कालोझन्डा राखेर नमाज पढियो

कालोझन्डा राखेर नमाज पढियो

भैरहवा : सरकारले बिदा हटाएको विरोधमा भैरहवामा इस्लाम धर्मावलम्बीले आफ्नो महान् पर्व इदुल फित्र (इद) मा कालोझन्डा राखेर नमाज पढेका छन्। मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिए पनि मुस्लिम सामुदायको महान् पर्वमै बिदा कटौती गर्नु दुःखद भएको मुस्लिम वेयलफेयर सोसाइटी भैरहवाका सचिव मोहम्मद अकिलले बताए। ‘अहिले हामीले सांकेतिक रूपमा कालोझन्डा राखेर शान्तिपूर्ण विरोध गरेका छौं’, उनले भने, ‘यदि सरकार हाम्रो मागको विषयमा सचेत नभए कडा संघर्षमा उत्रिन बाध्य हुनेछौं।’

इतिहासमै पहिलो पटक कालोझन्डा लगाएर इदको नमाज पढेको सचिव अकिलले बताए। इदको बिदा कटौती गरेको विरोधस्वरूप रुपन्देहीका साथै मुलुकको विभिन्न सहरमा कालोझन्डा राखेर नमाज पढिएको छ। बिदा कटौतीलाई लिएर मुलुकभरकै मुस्लिम समुदायको विभिन्न संघसंस्थाद्वारा पटक पटक सरकारलाई आग्रह गरे पनि सरकारले बेवास्ता गरेको सरोकारवालाको गुनासो छ। आत्मसंयम र शुद्धिका लागि एक महिनासम्म गरिने रमजान पर्वको रोजा (व्रत) सकिएको भोलिपल्ट इद पर्व मनाउने गरिन्छ। ‘इदको अर्थ खुसियाली हो, रमजान सकिएको उपलक्ष्यमा खुसियाली मनाइएकाले यो पर्वको नाम इदुल फित्र भएको हो’, ओमसतिया–२ का परवेज आलम खानले भने।

यस वर्ष शनिबारको दिन इदुल फित्र परेकाले भैरहवा तथा यस आसपास क्षेत्रका मुस्लिम धर्मावलम्बी बिहानदेखि नै नजिकको इदगाह, मस्जिद, खुला चौरमा भेला भई सामूहिक रूपमा नमाज (प्रार्थना) गरे। त्यसपछि एकअर्कासँग हातेमालो र अँगालो मारी इदको बधाई तथा शुभकामना आदानप्रदान गरी खुसियाली मनाए।

भैरहवाको बसडिलवा, गल्लामण्डीको इदगाहलगायत स्थानमा जम्मा भई संयुक्त रूपमा नमाज पढी शुभकामना आदान प्रदान गरे। इस्लामका प्रवर्तक तथा अल्लाहका सन्देशवाहक पैगम्बर हजरत मोहम्मद सल्लल्लाहु अलैहिवस्सलामले रमजानबारे ‘जब रमजान सुरु हुन्छ तब स्वर्गको ढोका खोलिन्छ र नर्कका ढोका बन्द हुन्छ’ भनी बताएको खानको भनाइ छ।

इस्लामिक पात्रो हिजरी संवत्अनुसार रमजान नवौं महिनाअन्तर्गत पर्छ। पात्रोमा यसलाई पूर्णरूपमा ‘रमजानल मुबारक’ भनिन्छ। विश्वभरका इस्लाम धर्मावलम्बी एक महिनासम्म रोजा बस्छन्। इदको दिन बिहानै उठेर नुहाई धुहाई गरी सफा लुगा लगाएर नमाजपछि इदको विशेष परिकार सेवइका साथै अन्य मीठा परिकार खाएर शुभकामनासहित पाहुनालाई स्वागत गर्छन्। यो क्रम दिनभर चल्छ। विपन्न, अशक्त, टुहुरा, असहाय आदिलाई दान दिएर खुसी पार्नुपर्ने यो चाडको विशेषता रहेको भैरहवाका नेयाज अहमद खानले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.