पाँच हजार घुससहित विद्युत कर्मचारी पक्राउ
महेन्द्रनगर : नेपाल विद्युत प्राधिकरणको गड्डाचौकीस्थित कार्यालयमा कार्यरत एक कर्मचारी नगद पाँच हजारसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले विद्यु प्राधिकरणमा कार्यरत कर्मचारीलाई रंगेहात पक्राउ गरेको हो ।
बुधबार अख्तियार कञ्चनपुरको टोलीले नेपाल विद्युत प्राधिकरण कार्यालय गड्डाचौकीको फ्युज सेवा कार्यालयमा कार्यरत कर्मचारी हर्कबहादुर चन्दलाई पक्राउ गरेको हो । अख्तियार कञ्चनपुरका डीएसपी प्रेमसागर केसीले सेवाग्राहीबाट नगद पाँच हजार रुपैया लिएको अवस्थामा रंगेहात पक्राउ गरेको बताए ।
उनका अनुसार विद्युतका कर्मचारी चन्दले सेवाग्राहीबाट मिटर उपलब्ध गराइदिने सर्तमा पाँच हजार रकम लिएका थिए । विद्युत प्राधिकरणका कर्मचारीले मिटर उपलब्ध गराउने, जडान गर्ने र विद्युत सेवा दिने भन्दै सेवाग्राहीबाट पाँच हजार रकम लिएको उजुरी परेपछि उनलाई अख्तियारले रंगेहात समातेको हो ।
नेपाल विद्युत प्राधिकरण कार्यालय महेन्द्रनगर शाखा र अन्य शाखामा लामो समयदेखि सेवा दिने नाममा कर्मचारीले रकम असुल्ने गरेको यसअघि समेत गुनासो आउने गरेको थियो । कर्मचारीले मिटर जडान गर्नेदेखि लिएर अन्य काममा रकम असुल्ने गरेको बुझिएको छ ।