अर्को सुखद नतिजाको प्रतीक्षा
मस्को : विश्वकप फुटबलमा पहिलो खेल खेल्दा आइसल्यान्डले लियोनल मेसीको नेतृत्वमा रहेको दुई पटकको विश्वकप च्याम्पियन अर्जेन्टिनालाई १-१ गोलको बराबरीमा रोक्न सफल भयो । आइसल्यान्डका लागि यो उसले कल्पना गरेभन्दा पनि उत्कृष्ट नतिजा रह्यो । जनसंख्याको दृष्टिकोणबाट विश्वकप खेल्ने हालसम्मकै सबैभन्दा सानो देश आइसल्यान्डले शुक्रबार समूह ‘डी’ अन्तर्गतको खेलमा अफ्रिकी टोली नाइजेरियासँग प्रतिस्पर्धा गर्दा पनि सुखद नतिजाको प्रतीक्षामा रहनेछ ।
पहिलो खेलमा आफूभन्दा निक्कै बलियो टोली अर्जेन्टिनासँग एक अंक खोसेपछि प्रतियोगितामा आइसल्यान्डको प्रिक्वार्टरफाइनल चरण प्रवेशको सम्भावना पनि बलियो नै छ । समूहगत चरणका बाँकी रहेको दुई खेलको जितले आइसल्यान्डलाई पहिलो सहभागितामै विश्वकपको प्रिक्वार्टरफाइनलमा पुर्याउने निश्चित छ । त्यसैले रक्षात्मक खेल्दै काउन्टर एट्याकमा गोल गर्ने रणनीति अपनाउने आइसल्यान्ड अर्काे अप्रत्याशित नतिजा निकाल्न सक्षम पनि छ ।
पहिलो खेलमा क्रोएसियासँग २-० ले पराजित भएको नाइजेरियालाई पनि प्रतियोगितामा टिकिरहन कुनै पनि अवस्थामा जित आवश्यक छ । आइसल्यान्डसँगको पराजयले नाइजेरियाको प्रिक्वार्टरफाइनल चरण प्रवेशको सम्भावना समाप्त हुन पनि सक्छ । त्यसैले शुक्रबार विश्वकप फुटबलमा पहिलो पटक आमनेसामने हुँदा आइसल्यान्ड र नाइजेरिया दुवैको लक्ष्य जितकै हुनेछ ।
यसैगरी शुक्रबार नै हुने समूह ‘ई’ अन्तर्गतको अर्को खेलमा स्विट्जरल्यान्डले सर्बियाको सामना गर्दैछ । आफ्नो पहिलो खेलमा कोस्टारिकालाई १-० गोलले पराजित गर्दै समूहमा सर्वाधिक तीन अंक बटुलेको सर्बिया सहज अवस्थामा छ । बलियो प्रतिद्वन्द्वी ब्राजिललाई १-१ गोलको बराबरीमा रोक्दै अंक खोसेको स्विट्जरल्यान्डलाई प्रतियोगिताको नकआउट चरण प्रवेशको सम्भावना जीवितै राख्न कुनै पनि अवस्थामा जित आवश्यक छ । यी दुई टोलीले यसअघि भने कुनै पनि प्रतियोगितामा एकअर्काविरुद्ध प्रतिस्पर्धा गरेका छैनन् ।
अल्फ्रेड फिन्बोगासन (आइसल्यान्ड)
पहिलो पटक विश्वकपका लागि छनोट भएको आइसल्यान्डले आफ्नो पहिलो खेलमा कमालकै प्रदर्शन ग¥यो । लियोनल मेसीको नेतृत्वमा रहेको दुई पटकको विश्व च्याम्पियन अर्जेन्टिनालाई १–१ गोलको बराबरीमा रोकेको आइसल्यान्डले फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा ‘ड्रिम डेब्यु’ नै ग¥यो । जनसंख्याको दृष्टिकोणले विशवकप खेल्ने सबैभन्दा सानो देश आइसल्यान्डको यो ड्रिम डेब्यूमा अल्फेड फिन्बोगासनको योगदान विशेष रह्यो ।
सर्जियो एग्वेरोले अर्जेन्टिनालाई १–० ले अघि बढाएको अवस्थामा उनै फिन्बोगासनले गोल गर्दै आइसल्यान्डलाई बराबरीमा फर्काएका थिए । उनी हालै ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो उपस्थिति देखाउन सुरु गरेको आइसल्यान्डका लागि महत्वपूर्ण खेलाडी रहँदै आएका छन् । आफ्नो पहिलो विश्वकप सहभागितालाई अझ अविस्मरणीय बनाउन प्रतियोगितामा बाँकी रहेको खेलमा पनि उनले यस्तै महेनत र गोलमार्फत योगदान पुर्याउने विश्वास गरिएको छ ।
गोलका लागि सही समयमा सही ठाउँमा पुग्न सक्ने र प्राप्त अवसरलाई गोलमा परिणत गर्न सक्ने क्षमताले नै उनलाई आइसल्यान्डको मुख्य स्ट्राइकरको रूपमा स्थापित गराएको छ । हावाको बलमा केही कमजोर देखिने गरे पनि उनी टोलीका लागि विश्वासिला स्ट्राइकर हुन् । जर्मन क्लब अग्सबर्गबाट व्यावसायिक फुटबल खेल्दै आएका उनी यो सिजन चोटका कारण केही समय मैदानमा उत्रन सकेका थिएनन् ।
यद्यपि आइसल्यान्डको रुस विश्वकप तयारीपछि भने उनी निकै लयमा देखिएका छन् । आइसल्यान्डको राष्ट्रिय टोलीबाट हालसम्म ४८ खेल खेलेका २९ वर्षीय फिन्बोगासनले १४ गोल पनि गरेका छन् ।