‘कांग्रेस’ बारे किन कोही बोल्दैन ?

‘कांग्रेस’ बारे किन कोही बोल्दैन ?

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको राष्ट्रिय भेला पार्टीको संगठन सबल, सुदृढ, आधुनिक एवं प्रभावकारी बनाउन भन्दै २१ बुँदे सुझावसहित सम्पन्न भयो। सुझाव सरसर्ति हेर्दा पार्टीलाई सर्वगुणसम्पन्न बनाउने खालकै छन्, तर कांग्रेसको पुरानो रोग व्यवहारतः यी सुझाव कार्यान्वयन हुनेमा शंका छ। हेटौंडा भेलामा सहभागी केन्द्रीय सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत केन्द्रीय तहका नेताले पार्टीको पछिल्लो दुःखदायी अवस्थाप्रति आत्मालोचना गर्न चुकेनन् तर विकल्पबारे चाहिँ केही बताउन चाहेनन्।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले ‘डोनाल्ड ट्रम्प र किम जोङ उन त विश्व शान्तिको सर्तमा सँगै बसेर खुला छलफल गर्न तयार भए भने सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल किन मिल्न नसक्ने ?’ भनेर उनीहरू मिलेर गए कांग्रेस सप्रिने बताएका छन्। मिल्नुपर्ने नेतामै लोकतान्त्रिक आचरण र सिद्धान्तप्रतिको निष्ठा मरिसकेपछि तिनीहरूबाटै कसरी सम्भव छ पार्टीको पुनर्जीवन ? वाचा मात्रै गरेर आम कार्यकर्ता र पार्टीप्रति सहानुभूति राख्नेहरूले पत्याउने कुनै आधार बाँकी छैन। हेटौंडाबाट फर्किएलगत्तै देउवा र पौडेल नजिकिए भन्ने सुनिएको छ। त्यो निकटतामा पद जोगाउने र पद पाउने सर्तको मञ्जुरीनामाबाहेक कुनै तुक छैन।

यतिबेला हरेक राजनीतिक दल संस्थालाई प्रधान ठानेर अघि बढ्ने शैलीको विपक्षमा छन्। हरेक दलमा व्यक्ति नै प्रधान हुन रुचाउनु दलको भविष्य र लोकतन्त्रका लागि शुभसंकेत होइन। सत्तासीन नेकपा त्यही रोगबाट गुज्रिएको छ। कांग्रेस त झन् त्यसबाट कहिल्यै अछुतो रहन सकेन। व्यक्ति प्रधान हुने रोग कांग्रेसको दीर्घरोगै हो। यसबाट मुक्त नभएसम्म एकताका जतिबुँदे कसम खाए पनि पार्टीको पुनर्जीवन सम्भव छैन। नेता पौडेलले पनि पार्टी एक हुन्छ भन्ने सभापतिदेखि पार्टीका नेता कसैको पनि आलोचना नगर्ने भनेर कम्युनिस्ट शैलीमा पश्चात्ताप गर्नुको उद्देश्य कांग्रेस पार्टी संस्था नभएको संकेत हो। त्यसो त भावी सभापति पौडेल भनेर देउवाले उद्घोष गरिदिए भने उनी त्यसैको पछि दौडिन्छन्, तर यो उनको आगामी यात्राका लागि महाभूल हुनेछ। अरूभन्दा बढी सिद्धान्तवादी मानिने पौडेलमा पदमोह मात्रै नभएको भए उनी सायद उहिल्यै प्रधानमन्त्री भइसक्ने थिए भन्नेहरूको बहुमत संख्या कांग्रेसमा छ।

