विश्वकप फोबिया : जन्डिस भर्सेज डीडीसी

विश्वकप फोबिया : जन्डिस भर्सेज डीडीसी

बुटवलका तिलक तारामीको नाम लेखिएको एउटा गजल फेसबुकमा सार्वजनिक भयो ।

विदेशी जर्सी लाएर, उफ्रिन्छन् नाथेहरू

रक्सी बियर खाएर, उफ्रिन्छन् नाथेहरू

गोल हान्ने नि पराइ, गोल खाने नि पराइ

व्यर्थमै रोइला गाएर उफ्रिन्छन् नाथेहरू

यो गजल त्यसै आएको होइन । जब राष्ट्रिय झन्डाभन्दा ब्राजिल, अर्जेन्टिना, जर्मनीका झन्डा फहराउन थाले, जब नेपालको झन्डा अंकित टिसर्टभन्दा विदेशी जर्सी देखिन थाले, जब एउटा देशको समर्थन र विरोधमा मानिसहरू फेसबुकदेखि चोक र गल्लीहरूमा उत्रिन थाले, तब एउटा सामान्य नेपाली नागरिकलाई अति भएर गजल सामाजिक सञ्जालमा आयो ।

विश्वकप सुरु हुँदै गर्दा पूर्वका चोक र गल्लीहरू विभिन्न देशका झन्डा र तोरणले रंगिए । बाटोमा युवाहरू विभिन्न देशको टिमका जर्सीमा देखिए । फुटबल टिम र जित हारको अनुमान हुन थाल्यो । लाइभ हेर्ने ठाउँ र जमघटबारे चर्चाहरू पछि कटाक्षमा परिणत भयो ।

एकले अर्काको टिमलाई खुइल्याउने काम सुरु भयो । आफ्नो राष्ट्रियताभन्दा पनि अर्काको देशको चर्चा बढी भयो, त्यो पनि अति आलोचना गर्ने हदमा । हुन त आलोचनाहरू फेसबुकका लागि वा वल्र्डकपको लागि मात्र थिए, तर त्यसको प्रभाव साथीभाइको ग्यादरिङ र सहकार्यहरूमा पनि देखिएको अनुभव फ्यानहरूकै छ ।

एक टिमले अर्को टिमलाई आलोचना गर्न केही बाँकी राखेनन् । खासगरी यस पटकको विश्वकपमा अर्जेन्टिना र ब्राजिलका बढी फ्यान देखिए । अर्जेन्टिनाका फ्यानहरू लियोनल मेस्सीको चर्चा, प्रभाव र खेल क्षमताका कारण अर्जेन्टिनासँग थिए ।

उता विश्वकप धेरै पटक जित्ने देशको रूपमा ब्राजिललाई धेरैको समर्थन थियो । विश्व फुटबलमा अहिले मेस्सीसँग सँगै नाम आउने रियल मड्रिडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको देश पोर्चुगल र अघिल्लो विश्वकपको विजेता जर्मनीका समेत समर्थकहरू देखिए ।

समर्थकहरूझै फेसबुकमा चर्चा पनि अर्जेन्टिना र ब्राजिलकै बढी भयो । यी दुई देश नै बढी खुइल्याइए र उचालिए पनि । ब्राजिलको पहेँलो जर्सीलाई जन्डिस अनि अर्जेन्टिनाको नीलो-सेतो जर्सीलाई डीडीसीको दूधको प्याकेट भनेर खुइल्याइयो । त्यसमाथि अर्जेन्टिना क्रोएसियासँग हारेपछि र ब्राजिलले पहिलो खेल स्विट्जरल्यान्डसँग बराबरी खेलेपछि दुवै टिमका आलोचकहरूले खुइल्याउनु खुइल्याए । जवाफमा फ्यानहरूले प्रतिवाद गरे । अर्जेन्टिनाले हारेपछि पत्रकार वेदराज पौडेलले यसरी लेखे,

हिजोबाट विराटनगरको अस्पतालका इमरजेन्सीवाडहरू खचाखच छन् रे । एक किसिमको अनौंठो रोग लागेका वयस्क, अर्ध वयस्क र पूर्ववयस्कहरू डीडीसीको दूधको पोकाको जस्तो सेतो र नीलो धर्के जर्सीमा मिस्सी मिस्सी भनेर एकोहोरो बर्बराउँदै कराउँदै छन् रे । चिकित्सकहरूको अथक उपचार पछि पनि ठीक नभएकाहरूलाई कुन रोग लागेको हो भन्ने पत्ता लाग्न सकेको छैन । मानसिक अस्पतालमा रेफर गर्न लागिएका उनीहरूमा समस्या आउनुको कारण म्यारिज खेलको मिस्सी हो कि अर्जेन्टिनाको दुई खेलमा गोल गर्न नसक्ने मेस्सी हो भन्ने पत्ता लाग्न नसकेको खबर छ ।

