महानगरको बजेट साढे ५ अर्ब

महानगरको बजेट साढे ५ अर्ब

पोखरा : पोखरा लेखनाथ महानगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को लागि साढे ५ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। महानगरपालिकाको असार १० गते हुने तेस्रो नगरसभामा बजेट प्रस्तुत गर्ने तयारी गरिएको हो। सभामा प्रस्तुत गर्ने नीति, कार्यक्रम, योजना र बजेटको तयारीमा महानगर जुटेको छ। गत वर्षको बजेट ४ अर्ब ३ करोड रुपैयाँ थियो। गत वर्षभन्दा यो वर्ष करिब डेड अर्ब बढी बजेट ल्याउने तयारीमा महानगर जुटेको छ।

महानगरलाई स्मार्टसिटी बनाउने पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भएको महानगरपालिका मेयर मानबहादुर जिसीले बताए। उनका अनुसार नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयका बारेमा विभिन्न क्षेत्रका विज्ञसँग महानगरपालिकाले छलफल गरिरहेको छ। महानगरपालिका योजना आयोग र महानगर विकास परिषद् बनाउने तयारीमा पनि छ। महानगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने योजनाको बारेमा कास्कीका प्रदेश र संघीय सांसदसँग बुधबार छलफल गरेको छ।

मेयर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा सांसदले स्मार्टसिटीको पूर्वाधारलाई प्राथमिकता दिएर बजेट बनाउन सुझाएका छन्। संघीय सांसद खगराज अधिकारीले स्याङ्जा र पर्वततर्फ जाने लामो दुरीका सवारी साधनलाई बजारमा प्रवेश नगराई बाइपास सडकमार्फत् आउजाउ गर्ने व्यवस्था मिलाएर पोखराको ट्राफिक जामलाई घटाउनु पर्ने बताए। उनले छोरेपाटनदेखि स्याङ्जाको पुतलीबजार र हेम्जाको फेदीदेखि डिमुवासम्म सुरुङ मार्ग निर्माणको लागि डीपीआर बनाउनुपर्ने बताए। महानगर भित्र रिङरोड बनाउन पनि उनले सुझाएका छन्।

प्रदेशसभा सांसद कृष्ण थापाले पोखराका एतिहासिक डाँडालाई ग्रीन सेटेलाइट सिटी बनाउनुपर्ने बताए। सन १९७२, १९९७ र २००० मा गरी तीन वटा विकासको गुरु योजना बनेपनि त्यसलाई परिमार्जित गर्दै अब नयाँ गुरु योजना बनाउनुपर्ने बताए। साविक पोखरा उपमहानगरपालिकाका पूर्वमयेर समेत रहेका थापाले वडालाई बजेट विनियोजन गर्दा जनसंख्या, भूगोल, कर कति उठाउँछ, इतिहास, पूर्वाधारको अवस्था र नयाँ वडालाई प्राथमिकता राख्नुपर्ने बताए।

सांसद दीपक कोइरालाले लेखनाथबासीले महानगरको अनुभूति गर्न नपाएको बताउँदै उनीहरुको माग सम्बोधन गर्नुपर्ने बताए। सांसद मनबहादुर गुरुङले विजयपुर खोला किनारमा करिडोर बनाउनुपर्ने बताए। उनले पोखरादेखि २ घण्टाको यात्रापछि हिउँ छुन सकिने ठाउँ भएकाले ती ठाउँलाई पर्यटकीय गन्तव्य बनाउनुपर्ने सुझाए। सांसद विन्दुकुमार थापाले सार्वजनिक जग्गाको संरक्षण, सुकुम्बासी समस्या समाधान, करदाता मैत्री सुशासन आवश्यक भएको उनको भनाइ छ।

सांसद राजीव पहारीले चाक्ला सडक र पार्किङ स्टेसन बनाउँदै पोखराको कुनै एक ठाउँलाई स्मार्टसिटीको झल्को दिनेगरी विकास गर्नुपर्ने बताए। सांसद रामजी बरालले महानगरले फोहोर व्यवस्थापनमा ध्यानदिनुपर्ने बताए। सांसद मित्रकुमारी गुरुङ सुवेदीले खानेपानी व्यवस्थापन र महिला कानुनी परामर्शलाई प्रभावकारी बनाउन सुझाइन्। सांसद गायत्री गुरुङले एतिहासिक कोटलाई पर्यटकीय गन्तव्य बनाउन सुझाइन्। सांसद पुष्पा केसी भण्डारीले बजारलाई सफा राख्न प्लास्टिकको विकल्प खोज्नुपर्ने बताइन्। पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले विभिन्न ५ वटा समिति बनाएर नीति, कार्यक्रम र बजेट निर्माण बारे काम भइरहेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.