रेल कूटनीति र समृद्धि

रेल कूटनीति र समृद्धि

प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमणको मुख्य उपलब्धि भनेको चीनको विश्वास जित्न सक्नु हो। प्रधानमन्त्रीलाई बेइजिङमा जुन हार्दिकता देखाइयो, त्यो नै भ्रमण सफलताको मानक हो। छदिने भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्राध्यक्ष सी जिनपिङसँग ‘वन अन वन’ वार्ताको अवसर पाए र समकक्षी ली खछ्याङसँगको प्रतिनिधिमण्डल स्तरीय वार्तामा तीन सम्झौता, सात समझदारी र चार ‘लेटर अफ एक्सचेन्ज’ गरी चौधवटा सम्झौता गरे। साथै वार्तापश्चात् नेपाल–चीन सम्बन्धको विकास र थप विस्तारका लागि दिशानिर्देश गर्ने चौधबुँदे संयुक्त विज्ञप्ति पनि जारी गरियो।

पहिलोपटक प्रधानमन्त्री भएपछि चीनसँग ऐतिहासिक सम्बन्ध जोड्न सफल ओलीले आफ्नो दोस्रो कार्यकालमा पनि चीनसँगको सम्बन्धलाई नै महŒव दिने र दक्षिणसँगको सम्बन्धमा तीक्तता आउने हो कि भन्ने धेरैलाई लागेको थियो, तर पद सम्हालेपछि परम्परालाई पछ्याउँदै भारतको भ्रमण गरेर सम्बन्धलाई समेत सन्तुलनमा ल्याए। त्यसलगत्तै उत्तरतर्फको छिमेकी चीनको गरेको दोस्रो भ्रमणले ओली सरकारप्रति चीन सशंकित छ र चीनको अविश्वास बढेको छ भन्ने हल्ला निराधार भएको छ। भ्रमणबाट थप निकटता बढाउने पहल भएको छ।

ओलीको पहिलो प्रधानमन्त्रीत्वकालमा चीनसँग भएको सन्धिसम्झौताहरूको त्यसपछि बनेका सरकारको पालामा कार्यान्वयनको कुनै पहल नै भएको थिएन र दोस्रोपटक प्रधानमन्त्री भएपछि त्यसलाई ब्युँताउन जुन प्रयास गरे, त्यो नै सराहनीय छ। प्रधानमन्त्री ओली यसै सन्धिसम्झौताहरूको कार्यान्वयन र थप नयाँ समझदारीका लागि जम्बो टोलीसहित चीन आएका थिए।

यसर्थ ती दुई वर्षअघिका सन्धिसम्झौता एकपटक पल्टाउने काम भए। हुन त ती कतिपय सम्झौताहरूमा खासै प्रवेश भएको पनि देखिएको छैन। उदाहरणका लागि तेल भण्डारणका लागि भ्रमणअघि युद्धस्तरमा ठाउँको पहिचान गरियो तर चीन आएर पहिलो कार्यकालमा चीनबाट पनि इन्धन खरिद गर्ने प्रसंगले यसपटक ठाउँ पाएन। भारतको एकाधिकार हटाउने प्रयासको पहिलो खुट्किलो भारतबाहेकका देशबाट अत्यावश्यक इन्धन भित्र्याउने विषयले प्रवेश नपाउनु आम नेपालीलाई फेरि पनि आइपर्ने चिन्ता हो।

अघोषित नाकाबन्दीले भरपर्दो छिमेकी चीनसँग बढेको निकटतासँगै चीनबाट तेल र रेल आउनेले चर्चा पाएको हो। त्यस बेलाको आपत्कालीन स्थितिमा चीनबाट तेल आएको पनि हो, अनुदानमै तेल आएको थियो। तर भौगोलिक कठिनाइका कारण यो सहज भने थिएन कम्तीमा पनि हिउँदमा असम्भव झैं छ। तापनि यस विषयले स्थान नपाउनु खेदजनक नै हो।

यस भ्रमणमा सबैभन्दा धेरै चर्चा पाएको भनेको रेल नै हो। प्रधानमन्त्रीदेखि प्रायशः हरेक नेताले आफ्नो भाषणमा उत्तरबाट रेल कुँदेर आउने र देश समृद्ध हुने कथा सुनाउँदै आएका छन् र थिए। जानेर वा नजानेर सबै नेताले रेल आएपछि देशको काँचुली फेरिन्छ भन्ने प्रवचन दिँदै आएका छन् यससँगै आम नेपालीले पनि उत्तरबाट रेल आएपछि साँच्चै समृद्ध हुन्छ भन्ने कल्पना पनि गरेका छन् र थिए। भ्रमणले रेल कहिलेसम्म आउँछ त भन्ने टुंगो लगाइदिएको छ।

