खेलाडीको विश्वकप बुझाइ

खेलाडीको विश्वकप बुझाइ

फिफा वरीयतामा एक सय ६१औं स्थानमा रहेको नेपाल वल्र्डकपमा पुग्ने सम्भावना देख्दैनन्, नेपाली खेलाडीहरू


विश्वकपको चर्चा दिनप्रतिदिन चुलिँदो छ । यतिबेला फुटबलप्रेमी मात्र नभई व्यावसायिक खेलाडी र प्रशिक्षक पनि विश्वकपका सक्रिय दर्शक बनेर यसलाई विभिन्न कोणमा विश्लेषण गर्न व्यस्त छन् । नेपाली फुटबलमा स्थापित नाम हो, हरि खड्का । उनी व्यक्तिगत रूपमा जर्मनीका समर्थक भए पनि क्लबमा स्थापित भएर राम्रो खेल प्रदर्शन गर्ने जुनसुकै देशका खेलाडी उनलाई राम्रो लाग्छ ।

विश्वकप विजेताको सूचीमा आफ्नो नाम चढाइसकेका ब्राजिल, जर्मनी, अर्जेन्टिना, स्पेनलगायतका देशले पहिलो चरणमा त्यति राम्रो गर्न नसकेका भए पनि बिस्तारै उनीहरू लयमा फर्कंदै गरेको खड्काको बुझाइ छ । उनले भने, ‘हामीले प्रेडिक्ट गरेका टिमहरूले सोचेअनुसार राम्रो गरेका छैनन् ।’ खड्काका अनुसार फुटबलमा खेलाडीको प्रस्तुति सधंै उस्तै हुँदैन । दिनप्रतिदिन परिवर्तन भइरहेकै हुन्छ । त्यसैले अझै धेरै खेलहरू बाँकी रहेकाले अहिले नै कुन टिम बलियो र कुन कमजोर भनेर अनुमान लगाउन गाह्रो हुन्छ ।

विश्वभरका दुई सय नौ वटा राष्ट्रबाट छानिएर जम्मा ३२ वटा राष्ट्र विश्वकपको मैदानसम्म पुग्ने भएकाले यहाँसम्म आइपुग्ने हरेक राष्ट्रको खेलाडीको आआफ्नै विशेषता छ । अझ त्यसमा पनि विश्व फुटबलमै नाम कमाइसकेका केही खेलाडीप्रति उसको राष्ट्रमात्रै नभई विश्वकै ध्यान केन्द्रित हुन्छ । यस्ता खेलाडीमध्येका अर्जेन्टिनाका मेस्सीले पेनाल्टी मिस गर्दा उनको विश्वभरका प्रशंसक धेरै निराश भए । खड्काका बुझाइमा कहिलेकाहीँ भाग्यले साथ नदिँदा यस्ता कमजोरी देखा पर्ने गर्छन् । ‘विश्वकै पेनाल्टी स्पेसलिस्ट पनि चुकेका छन्, मेस्सीलाई पनि लकले फेबर नगरेको हो’, उनले प्रष्ट्याए ।

फुटबल खेलको अन्तिम बिन्दुको रूपमा विश्वकप फुटबललाई मान्न सकिन्छ । त्यसले विभिन्न टिमको खेल हेर्दा दर्शकमध्ये धेरैले आफूले समर्थन गरेको टिमले कतिखेर गोल हान्ला भनेर प्रतीक्षा गर्छन् । खेलाडीले भने आफ्नो पोजिसन हेर्नुपर्ने सल्लाह खड्काको छ । त्यसैगरी प्रशिक्षकले भने कोच स्ट्रयाटिजी, प्लेइङ स्ट्रयाटिजीका साथै विपक्षी टिमले दिएको दबाबमा आफ्नो टिमलाई कसरी अगाडि बढाउने भन्ने सीप पनि विश्वकप हेरेर सिक्न सकिने उनको अनुभव छ ।