नेपाली कांग्रेस स्थापना गरे बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान, किसुनजीहरूले। अहिलेका कांग्रेसी सुवर्णभन्दा धेरै धनी छन्, तर लोकतन्त्रको रक्षार्थ एक कौडी पनि खर्च गर्न कोही तयार छैन। गणेशमानभन्दा त्यागी र सुरवीर पनि भए होलान् तर वैभवले त्यो सबै ओझेलमा परेको छ। किसुनजीकै आदर्श बोक्ने कांग्रेसीलाई अहिले वास्ता गरिन्न। बीपीको आदर्श मान्नेहरू नै राजनीति व्यवहारले चल्छ, आदर्शले चल्दैन भन्न थालिसके। तिनै नेताको तस्बिरमा अहिलेका कांग्रेसी नेताले माल्यार्पण गर्दा स्मरण र सम्मान होइन, अपमान भइरहेको छ। राजनीतिप्रतिको निष्ठा, समर्पण, त्याग र आदर्शमा समर्पित नेताको नाम उच्चारण गरी उनीहरूका तस्बिरमा माल्यार्पण गरेकै भरमा अहिलेका कुनै पनि कांग्रेसीले आफूलाई उत्तराधिकारीको कोटीमा राख्ने हक छैन।

सात दशक लामो बलिदानीपूर्ण संघर्ष, ०४६ तथा ०६२÷०६३ को आन्दोलनको नेतृत्व, शान्ति प्रक्रियामा महŒवपूर्ण भूमिका र अन्तरिम संविधान निर्माण र संविधानसभा निर्वाचन, संविधान जारी गरेको र संविधानतः पछिल्ला निर्वाचन गर्न सफल भएको आधारलाई स्मरण गरेकै भरमा कांग्रेसलाई जनताले मानिरहनुपर्छ भन्ने छैन। आफ्नो स्थापनाकालीन सिद्धान्तलाई बलिवेदीमा चढाएर कम्युनिस्ट सिद्धान्तको पिछलग्गु भएर लोकतन्त्रको जगेर्ना हुन सक्दैन।

संघीयता, धर्म निरपेक्षता र गणतन्त्र स्थापनाका लागि नेतृत्वदायी भूमिकामा बस्ने कांग्रेसीले अहिले कम्युनिस्टले लोकतन्त्र मास्न लागे, अधिनायकवादी बाटोमा हिँडे भनेर दोष दिएर उम्कन मिल्दैन। किनकि कम्युनिस्टहरूलाई त्यस्तो मार्ग प्रशस्ति कांग्रेसकै सत्तामोहले गरेको हो। निर्वाचनमा पराजय हुनुमा सिद्धान्तको तिलान्ञ्जली प्रमुख कारण हो, जयपराजयसँग कम्युनिस्ट एकताको कुनै साइनो छैन। जनअपेक्षाविपरीत हिँडेपछि आउने परिणाम यस्तै हो। आज प्रजातन्त्रका पक्षधर कुनै पनि जिम्मेवार तहको व्यक्तिले कांग्रेसको प्रशंसा र आलोचनामा दुई शब्द पनि खर्चन उपयुक्त ठान्दैन। उपयुक्त विकल्प नभएकैले कांग्रेसलाई मतदान गर्दै आएको त्यो वर्ग मौन बस्नुपर्ने अवस्था उत्पन्न गराउने नेतृत्व तहलाई किन जिम्मेवार नठह¥याउने ?

राजनीतिमा थोरै भए पनि नैतिकता, इमानदारी र निष्ठा चाहिन्छ भन्ने तर सत्तामा पुगेपछि पूर्णतः बिर्सने कांग्रेसी रोगको सजाय भोगेको मात्र हो अहिले। बहुमत नागरिकले अहिले पनि प्रजातन्त्रकै पक्षमा वकालत गर्छन्। राजनीतिक नैतिकताभित्र कुशल नेतृत्व, सफल नीति र भावी रणनीति पनि पर्दछ। यी गुणलाई शिला खोजे झैं खोज्नुपर्ने भएपछि अहिलेको नेतृत्वबाट पार्टीको पुनर्जीवन कसरी सम्भव छ ? नेतृत्व, नीति र रणनीति पराजय भएपछि लोकतन्त्र स्वाभाविक रूपमा कमजोर हुन्छ। कम्युनिस्टलाई गाली गरेर मात्र लोकतन्त्र सुदृढ हुँदैन। यतिबेला कांग्रेसको नेतृत्व तहमा बसेको कुनै पनि व्यक्तिबाट राजनीतिक नैतिकता प्रदर्शन हुन सकेको छैन।

