समलिंगीलाई समाजमा अझै सकस

समलिंगीलाई समाजमा अझै सकस

स्याङ्जा : बाटोतिर निस्कियो कि गोविन परियारलाई अरूले जिस्क्याएर हैरान पार्छन्। कहिले छक्का भन्दै हेप्छन् त कहिले कस्तो केटीजस्तो केटा भन्दै जिस्क्याउँछन्। अझ हिजडा शब्द सुन्नुपर्दा त उनको मनै बिझाउँछ। यस्तै विभिन्न हैरानीका कारण उनी समाजमा खुलेर निस्कन कठिन छ। भन्छन्, ‘हामी बाहिरतिर निस्कँदा यस्तै कुरा सुन्नुपर्छ। त्यसैले भित्रै थुनिनुपर्छ।’ गोविन समलिंगी हुन्। समलिंगी हुनु उनको रहर होइन बाध्यता हो।

शरीरिक रूपमा कोविन केटा भए पनि उनी केटैप्रति नै आकर्षित हुन्छन्। विपरीत लिंगीप्रति उनमा कुनै आकर्षण आउँदैन। प्रकृतिले नै उनलाई त्यस्तो गुण दिएको हो। समाजले अनौठो मान्ने समस्या एकातिर छँदै छ, अर्काेतिर राज्यले पनि उस्तै निम्छरो बनाइदिएको गोविनजस्तै समलिंगीको गुनासो छ। समलिंगी र तेस्रोलिंगीको मानवअधिकार अभियन्ता विन्दिया गौतम भन्छिन्, ‘राज्यले अझै हाम्रो पहिचान स्विकार्दैन। पहिचानअनुसार नागरिकता दिन मान्दैन।’

समाज र राज्यकै कारण आफूजस्ता थुप्रैले आफ्नो पहिचानअनुसार स्वाभिमानीपूर्वक खुलेर बाँच्न नसकेको गौतमको भनाइ छ। ‘जन्मदर्ताका आधारमा नागरिकता पाउने व्यवस्था परिवर्तन गर्र्दै पहिचानका आधारमा नागरिकता पाउने वातावरण बनाए मात्रै हाम्रो पहिचान खुल्छ’, मंगलबार स्याङ्जामा आयोजित कार्यक्रममा विन्दियाले भनिन्, ‘सन्तान जन्मनेबित्तिकै बालक वा बालिका आमा बाबाको संरक्षणमा जन्मदर्ता हुन्छ। तर, पछि उसले बुझ्ने भएपछि आफ्नो पहिचान बनाउँछ।’

समलिंगी र तेस्रोलिंगीका लागि विशेष कार्यक्रममार्फत पहिचान खुल्ने गरी नागरिकता दिने व्यवस्था मिलाउनुपर्ने परिवर्तन नेपालका अध्यक्ष राज क्षेत्रीको भनाइ छ। समलिंगी र तेस्रोलिंगीका क्षेत्रमा काम गर्दै आएको नीलहीरा समाजको कार्यालयमा आएर खुलेर कुरा गर्नेहरू थुपै्र भए पनि समाजमा खुल्न नसकेका धेरै भएको पीताम्बर क्षेत्रीले सुनाए। ‘राज्यको हेराइमा केही परिवर्तन भए पनि समाजको हेराइमा अझै समलिंगी र तेस्रोलिंगीमाथि विभेद छ’, उनले भने।

गौतमका अनुसार स्याङ्जामा समलिंगी र तेस्रोलिंगीको संख्या उल्लेख्य छ। तर, उनीहरू समाजमा खुल्न सकेका छैनन्। पुतलीबजार नगरपालिका–१ स्थित नीलहीरा समाजको कार्यालयमा सम्पर्कमा आएर समलिंगी तथा तेस्रोलिंगी भनी पहिचान खुलाउनेको संख्या ७ सय हाराहारीमा रहेको क्षेत्रीले जानकारी दिए। नीलहीरा समाजले सन् २०११ देखि स्याङ्जामा महिला समलिंगी, पुरुष समलिंगी, फरक लिंगी, तेस्रोलिंगी र अन्तरलिंगी (एलजीबीटीआई)का हक, हित र सुरक्षा क्षेत्रमा काम गर्दै आएको जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.