स्विट्जरल्यान्डसँग भएको खेलमा ब्राजिलको प्रस्तुति देखेर निकै निराश भएका थिए नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडी विक्रम महर्जन । यद्यपि विश्वकपमा खेल्ने टिमहरूमध्ये ब्राजिल र स्पेनको खेल्ने शैली उनलाई राम्रो लाग्छ । सन् १९९० देखि विश्वकप हेर्न थालेका यी खेलाडीको अनुभवमा आजसम्म आइपुग्दा यो खेलमा पनि धेरै परिवर्तन भएको छ ।

नयाँ र कमजोर मानिएका टिमले यसपटक निकै राम्रो खेल खेले । जम्मा साढे तीन लाख पनि जनसंख्या नभएको निकै सानो देशबाट आएका आइसल्यान्डका खेलाडीले विश्वकपमा वर्चस्व जमाउँदै आएको अर्जेन्टिनालाई एकएकको बराबरीमा रोक्दा विश्वभरका दर्शक आश्चर्यचकित भए । त्यसैले आइसल्यान्ड, पनामालगायतका देशका खेलाडीले यस पटकको विश्वकपमा धेरैको मन जित्न सफल भएका उनको बुझाइ छ । यदि टिमवर्क राम्रो भएको खण्डमा तल्लो तहका मानिएका टिमले पनि बलिया टिमलाई टक्कर दिन सक्छ भन्ने पाठ अहिलेसम्म भएका खेलले सिकाएको उनले बताए ।

हाल नेपाली राष्ट्रिय टोलीका कप्तान विराज महर्जनका दाजु विक्रम महर्जनले राष्ट्रिय टोलीमा राइट र लेफ्ट डिफेन्सबाट खेल्ने गर्थे । हाल फुटबल प्रशिक्षण दिँदै आएका उनी विश्वकप हेर्दा दर्शकले चिच्याउने मात्रैभन्दा पनि ती खेलाडीको पोजिसन वाइज पनि हेर्नुपर्ने धारणा राख्छन् । त्यसगरी कसरी बल क्लियर भएको छ भनेर पनि हेर्नुपर्ने बताउँदै उनले भने, ‘पास एकुरेसी, सपोर्टिङ एकुरेसी, मुभमेन्ट एकुरेसीलगायतका विषयमा पनि ध्यान दिनुपर्छ ।’ पोजिसन वाइज हेर्दा उनलाई ब्राजिल राम्रो लाग्छ भने मिडफिल्ड, फरवार्ड आदिमा नेमार उनलाई मन पर्छ । यिनै कारणले गर्दा ब्राजिल फाइनलसम्म पुग्ने बलियो सम्भावना उनले देखेका छन् ।

म्यारोडनादेखि मेस्सीसम्मका प्रतिभाशाली खेलाडी उत्पादन गर्ने अर्जेन्टिनाको खेलमा यसपटक त्यति राम्रो टिमवर्क पाएनन्, महर्जनले । तर अन्य देशका खेलाडीमा भने अत्यन्तै राम्रो टिप स्पिरिट उनले पाए । टिम स्पिरिट जगाउन कोचको भूमिका महत्वपूर्ण हुने उनको बुझाइ छ । विगत केही वर्षअगाडि नेपालमा पनि इङ्ल्यान्डबाट आएका कोच ग्राम रोबर्ट्सले खेलाडीमो टिम स्पिरिटको भावना जगाउन सकेका कारण थुप्रै अन्तर्राष्ट्रिय खेलमा सफलता हात पारेको उनले बिर्सेका छैनन् ।

एसिया महादेशको कुरा गर्दा जापानका खेलाडीको इफोर्ट उनलाई एकदमै मन परेको छ । फुटबलको दुनियामा एसियाकै पावर हाउसको रूपमा चिनिने जापान दोस्रो चरणमा पुगेकोले खुसी र गौरवान्वित भएका छन्, महर्जन । जापानकै उत्कृष्ट गोल स्कोररका रूपमा चिनिने होन्डाले खेल सुरु भएको ७८औं मिनेटमा हानेको एक गोलले जापानलाई सेनेगलसँग दुई दुई गोलको बराबरीमा पुर्‍याएको थियो ।

