५ महिनाकी हिमानीको कलेजोमा समस्या, आर्थिक सहयोग गरिदिन बाबुको अपिल
बागलुङ : बागलुङको तमानखोला गाउँपालिका–१ का केशबहादुर अर्गेजा मगरले छोरीको जीवन रक्षाका लागि सहयोगको अपिल गरेका छन् । ५ महिनाकी छोरी हिमानी अर्गेजा मगरको कलेजोमा समस्या देखिएको र उपचारका लागि ठूलो रकम लाग्ने भएपछि सहयोगका लागि अपिल गर्नुपरेको उनले बताए ।
गत चैत ७ गतेदेखि गम्भीर बनेकी हिमानीको कान्ति बाल अस्पताल काठमाडौंको आईसीयुमा उपचार भएको थियो । अस्पतालका चिकित्सकका अनुसार हिमानीको उपचारका लागि कलेजो प्रत्यारोपण मात्रै विकल्प भएको र त्यो भारतमा सम्भव हुने बताएपछि परिवारले अस्पतालबाट लिएर कोठामा राखेको बुबा केशबहादुरले बताए ।
उनले उपचारका लागि भारत लैजान र कलेजो प्रत्यारोपण गर्न आर्थिक अभाव भएकाले सहयोगको याचना गर्नुपरेको दुखेको पोखे । ‘काठमाडौंकै वीर अस्पताल र टिचिङ अस्पतालमा पनि प्रयास गर्यौं, त्यसपछि कान्ति बाल अस्पतालमा उपचार गरेका थियौं,’उनले भने,‘अस्पतालले उपचार सम्भव नभएको भन्दै कि घर लैजा कि प्रत्यारोपण गर्न भारत लैजा भनेर डिस्चार्ज गरिदिएपछि अहिले काठमाडौंको कोठामा राखेका छौं ।’
छोरीलाई भारतको एपोलो अस्पतालमा लगेर कलोजो प्रत्यारोपण गर्नुपर्ने र त्यसका लागि ४५ लाख बढि रुपैयाँ लाग्ने भएकाले सहयोगको अपिल गरेका हुन्। ‘सानो खर्चमा उपचार हुन्थ्यो भने जसोतसो गरी यतै गर्थें , भारत लैजा भनेको छ,’उनले भने, ‘कलेजो फेर्नका लागि ४५ लाख खर्च लाग्छ रे । गाउँमा खेती किसानी गरेर बस्ने मैले कसरी जुटाउँ त्यत्रो पैंसा ?’
हिमानीको उपचारमा आर्थिक समस्या भएको आफन्त गोपी गगन पुनले बताए । ‘परिवारको आर्थिक अवस्था निकै कमजोर छ,खेती किसानी गरेर बिहान बेलुकाको छाक टार्ने परिवार हो,’उनले भने,‘देश विदेशमा रहनुभएका सहयोगी मनका धनी व्यक्तिहरूले आर्थिक सहयोग गरिदिने आशामा नानीलाई बचाउन सकिएला कि भनेर सहयोगको अपिल गरेका छौं। सकेजति सहयोग गरिदिन आग्रह गर्दछौं।'
सहयोग गर्न चाहानेहरूले हिमानीका बुबा केशबहादुर अर्गेजाको ग्लोबल आईएमई बैंक गोंगबु शाखा काठमाडौंमा रहेको खाता नम्बर ०३३०९०१२४२०६५२ मा सिधै सहयोग रकम जम्मा गर्न सक्नेछन् ।
यसैगरी सहयोगका लागि ९८६७६४३२२५, ९८४९४६१३३९ मोबाइल नम्बरमा सम्पर्क गर्न सकिनेछ।