दोलखाका सहकारीले तामाकोसी सेयरका लागि कर्जा नदिने
चरिकोट : जिल्लामा रहेको सहकारीले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयर खरिद गर्न कर्जा प्रवाह गर्न नसक्ने जनाएको छ। सहकारीको छाता संगठन जिल्ला सहकारी संघले सोमबार एक प्रेस विज्ञप्ती जारी गरी सहकारीको तरलतामा आएको असन्तुलनका कारण सेयर खरिदका लागि कर्जा प्रवाह गर्न नसकिने जनाएको हो ।
आर्थिक वर्षको अन्तिम समयमा सहकारी संस्थाले सदस्यले जम्मा गरेको रकम पनि फिर्ता गर्न नसक्ने अवस्था आएकाले कर्जा प्रवाह त झन् गर्न नसकिने संघको अध्यक्ष हेमन्त चौंलागाईंले जानकारी दिए।
सहकारी संघको यो विज्ञप्तीले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले गत असार १२ गते दोलखाबासीका लागि आह्वान गरेको सेयर प्रक्रिया नै संकटमा परेको छ। संघको तथ्याङ्कअनुसार जिल्लाका करिब ७० प्रतिशत सदस्यले सहकारी संस्थाबाट कि त बचत फिर्ता लिने, कि त कर्जा माग गर्ने मध्ये एक विकल्प रोज्न सक्ने भएका कारण एक साथ २ ओटै विकल्पमा सहकारीले सहयोग गर्न नसक्ने विज्ञप्तीमार्फत स्पष्ट पारेको छ।
दोलखाका बहुसंख्यक नागरिक सहकारी अभियानमा आवद्ध भएको र सहकारी संस्थाको वार्षिक खाताबन्दीको समयमा सेयर निष्काशन गरिएकाले तत्कालका लागि रोक्न माग गरिएको संघ अध्यक्ष चौलागाईंले बताए। कम्तिमा वर्षायाम सकिएपछि मात्रै दोलखाली जनताका लागि सेयर निष्काशन गरिनुपर्ने र पुनः सेयर निष्काशन गर्दा आवेदन भर्ने समयावधि कम्तिमा एक महिनाको हुनुपर्ने सहकारी संघको माग रहेको छ।
दोलखा जिल्लामा रहेका ५ सय २५ ओटा सहकारीमा बचत, सेयर र सेयरको लाभांशसहित करिब ७ अर्ब निक्षेप रहेको संघका अध्यक्ष चौंलागाईले जानकारी दिए।