खेलाडीका लागि मुख्य चाड नै बनेको विश्वकपका प्रत्येक खेलमा अपडेटेड छन्, नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान राकेश श्रेष्ठ । अन्य खेलाडी र दर्शकझैं उनी पनि आजसम्म भएका सम्पूर्ण खेलमा रमाइलो मानिरहेका छन् । विगतका वर्षहरूमा भन्दा यो विश्वकप उनलाई अलि भिन्न लागेको छ । आजसम्म आइपुग्दा विश्वभरि फुटबलको क्रेजमात्रै नभई स्ट्यान्डर्ड पनि बढेको अनुभूत उनले गरेका छन् ।

आफूले खेलाडीको रूपमा सधैं फुटबललाई माया गर्नुपर्छ भन्ने उनको मान्यता छ । त्यसैले अन्य फुटबलप्रेमीलाई पनि खेल हेर्दा यसका विभिन्न प्राविधिक पाटोमा पनि ध्यान दिनुपर्ने उनको सुझाव छ । कुनै पनि दुई राष्ट्रको खेल हेर्दा उनीहरूले मैदानमा अपनाउने रणनीति, चाललगायतका खेलका विभिन्न पाटोलाई विश्लेषण गरेर ससाना कुरामा ध्यान दिनुपर्ने उनले बताए । त्यसैगरी सिंगो नेपाली फुटबलकै प्रतिनिधित्व गर्ने फुटबल संघले पनि नेपाली फुटबलको विकासका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारदेखि दीर्घकालीन योजनाहरू बनाएर अगाडि बढ्नुपर्ने उनको विचार छ ।

कुनै पनि खेल जित्न समूहकै प्रयास महत्वपूर्ण मानिन्छ । तर व्यक्तिगत रूपमा राम्रो खेल्ने हरेक खेलाडीको सीपबाट श्रेष्ठ प्रभावित छन् । रोनाल्डोको खेल्ने शैलीले उनी निकै प्रभावित छन् । उनलाई सानैदेखि ब्राजिल असाध्यै मन पथ्र्यो । पेलेदेखि नेमारसम्मका खेलाडी जन्माएको ब्राजिलले यस पटक पनि विश्वकपमा वर्चस्व कायम गर्नेमा उनी विश्वस्त छन् ।

नेपालीको विश्वकप सपना

नेपालले पनि विश्वकप खेलेको हेर्ने चाहना सायद हरेक नेपालीको होला । तर यो चाहना कल्पना र सपनामा मात्रै सीमित रहन सक्ने पूर्वकप्तान हरि खड्काको विश्लेषण छ । नेपालमा फुटबल खेलका लागि वातावरणका साथै एक अन्तर्राष्ट्रिय स्तरको रंगशालासमेत नभएकाले यसलाई आफूले एउटा टाढाको सपनाका रूपमा मात्रै लिएको उनले बताए । विश्वकपको सपना देख्नुअगाडि पहिले दक्षिण एसियाली खेल र त्यसपछि एसियाली खेलमा सहभागिता जनाउन सक्षम हुनुपर्ने उनको भनाइ छ ।

विश्वकपमा नेपालको सहभागिताको विषयमा फरक मत राख्छन्, अर्का पूर्वकप्तान राकेश श्रेष्ठ । विश्वकपको मैदानसम्म नेपाल कहिले पुग्ने भनेर हामीले सपना अवश्य देख्न सक्छौं । तर यसलाई वास्तविकतामा पुर्‍याउन धेरै मेहनत गर्नुपर्ने उनको भनाइ छ । फिफा वरीयतामा एक सय ६१औं स्थानमा रहेको नेपाल वल्र्डकपमै पुग्न नसके पनि वल्र्डकप क्वालिफाइङ गेममा पनि दोस्रो र तेस्रो चरणसम्म पुगेर फुटबलप्रेमी नेपालीको मन जित्न सक्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.