प्रदेश ५ यसरी मनाइयो धान दिवस (फोटो फिचर)
बुटवल : मध्ये असारमा खडेरी परेपछि धान रोपाई प्रभावित भएको छ। मुलुककै दोस्रो धेरै धान उत्पादन हुने प्रदेश ५ मा जम्मा १८ प्रतिशत धान रोपाइँ भएको छ। सबैभन्दा बढी धान उत्पादन हुने बर्दिया र रुपन्देहीमा २० प्रतिशतको हाराहारीमा रोपाइँ भएको प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। मनसुन छिट्टै सुरु हुने अनुमान गरिएपनि असारमध्यसम्म खेतमा पानीको अभाव छ।
वर्षा नभएपछि किसानले असार १५ लाई धुमधामसँग मनाएका छन्। पाँच नम्बर प्रदेश सरकारले रुपन्देहीको बासगढीमा रोपाइँ जात्रा गरेको छ। धान दिवसको अवसरमा गरिएको कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेल, कृषि भू्मि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेल, भौतिक योजना विकास मन्त्री बैजनाथ चौधरीसहित प्रदेश सभा सदस्यको सहभागिता थियो बाजागाजासहित भएको रोपाइँमा सयौंले सहभागिता जनाउँदै हिलो छ्यापा छ्याप गरेर हर्षोलाससहित दहिचिउरा खाए।
प्रदेश ५ मा ३ लाख ३० हजार चार सय २६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। यो मुलुककै धान खेती हुने जमिनको २१ प्रतिशत हो। तर धान खेती हुने जमिनको जम्मा ४३ प्रतिशत क्षेत्रफलमा मात्रै सिचाई हुने गरेको छ। प्रदेश सरकारले धान उत्पादन बढाउन व्यवसायिकता र सिचाइँको व्यवस्था गर्ने जनाएको छ।
प्रदेश ५ मा धान उत्पादकत्व क्षमता प्रतिहेक्टर तीन दशमलव ८७ प्रतिशत छ। गएको वर्ष प्रदेशका १२ जिल्लामा १२ लाख ७४ हजार मेक्ट्रिक्टन धान उत्पादन भएको थियो। तर यो वर्ष समयमै वर्षा नभएपछि उत्पादनमा ह्रास आउने संकेत देखिएको छ।
धान उत्पादन बढाउन बिउ, मल, सिचाई र व्यवसायिकता आवश्यक रहेको किसानहरु बताउँछन्। प्रदेश ५ को रुपन्देहीमा २०, परासीमा ३५ गुल्मी, अर्घाखाची, पाल्पामा करिब १५ प्रतिशत रोपाई गरेका छन् भने कपिलवस्तु, दांग, बाके, बर्दियामा २० प्रतिशत किसानले ब्याड समेत राख्न पाएका छैनन्।
अर्घाखाँचीमा धान रोपाइँमा सहभागी । तस्बिर : प्रेमनारायण आचार्य