राजनीतिक नैतिकताभित्र कुशल नेतृत्व, सफल नीति र भावी रणनीति पनि पर्दछ। यी सबै गुण सिला खोजे झैं खोज्नुपर्ने भएपछि अहिलेको नेतृत्वबाट पार्टीको पुनर्जीवन कसरी सम्भव छ ?

राजनीतिमा क्रियाशील युवापुस्ताबाट यसको अपेक्षा गरिएको थियो। तर आफ्नो पद दाउमा पर्ने भयले पार्टी नेतृत्वले नै युवालाई विभाजित गर्ने कोसिस ग¥यो। हिजो पार्टी सुधारमा सँगै हिँड्ने कसम खाएका विश्वप्रकाश शर्मा र गगन थापा अहिले विभाजितजस्तै देखिन्छन्। गगनलगायतका युवा नेता पार्टीलाई सुधार गर्दै अघि बढ्नुपर्ने पक्षमा छन् भने त्यही समूहको नेतृत्व गर्नुपर्ने विश्वप्रकाश दुई नेता मिले कांग्रेस सुध्रिन्छ भनेर देउवाको मास्टर कार्ड बनिरहेका छन्। आम कांग्रेसजन र प्रजातन्त्रवादीले विश्वप्रकाश र गगनलाई कांग्रेसको भविष्य ठान्दै आएका थिए, तर सात दशकको इतिहासमै संकटबाट गुज्रिएको पार्टीको नेतृत्व लिएर पुनर्जीवन दिनुपर्ने बेला विभाजित देखिनु कांग्रेसका आम समर्थकप्रतिको बेइमानी हो। यो नेतृत्वको होइन, युवा नेताकै दृष्टिदोषको परिणाम हो।

गगनहरू कांग्रेसलाई नयाँ विचार र दृष्टिकोणबाट अघि बढाउनुपर्छ भन्ने मान्यताको पृष्ठपोषण गरिरहेका छन्। उनको नीतिप्रति कांग्रेसका आमकार्यकर्ता र प्रजातन्त्र पक्षधरको समर्थन पनि छ। उनको उपस्थिति नहुने हो भने संसद्मा प्रतिपक्षको अभाव खट्किन्छ भन्नेहरू पनि थुप्रै छन्, तर गगन पनि बोल्ने दिनमा मात्र संसद्मा जाने गर्छन् भन्नेहरूको तर्क किन बलशाली बनिरहेको छ ? हो, उनी समर्थक र प्रशंसकहरूको फौज तयार गरेर बसेका देखिन्छन् र त्यही फौजको कमान्डरको रूपमा मात्र आफ्नो ओज र वजनलाई सीमित बनाएका देखिन्छन्। त्यत्तिकै भरमा उनले आफूलाई चर्चा र प्रचारको केन्द्रमा त राख्न सक्लान् तर कांग्रेस र कांग्रेसमार्फत मुलुकको नेतृत्व गर्न भने त्यत्तिले पुग्दैन।