मेलम्चीको पर्खाइमा राजधानीवासी मात्र थिए भने चिनियाँ रेलको पर्खाइमा सारा नेपाली नै थिए, तर रेल आजैबाट काम सुरु गर्ने हो भने पनि सम्पन्न गर्न करिब दस–बाह्र वर्ष लाग्ने देखिन्छ। सायद सन् २०३० मा चिनियाँ रेल चिनियाँ पर्यटक र चिनियाँ सामान लिएर काठमाडौंसम्म आइपुग्नेछ। यसरी आम नेपालीले आज हो कि भोलि आउला जस्तो गरेको रेल चीन भ्रमणलगत्तै प्रधानमन्त्रीले रेलजस्तो कुरा भन्नासाथ कहाँ हुन्छ र भनेपछि हाललाई नेपालीको आशामा तुषारापात भएको छ।

प्रधानमन्त्रीको चीन भ्रमण सम्पन्नसँगै चिनियाँ रेल तुरुन्तै नेपाल नआइपुग्ने देखिएको छ नै, त्यसमाथि लगानी कसले गर्ने भन्ने अन्योल छ। यसको निर्माण लागत नेपालले थेग्न सक्ने अवस्था नै छैन र चीनले अनुदानमा बनाउँछ भने स्वागतयोग्य छ किनकि प्रधानमन्त्रीले चिनियाँ राष्ट्राध्यक्ष सीसँगको वन अन वन वार्तामा सीले चेयरम्यान माओको समेत नेपालमा रेल भित्र्याउने इच्छा रहेको प्रकट गरेको बताएका छन्। साथै चीनको नजर सानो नेपाल मात्रै नभई दक्षिण एसियाली बजार हो।

मेलम्चीको पर्खाइमा राजधानीवासी मात्र थिए भने चिनियाँ रेलको पर्खाइमा सारा नेपाली नै छन्। आजैबाट काम सुरु गर्ने हो भने पनि सन् २०३० मा चिनियाँ रेल चिनियाँ पर्यटक र सामान लिएर काठमाडौंसम्म आइपुग्नेछ।

आशैआशमा बाँच्ने नेपालीलाई चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआई अर्थात् नवीन रेशम मार्गमा आबद्ध भइसकेपछि चीनबाट लाभ लिने अवसर धेरै छन्। त्यसैको परिणामस्वरूप बेइजिङस्थित चीनका लागि नेपाली दूतावासमा प्रधानमन्त्रीको उपस्थितिमा धेरै सम्झौता भए, जसले विश्वसनीयता थपेको छ।

दुई देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिँचाइ परियोजना, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी विभिन्न आठ परियोजना निर्माण गर्ने समझदारी एवं सम्झौता भएको छ। यसले दुई देशको मित्रता, समझदारी र सहकार्य अगाडि बढाउन योगदान पुग्ने नै छ, साथै नेपालको आर्थिक उत्थान पनि हुनेछ।

यसै क्रममा आवश्यक परेको खण्डमा चीनबाट विद्युत् खरिद गर्न र अधिक उत्पादन भएका बेला चीनलाई बिक्री गर्ने बाटो खुलेको छ। यसरी पहिलोपटक चीन पनि नेपाली विद्युत्को ग्राहक बन्ने बाटो खोलेको छ।

साथै प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनियाँ परिषद् (सीसीपीआईटी) र नेपाली दूतावासद्वारा संयुक्तरूपमा आयोजना गरिएको चीन नेपाल व्यापार फोरम तथा दूतावासद्वारा आयोजित स्वागतार्थ भोजमा पनि सम्बोधन गर्दै चिनियाँ व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान गरे र मुलुकभित्रको स्रोत, साधन र छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गर्ने पनि आवाज बुलन्द गरे।

सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने नेपाल सरकारको घोषणाअनुरूप आफ्नो सम्बोधनमा पर्यटनको प्रचार मात्र गरेनन्, नेपालमा पर्यटन तथा लगानीका अवसरहरू विषयक विशेष म्यागेजिनको विमोचन पनि गरेका थिए।

भ्रमण क्रममा रेलमार्ग, ऊर्जा, यातायात, भौतिक पूर्वाधार, लगानी, पर्यटनजस्ता विषयमा भएका छलफल र सम्पन्न सम्झौता समझदारीबाट दीर्घकालीन आर्थिक सहयोगको खाका तयार हुनुका साथै सहयोगको दायरा फराकिलो भएको छ। भूकम्पपछि बन्द तातोपानी नाका सन् २०१९ को मे महिनासम्ममा खुला गर्ने सहमति हुनु पनि एउटा सफलता नै हो।

