जमिन फाटेपछि बस्ती सारियो

जमिन फाटेपछि बस्ती सारियो

बागलुङ : अविरल वर्षापछि एकाएक जमिन फाँट्न र घर चर्किन थालेपछि बागलुङको काठेखोला गाउँपालिकाको दलित बस्तीका बासिन्दालाई स्थानन्तरण गरिएको छ । काठेखोला गाउँपालिका–५ बिहुँस्थित मिलनचोक तल्ला काउलेका १३ परिवार विस्थापित भएका हुन् । असार ११ गतेदेखि परेको अविरल वर्षापछि मिलन चोकका १३ घर वरपरको जमिनमा धाजा फाटेको छ भने घर पनि चर्किएको काठेखोला गाउँ कार्यपालिका सदस्य हेमलाल विकले बताए ।

पहिरोको जोखिमले काउलेका धनमाया परियार, भरीराज दर्जी, सुमित्रा परियार, चिन्ते दर्जी, बसी दर्जी, दिलबहादुर दमाई, धनमाया दर्जी, नेत्रलाल दर्जी, लामबहादुर दर्जी, हेमबहादुर क्षेत्री, समीक्षा नेपाली र गंगाबहादुर परियारको परिवारलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष शिवप्रसाद कँडेलले जानकारी दिए । २०७२ सालको भूकम्पका बेला सामान्य चर्केका घर अहिले बस्नै नमिल्ने गरेर चर्किएको स्थानीय रुद्रबहादुर परियारको भनाइ छ ।

जमिन धाजा फाँट्ने र घर चर्किएपछि प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलसहित भवन डिभिजन कार्यालय, जिल्ला प्राविधिक कार्यालय र गाउँपालिकाका इञ्जिनियरसहितको टोलीले स्थलगत अवलोकन गरे । ‘जमिन कस्तो खालको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ’, जिल्ला प्राविधिक कार्यालय बागलुङका इञ्जिनियर कृष्ण बास्तोलाले भने, ‘बाँसको सुप्लोमा चिप्लेटी खेलेजस्तै गरेर यहाँको जमिन फाँटेको छ ।’

मध्यपहाडी लोकमार्गले घुम्टो हालेको उक्त बस्तीमा तलतिरबाट काटिएको जमिनले धाँजा फाटेको हुन सक्ने बास्तोलाको भनाइ छ । ‘यहाँका कुनै पनि घर जुनसुकै बेला भत्किन सक्छन्’, बास्तोलाले भने, ‘धाजा फाँटेको गतिमा जमिन बगेर गयो भने काउलेभन्दा तलका बस्ती पनि जोखिममा देखिएका छन् ।’ उनले काउलेभन्दा तल्लो भागमा रहेको पोखरा बजार र आसपासका बस्तीका बासिन्दाले सजगता अपनाउनु पर्ने उनको सुझाव छ ।

झण्डै ४० घर परिवार रहेको पोखरा बजार पनि काउलेमा चर्केको जमिनका कारण चिन्तित छन् । जमिन फाँट्नु र घर चर्कनुको कारण खुलेको छैन । ‘भुगर्भीय अध्ययन नगरेसम्म यही कारण हो भन्न सकिन्न’, इञ्जिनियर बास्तोलाले भने, ‘बाटो बनाउँदा थर्किएको जमिनभित्र पानी पस्नु, जमिनको गहिराईको माटो तथा ढुंगा कमजोर हुनु यसका कारण हुन सक्छन् ।’

दलित बस्ती रहेको उक्त गाउँका १३ परिवारलाई हाल सुरक्षित ठाउँमा सारिएको गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिए । गाउँपालिकाले तत्कालका लागि खाने बस्ने बन्दोबस्त मिलाएर नजिकै आफन्तकोमा बस्न आग्रह गरेको छ । जमिन चर्केकाले बस्ती विस्थापित भएपछि काठेखोला गाउँपालिकाले उचित व्यवस्थापनको विकल्प खोज्न सुरु गरेको छ । ‘तत्कालका लागि आफन्तकोमा बस्न र नजिकमा आफन्त नभएकालाई सुरक्षित जमिनमा टहरा बनाएर बसाल्ने योजना बनाएका छौं’ अध्यक्ष थापाले भने, ‘जमिनको परिस्थिति हेर्दा बस्तीलाई सुरक्षित ठाउँ खोजेर स्थानान्तरण गर्नुपर्ने देखिएको छ ।’ गाउँपालिकामा छलफल चलाएर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई बस्ती व्यवस्थापन गर्नका लागि सहयोग गर्न आग्रह गरिने अध्यक्ष थापाले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.