मुलुकको बृहत् प्रजातान्त्रिक समाजसँग जोडिने आफ्ना राजनीतिक जीवनबारे उठेका र उठ्न सक्ने धेरै प्रश्नबारे उनले समाजलाई नियमित जानकारी गराइरहनुपर्नेछ। नियमित संसद्मा गएर जनताका पक्षमा आवाज उठाइरहनुपर्छ। विश्वप्रकाशले व्यक्तिको मास्टरकार्डको भूमिका छोडेर पार्टीको मास्टर कार्ड बन्ने, पार्टीको भविष्य खोज्ने र पार्टीको भविष्य बन्ने भूमिका चयन गर्ने समय रोज्ने आत्मविश्वासको खोजी गर्न सकेनन् र गगनले संसद्मा प्रतिपक्षीको वजनदार भूमिका खेलेर कांग्रेसका युवा पुस्तालाई आश्वस्त पार्न सकेनन् भने अब कांग्रेसको इतिहास कसैले लेखिदिए भने त्यही पुस्तकमा खोज्नुपर्ने हुन्छ।

सुधारका एक सय आठबुँदे घोषणापत्र सार्वजनिक गरे पनि यही नीति र नेतृत्वबाट कांग्रेस सुध्नि सक्दैन। देउवाबाट पार्टी सञ्चालन र निर्वाचनमा भएका गल्तीको स्वीकारोक्ति पुनर्जीवनको आधार हुन सक्दैन। यो सबै सुधारको अपेक्षा गर्नेको दृष्टिदोष मात्र हो। पार्टीलाई गति दिन सपना, सोच र कार्यक्रम चाहिन्छ, तर अहिलेको कांग्रेस नेतृत्वसँग यी कुनै पनि छैन। देउवा र पौडेल दुवै असफल युगका असफल अनुहार हुन् भन्ने सत्य कांग्रेसीले बुझ्न ढिलाइ भइसकेको छ। इतिहास र पुरुषार्थ दुवै सवालमा देउवा र पौडेल दुवैसँग कुनै तुलनै नहुने कृष्ण सिटौलाको आशीर्वाद थापेर कांग्रेस नेतृत्वको लालसा बोक्ने कायरता पालेर बस्ने युवा समूहले पनि कांग्रेससलाई पुनर्जीवन दिने क्षमता राख्दैनन्।

पछिल्ला गतिविधिले अहिलेको नेतृत्व पूर्णतः असान्दर्भिक नै प्रमाणित भइसकेको छ। कार्यकर्ता तह मात्र होइन, आम सर्वसाधारणमा पनि पार्टीप्रति आकर्षण घट्दो छ। देउवाले पार्टी छोड्दैमा सबैथोक भइहाल्छ भन्ने पनि होइन। कोइराला वंशकै प्रतिनिधित्व गर्ने महामन्त्री शशांक कोइरालाको देउवा र पौडेल दुवैसँग ठिक्क पार्ने शैली पनि कांग्रेस कमजोर बनाउन कम जिम्मेवार छैन। कोइराला परिवारका अन्य सदस्यको भूमिका पनि प्रभावकारी छैन। शेखर कोइरालासँग राजनीतिक संस्कारको अभाव छ। उनी आलोचनाको राजनीति मात्र गर्छन्। उनी इमान्दार कांग्रेसलाई चिन्दैनन्, बोल्न पनि चाहँदैनन्। टालेको लुगा लगाएको मजदुरदेखि आलिसान महलको मालिकसम्मलाई गर्ने व्यवहार एउटै हुनुपर्छ समाज सेवाको कसम खाएको राजनीतिज्ञमा। कसैको पुर्खाले इतिहासमा राम्रो काम गरेको भरमै उसको शाखासन्तानलाई आजीवन जे चाहन्छ त्यही दिनुपर्छ भन्ने मान्यता बोकेर अब राजनीति हुँदैन। त्यसो हो भने विशाल नेपाल राज्यको निर्माण गर्ने पृथ्वीनारायण शाहको पुस्तालाई किन जरैदेखि उखालेर फालियो सामन्ती अवशेषको संज्ञा दिएर ?