जवाफमा एनपी आचार्यले कमेन्टमा लेखे,

यो हेर्नेको आँखा पाकोस्, लेख्नेको हात कुयोस्, सुन्नेको कान पाकोस्... जन्डिस लागेका पहँेला भेडा काटेर नखानुहोला रोग लाग्छ भन्ने सूचना आजको शान्तिपुर खबरमा प्रकाशित छ ।

बार्सिलोनाबाट खेलेर विश्वका राम्रा खेलाडीको रूपमा चिनिएका मेस्सी आफ्नो देश अर्जेन्टिनालाई विश्वकप दिलाउने सपनाको नजिकै पुगेर अघिल्लो विश्वकपमा जर्मनीसँग रोकिएका थिए । यो पटक त झन् पहिलो दुई खेलमध्ये एउटामा बराबरी र अर्कोमा हार व्यहोरेको अर्जेन्टिना र अर्जेन्टिनी फ्यानहरू तीव्र दबाबमा रहे ।

अर्जेन्टिनाको लगातार हारपछि कतिपयले अर्जेन्टिनाको नामै लिन छाडे । जर्सी लाएरै हिँड्न छाडे । अर्जेन्टिनाको पहिलो खेलमा पूर्वका चोक र गल्लीहरूमा प्रोजेक्टरबाट खेल हेर्नेहरू दोस्रो पटक आधाउधी घटे । ‘यसपालि खासै राम्रो खेल्छ जस्तो लागेन,’ एक समर्थक भन्दै थिए, ‘हार्‍यो भने रातिदेखि नै ब्राजिलकाले बिल्ला मात्र गर्छन्, बरु घरमै हेर्‍यो सुत्यो ।’

तर कतिपय फ्यानहरू भने खेलमा हार र जित स्वाभाविक हुने भन्दै आफ्नो टिमको पक्षमा खरो देखिए पनि विरोधीलाई उडाएनन् । विश्वकप खेलकै बीचमा बार्सिलोनाका स्टार मेस्सीको जन्मदिन पर्‍यो । अर्जेन्टिनाकी समर्थक आरती भट्टराईले लेखिन्,

‘मेस्सी राम्रो खेलाडी हो कुनै गुन्द्रुकहरूलाई सफाइ दिनु पर्दैन जस्तो लाग्छ । भाग्यले एक दिनको साथ दिँदैन त क कसलाई के के भन्नु छ, भने हुन्छ तल कमेन्ट बस खाली छ, जति पनि कमेन्ट अट्छन् । जन्मदिनको शुभकामना छ राजा ।’

तर अर्जेन्टिनी समर्थकको चुरीफुरी मन नपराउनेहरूले ठाउँ किन छाड्थे र ? रेश्मा तिवारीले कमेन्टमा लेखिदिइन्,

‘शोकमा हो आरती बहिनी ? मुद्दा उठाएर बहसै नगरी लाग्यौ त ? ’

दोस्रो खेल जितेर ब्राजिलले आफ्ना फ्यानहरूलाई आफू कमजोर नभएको प्रमाण दियो । तर अर्जेन्टिनाले दिन सकेन । तर अर्जेन्टिनाले जित्ने सम्भावना मरिसकेको छैन । अर्जेन्टिनाले हार्‍यो नै भने पनि विशुद्ध अर्जेन्टिनी फ्यानहरूले मेस्सी र अर्जेन्टिनाको समर्थन त्याग्ने छैनन् । सन्तोष पाण्डेले लेखेः

‘खासा’तिर पाइने सस्तो एक गिलास दारु पे’सी भुराभुरी भन्न थाल्छन् । को हो र त्यो जाबो मेस्सी ? तर, तिमी छौ र त मलाई यो भकुन्डो यति बिध्न प्यारो छ ।

एकातिर फुटबल टिमका आयातीत जर्सी, झन्डा र तिनको लागि बिदेसिने करोडौं रुपैयाँको अर्थतन्त्र, त्यसमाथि टिमको समर्थन र विरोधमा समाज अनि साथी सर्कल विभक्त हुने समाजतन्त्रका बीच देशभक्ति तन्त्र आवश्यक छ । विश्वकप फुटबलले नेपाली खेलाडी र खेलप्रेमीहरूलाई त्यो ठाउँमा कसरी पुग्ने हो, त्यसको सपना देखाउनुपर्छ ।

कतिपयले फेसबुकमा नेपाल विश्वकप नपुगुन्जेल फलानो देशलाई समर्थन भनेर लेखेका पनि छन् । यस्ता अभिव्यक्तिले नेपालका खेलाडी र खेल पदाधिकारीलाई राम्रो खेल्न र खेल वातावरण बनाउन प्रोत्साहित गर्छ । त्यसैले, अब नेपाल विश्वकपमा आफ्नै झन्डाको समर्थन गर्ने हैसियतमा पुग्नुपर्छ । नेपाल नेपालमै बनेको, नेपालकै जर्सीले राताम्मे हुनुपर्छ । त्यसो भयो भने माथिको गजलको यो शेर गलत सावित हुनेछ,

बेवारिसे भएको छ, आफ्नै झन्डा यहाँ

पराइकै पो उठाएर, उफ्रिन्छन् नाथेहरू ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.