यस भ्रमणबाट नेपाल चीनबीचको मित्रता, आपसी विश्वास, सद्भाव र समझदारीमा थप अभिवृद्धि भएको देखिन्छ, जसबाट राजनीतिक सम्बन्ध पनि थप सुदृढ हुनेछ। साथै आर्थिक समृद्धि हासिल गर्नका लागि चीनसँगका विभिन्न क्षेत्रहरूमा सहयोग तथा सहकार्यले सघाउ पुग्ने नै छ।

चिनियाँ सरकारको स्वामित्वमा रहेको संसारकै सबैभन्दा ठूलो सञ्चार समूह सीएमजीलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले यो भ्रमणले दुई देशबीचको हित र सम्बन्धलाई थप सुदृढ बनाउने बताउनुका साथै दुवै पक्ष हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जालको बृहत्तर फ्रेमवर्कभित्र रही रेल्वे, सडक, बन्दरगाह, हवाईमार्ग र सञ्चारजस्ता क्षेत्रमा सहयोग अगाडि बढाउने विषयमा सहमति भएको बताए।

राजनीतिक स्थायित्वसँगै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानमा देश अगाडि बढेको र चिनियाँ रेल नेपाल आएसँगै नेपालमा रोजगारका अवसर प्राप्त हुने, त्यसैगरी नेपाली मालसामान चीन निर्यात हुने एउटा आशातीत कुरा पनि व्यक्त गरेका थिए। चालु आर्थिक वर्ष २०७४/७५ को १० महिनामा चीनबाट एक खर्ब २७ अर्ब ५९ करोडको वस्तु आयात भएको छ भने निर्यात दुई अर्ब ६७ करोड मात्र भएको तथ्यांकले देखाउँछ।

राजनीतिक स्थायित्व, सामाजिक सद्भाव तथा आर्थिक विकाससँगै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानमा समेत चीनले सक्दो सहयोग गर्ने चिनियाँ नेताहरूबाट पनि प्रकट भएको छ।

साथै प्रधानमन्त्री ओलीका साथै सत्ता पक्षले यस भ्रमण उपलब्धिपूर्ण रहेको बताएका छन् भने विपक्षीय समूहले विभिन्न मुद्दामा छलफल नभएको भन्दै आरोप पनि लगाएका छन्। पक्ष र विपक्षबाट यस्तो धारणा आउनु स्वाभाविक हो।

प्रधानमन्त्रीको चीन भ्रमणमा जारी भएको संयुक्त वक्तव्यको १० नम्बर बुँदामा अन्तर्राष्ट्रिय अपराध र सुपुर्दगी सन्धिको चर्चा छ। यसैलाई लिएर विपक्षी तथा मानव अधिकारवादीको आवाज चर्को बनेको देखिन्छ। त्यसैगरी लिपुलेकको मुद्दा उठाइएन भन्ने आरोप पनि लगाएका छन्।

कतिपय भ्रमण सद्भाव र सम्बन्ध सुधारका लागि हुन्छन् र दुई देशबीच कुनै मुद्दामा पानी बाराबारको स्थितिसम्म भए पनि भ्रमण हुने गरेको पाइन्छ र ती विषयबाहेक सौहार्द संवार्ता पनि भएका छन्, यसै भूगोलमा। विश्वको पहिलो आर्थिक महाशक्ति हुने लक्ष्यका साथ अगाडि बढिरहेको चीनसँग हालको भ्रमणमा यस्ता प्रसंग नउठाउनु कुनै आश्चर्यको विषय होइन। हो, यो र यस्ता सीमा विवादहरूको मुद्दा अरू पनि छन्, त्यसलाई बेग्लै भ्रमण या स्थितिमा सुल्झाउनु उपयुक्त ठहरिन्छ।

दुई शक्तिसम्पन्न छिमेकी मुलुकहरूको अन्तर्राष्ट्रिय राजनीति नेपालका लागि अवसर र चुनौती दुवै बन्न पुगेको छ। मुख्यतः यस भ्रमण क्रममा र विगतमा भएका सम्झौता समझदारीहरू यथाशीघ्र कार्यान्वयन हुन सके यस सकारात्मक बाटोमा भएको भ्रमणलाई सफल र सार्थक मान्न सकिन्छ।


—अलौकिक जनगणतन्त्र चीनको चिनियाँ अन्तर्राष्ट्रिय रेडियो बेइजिङका विशेषज्ञ हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.