कांग्रेसले स्थापनाकालीन सिद्धान्तलाई समयसापेक्ष नयाँ ढंगले परिभाषित गर्दै संगठन निर्माण अभियानलाई महत्व दिनुपर्छ। निर्वाचनमा कांग्रेसीले हारे पनि कांग्रेसले हारेको छैन। कांग्रेसले आम नागरिक र प्रजातन्त्रवादीसँग चुँडिएको मन जोड्न सक्नुपर्छ। कम्तीमा अबको पाँच वर्षमा मतदाता हुने युवालाई मात्र सम्बोधन गर्न सक्ने हो भने त्यो हितकर हुनेछ। त्यो वर्गलाई गगन र विश्वप्रकाशहरूले सम्बोधन गर्न सक्छन्, किनकि ती युवाको मन र मत अहिलेको नेतृत्वले जोड्न सक्दैन। तर त्यसका लागि उनीहरूले आत्मविश्वास र आत्मसम्मान आर्जन गर्नु आवश्यक छ।

राजनीतिप्रति संवेदनशील हुने हरेक नेपालीलाई अहिलेको राजनीतिमा देखिएको बेथितिप्रति चिन्ता छ। विशेष गरी राष्ट्रिय स्वाभिमानको संरक्षण बढी चिन्ताको विषय छ। व्यक्तिभित्रको नैतिक साहस, निष्ठाप्रतिको समर्पण, हरप्रकृतिको लोभलालचबाट मुक्ति सबैबाट अपेक्षित हुन्छ। त्यही नैतिक साहसको खडेरीले कांग्रेससँग जनताको मन चुँडिएको हो। त्यो जोड्नु नै कांग्रेसको सबैभन्दा ठूलो चुनौती हो। मुलुकसँग कांग्रेस सरकारको विकल्प छ। त्यो पञ्चायतले पनि दियो एमाले र माओवादीले पनि दिए र दिइरहेकै छन्, तर कांग्रेसको विकल्प मुलुकले हिजो पनि पाएन र आज पनि पाउन सकिरहेको छैन। तर कांग्रेस दल बनाउन छोडेर सरकार मात्रै बनाउने लक्ष्यमा दौडिरहेको छ।

राजनीति समाज सेवाको माध्यम हो, पेसा वा व्यवसाय होइन। चुनावको अघि केही दिन खटेर वा नेताहरूको चाकडी गरेकै भरमा माथिबाट लादिएको व्यक्तिलाई जनताको समर्थन हुन सक्दैन भन्ने सबैले बुझ्नु जरुरी छ। कांग्रेस कुन उद्देश्यले स्थापना भएको हो, यसको भूमिका समाप्त हुँदा राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा कस्तो प्रभाव पर्छ भन्ने ख्याल नगर्ने नेतृत्वबाट कांग्रेस चल्न सक्दैसक्दैन। लोकतन्त्रमाथिको संकट पार्टीबाहिरबाट जति छ त्यो भन्दा बढी संकट पार्टी भित्रैबाट उत्पन्न भइरहेको छ।

राजनीतिक पार्टीको संरचना र कार्यशैली लोकतान्त्रिक हुनु समग्र लोकतान्त्रिक अभियान र आन्दोलनकै एउटा महत्वपूर्ण आधार हो। थकित, गलित र स्खलित नेतालाई पालो बाँडेर होइन, साहसी र स्वच्छ छविका कांग्रेसीलाई हरेक तहमा परिचालन गर्न सक्नुपर्छ। पाँचदश वर्ष सत्तामा नहुँदैमा कांग्रेस सकिँदैन। कांग्रेस सत्ताबाहिर रहँदैमा लोकतन्त्र मासिएर अधिनायकवाद आउँछ भनेर मात्रै लोकतन्त्रको सम्मान पनि हुँदैन। जनताले सधैं दुःख पाउने र नेताहरुले सँधै सुख पाउने प्रजातन्त्रको विकल्प कांग्रेसले दिने हो, त्यसैमा अर्जुनदृष्टि लगाए पुग्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.