सुन तस्करी र सनम हत्याकाण्ड : तारेख माग्दै १३ अभियुक्त उच्च अदालतमा
विराटनगर : सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा प्रहरी अधिकृतसहित १३ जना अभियुक्तले सादा तारेखमा रिहा गर्न माग गर्दै उच्च अदालत पुगेका छन्।
जिल्ला अदालत मोरङको आदेशविरुद्ध १७ नम्बरको लागि निवेदन दर्ता गराएर उनीहरूले सादा तारेखमा छाड्न माग गरेका हुन्। उच्च अदालत विराटनगरमा दायर भएको निवेदनमा मोरङ अदालतले गरेको आदेशको चित्त नबुझेपछि सादा तारेखमा छाड्न माग गरिएको छ।
पूर्वडीआईजी गोविन्द निरौला, निलम्बन एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी सञ्जयकुमार राउतसहित हेमन्त गौतम, राजन थापा, पूण्यप्रसाद लामा, भुजुङ गुरुङ र सम्बीरप्रसाद तोलाङ्गेले निवेदन दर्ता गराएका हुन्। सोमबार टेकराज मल्ल, राजन थापा, एलपी भनिने लालबहादुर मगर र वालकृष्ण श्रेष्ठले पनि निवेदन दर्ता गराएका छन्।
अदालतको आदेशविरुद्ध अभियुक्तहरूले निवेदन दर्ता गराएपछि जिल्ला अदालत मोरङले उच्च अदालत विराटनगरलाई बिहीबार कैफियत प्रतिवेदन पठाएको थियो। यसमा अभियुक्तहरूले दिएको बयान, घटना मुचुल्का, अदालतको आदेश रहने बताइएको छ। मुद्दाको सम्पूर्ण कैफियत प्रतिवेदनमा उच्च अदालतमा बुझाएपछि अदालतले पेसी तोक्नेछ। उच्च अदालतमा प्रत्येक सातको बिहीबार मात्र पेसी हुने भएकाले यसको बहस पनि आउँदो बिहीबार मात्रै हुन सक्ने बताइएको छ।
उच्च अदालतमा वादीको तर्फबाट उच्च अदालत विराटनगरका सहन्याधिवक्ता चिरञ्जीवी पराजुलीले बहस गर्ने तयारी छ। वादी र प्रतिवादीको कानुन व्यवसायीको बहसपछि जिल्ला अदालतले गरेको आदेश हेरेर प्रमाणको मूल्यांकन गर्दा प्रतिवादी कसुरदार नदेखिएमा सादा तारेख वा धरौटीमा छाड्न सक्ने अथवा जिल्ला अदालतले गरेको आदेशलाई नै सदर गर्न सक्नेछ।
मोरङ अदालतले गत जेठ ८ गते सुन तस्करी र हत्या प्रकरण मुद्दामा पक्राउ परेका ३० अभियुक्तमध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने, एकलाई धरौटी र एक जनालाई सामान्य तारेखमा राख्ने आदेश दिएका थिए। पुर्पक्षमा गएकाहरू झुम्का कारागारमा छन्। उनीहरूविरुद्ध संगठित अपराधअन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी–पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको थियो।