तिलागुफा नगरपालिकाको बजेट : विद्युत, सडक र कृषिलाई प्राथमिकता
कालिकोट : कालिकोट जिल्लाको तिलागुफा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७५∕२०७६ को बजेटमा विद्युत, सडक र कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ। जिल्लाका तीनवटा नगरपालिका तथा ६ वटा गाउँपालिकामध्ये पहिलोपटक नगरसभाको आयोजना गरी बजेटमा विद्युत, सडक र कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएको हो।
तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीको अध्यक्षता, जेष्ठ नागरिक ८० वर्षीया बलबहादुर शाहीको प्रमुख आतिथ्यमा भएको चौथो नगरसभामा नगरपालिका उप-प्रमुख दर्शना नेपालीले आगामी आर्थिक वर्ष २०७५∕२०७६ को कुल ३५ करोड, ३५ लाख ७० हजार बजेट सार्वजानिक गर्दै बजेटमा विद्युत, सडक र कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएको जानकारी गराइन्।
उनले भनिन्,' स्थानीय सरकारमा प्रयाप्त बजेट अभावका कारण जनताको अपेक्षाअनुसार विभिन्न योजनामा बजेट अपुग भएको छ। संविधानमा ८० प्रतिशत अधिकार दिएको स्थानीय सरकारलाई सरकारले २० प्रतिशत मात्र बजेट दिएको छ। उनले भनिन्,'सरकारले ८० प्रतिशत अधिकार क्षेत्र रहेको स्थानीय सरकारलाई २० प्रतिशत मात्र बजेट दिएर अन्याय गरेको छ। ८० प्रतिशत अधिकार भएको स्थानीय सरकारलाई बजेट पनि ८० प्रतिशत दिनुपर्छ।अनी स्थानीय सरकारले जनताका अपेक्षा पूर्णरुपमा सम्बोधन गर्न सक्छन्।
गाउँपालिका उप-प्रमुख नेपालीका अनुसार तिलागुफा नगरपालिकाको कुल बजेट ३५ करोड ३५ लाख ७० हजारमध्ये ससर्त अनुदानमा १८ करोड ५७ लाख ८९ हजार, निसर्त अनुदानमा १६ करोड ७७ लाख ८१ हजार र चालु आर्थिक वर्षको आन्तरिक आय १० लाख रहेको छ। उनका अनुसार नगरले आगामी आर्थिक वर्षमा आन्तरिक आयलाई बढाउन तिला नदीमा माछा पालन व्यवसायको व्यवस्था गर्ने, युवा उद्यमशीलतामा जोड दिने, नगरको राजस्वलाई व्यवस्थीत गर्ने कार्ययोजना बनाइने छ।
यस्तै नगरका पर्यटकीय क्षेत्रको प्रवद्र्धन, पशुपालन व्यवसायलाई प्रवद्र्धन, सरकार, सहकारी र नीजि क्षेत्रको साझेदारी बढाउने, बन संरक्षण, वन पैदावारको व्यवस्थीतरुपमा संकलन, नगरका सबै प्राकृति श्रोतको सही सदुपयोग, मुस्कानसहित नगरका सार्वजानिक सेवा, खाद्यान्न बाली उत्पादनमा जोड, रैथाने बालीको संरक्षण र बजारीकण, अर्गानीक कृषि उत्पादनमा जोड, नगरका हरेक वडामा एक घर एक खानेपानी धारा, सडकको स्तोरोन्नती गर्ने नीति तथा कार्यक्रम तय गरिएको छ।
यस्तै नगरका सबै खोलामा झोलुंगे पुल, नगरमा १५ शैयाको अस्पताल, हरेक माविमा प्राविधिक शिक्षा पढ्न पाउने व्यवस्था, नाग्मागाड, तिलनलगायतका खोलामा विद्युत उत्पादन, गाउँ सहरीकरण, लैंगिक विभेद, जातीय विभेदको अन्त्य, सूचना प्रविधि मैत्री नगर, कृषि क्षेत्रमा यान्त्रीकरण, लक्षित वर्गमा उद्यमशीता र भ्रष्टचारमुक्त नगर बनाउने जनाइएको छ।
यस्तै नगरले पहिलो वर्षमा ११ वडामध्ये १० वडामा सडक संजाल, नगरबारे २१ वटा कानुन कार्यान्वयन, नगरमा मुस्कानसहितको सार्वजनिक सेवालगायतको उपलब्धी भएको नगर प्रमुख रतनबहादुर शाहीले बताए।
उनका अनुसार आगामी आर्थिक वर्षमा नगरका सबै वडामा सडक र विद्युत, सबै वडामा स्वास्थ्य इकाइ, सबै वडामा एक उद्यमी समूह बनाउने योजना बनाइएको छ। यस्तै नगरको सबै क्षेत्रको गुरुयोजना बनाइ कार्यन्वयनमा ल्याउने उनको भनाई छ।