्री भइरहेको छ। सरकार नियन्त्रण गर्न सकिरहेको छैन।’ भारतको नानपारा, बाबागन्ज, नवावगन्ज, कानीबोझी, मिहिपुरुवालगायत ठाउँबाट नेपालमा दूध आउँछ। भारतबाट आउने दूधमा क्रिम झिकिएको हुन्छ तर सीमामा रहेको क्वारेन्टाइनमा दूधमा क्रिम भए÷नभएको परीक्षण हुँदैन। सस्तोमा पाइने यस्तो दूध नेपालगन्जमा चिया पसलहरूमा निर्वाध बिक्री भइरहेको छ। भारतबाट दूध तथा दुग्ध पदार्थ आयात गर्दा १५ प्रतिशतसम्म कर तिर्नुपर्छ तर क्वारेन्टाइनको चिट लिनेबाहेक व्यवसायीले भन्सार नतिर्ने गरेको डेरी व्यवसायीहरू बताउँछन्।

ठूलो खरिदकर्ता डीडीसी

दुग्ध विकास संस्थान (डीडीसी) को कोहलपुरस्थित नेपालगन्ज दुग्ध वितरण आयोजनाले यहाँको ठूलो परिणाममा दूध संकलन गरी बिक्री वितरण गर्छ। यहाँको दूध काठमाडौं, पोखरा र विराटनगरसम्म पुग्छ। आयोजनाले दूध तथा दुग्ध पदार्थ (दही, पनिर, खुवा, चिज, घ्यूलगायत) स्थानीय बजारमा बिक्री गर्छ। आयोजनामार्फत पनि दैनिक चार सय लिटरदेखि ६ सय लिटरसम्म दूध बिक्री हुने गरेको छ। सिजनमा १२ हजारदेखि १५ हजार लिटरसम्म र ड्राइ सिजनमा ६ हजारदेखि आठ हजार लिटरसम्म बाँकेबाटै दूध संकलन हुन्छ।

योजनाका प्रशोधन तथा ल्याब प्रमुख अर्जुन पन्थी अघिल्लो वर्षभन्दा यस वर्ष ड्राइ सिजनमा पनि दूध उत्पादन बढेको बताउँछन्। आयोजनाको १५ हजार लिटर दूध स्टोर गर्न सक्ने र एक हजार लिटर प्रशोधन गर्ने क्षमता छ। क्षमताभन्दा बढीको दूध भएमा स्थानीय मिल्क होलिडेको मारमा पर्छन्। पोखरा र विराटनगरको पाउडर प्लान्टमा दूध पठाइने भएकाले दूधको खपत उल्लेख्य भइरहेको छ।

पशु क्वारेन्टाइन कार्यालय बाँकेका प्राविधिक तिलक आचार्य पनि दैनिक २८ देखि २९ जना व्यवसायीले नेपालगन्जमा भारतीय दूध ल्याउने गरेको बताए। गत जेठ महिनामा मात्र ३९ हजार तीन सय ७५ लिटर दूध भारतबाट आएको क्यारेन्टाइनको रेकर्डमा देखिन्छ। ‘दैनिक औसत एक हजार लिटरदेखि एक हजार पाँच सय लिटर दूध आयात हुन्छ’, आचार्यले भने, ‘क्वारेन्टाइनले ल्याक्टो टेस्ट र फिँज आएको हेर्ने गरेको छ। कम्तीमा ल्याक्टो ३० हुनुपर्ने हुन्छ। मापदण्ड नपुगेको र फिँज देखिएको दूध फिर्ता गर्छौं।’ दूधमा हुनुपर्ने चिल्लो पदार्थको अवस्था कस्तो छ भन्ने जाँच्ने उपकरण क्वारेन्टाइनसँग छैन। त्यसैले ल्याक्टो हेरेर बेच्ने स्विकृति दिने गरेको छ। यसरी आएको दूध नेपालगन्जका चिया र मिठाइ पसलमा सस्तो मूल्यमा बिक्री हुन्छ। व्यवसायीहरू यस्तो दूध आयातमा कडाइ गर्न सके स्थानीय किसान नै लाभान्वित हुने बताउँछन्।

सरकारले गत वर्षकै बजेटमा तीन वर्षभित्र मकै, माछा र दूधमा आत्मनिर्भर हुने लक्ष्य लिएको छ। ‘बाँकेमा जस्तै दूध उत्पादन हुने हो भने सरकारको लक्ष्य पूरा हुन समय लाग्ने थिएन कि ? ’ उनले प्रश्न गरे।

 

 

जिल्लामा दूध उत्पादन अवस्था

गाई फार्म: ११७

भैंसी फार्म : ११८

भैंसी संख्या: १०२४

सहकारी डेरी: ९

निजी डेरी: २३

गाईको दूध उत्पादन: १४२२५ मेट्रिक टन

भैंसीको दूध उत्पादन: ३१०७७ मेट्रिक टन

स्रोत: जिल्ला पशु सेवा कार्यालय, बाँके

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.