बाढीले बिचल्ली : मध्यरातमा भागाभाग

बाढीले बिचल्ली : मध्यरातमा भागाभाग

वीरगन्ज : सोमबार रातभर भारी वर्षा भएपछि मंगलबार पनि पर्साको वीरगन्ज महानगरपालिकाका थप वडासहित जिल्लाको ग्रामीण भेगका आधा दर्जनभन्दा बढी गाउँ डुबानमा परेका छन्। आइतबार मध्यरातदेखिको वर्षा सोमबार साँझ रोकिए पनि फेरि निरन्तर भएपछि डुबानको समस्या बढेको हो।

सिर्सिया नदीमा पानीको सतह बढेर रानीघाट र रामगढवामा सोमबार रातिदेखि बाढी पसेपछि स्थानीय घरबार छाडेर अन्यत्र आ श्रय लिएर बसेका छन्। रानीघाटको सिर्सिया नदी पुलछेउ रहेको डोम बस्तीका २५ घर डुबानमा परेपछि ७० जना स्थानीय प्रहरी चौकी परिसरको रामजानकी मन्दिरमा आ श्रय लिएर बसेका हुन्। बाढीले डोम बस्तीका २० वटा सुंगुर बगाएको जनाइएको छ। मध्यरातमा नदीको बाढी बस्तीमा पसेपछि घर छाडेर भाग्नुपरेको स्थानीय सुरेन्द्र मल्लिकले बताए।

‘केही घर डुबेका छन्, केही घरमा घुँडासम्म आउने गरी पानी पसेको छ’, उनले भने, ‘नदीमा पानीको सतह घटेको छैन। त्यसैले घरमा जान डर लागिरहेको छ। बालबच्चा सबै लिएर मन्दिरमा शरण लिएर बसेका छौं।’

सिर्सिया नदीछेउमै रहेको रामगढवाका घरभित्र बाढी पसेपछि स्थानीयको पनि बिचल्ली भएको छ। घरमा बाढी पसेपछि पक्की घर हुनेहरू छतमा र नहुनेहरू छत भएका छिमेकीका घरमा आ श्रय लिएर बसेका छन्।

वीरगन्ज–११ का वडाध्यक्ष प्रद्युम्न सेढार्इंले डोम बस्तीका स्थानीय नजिकै मन्दिरमा शरण लिएर बसेको सुनाउँदै खानपानको बन्दोबस्त मिलाइएको बताए। सोमबार राति पनि भारी वर्षा भएकाले महानगरका विभिन्न वडाका थप घर डुबानमा परेको वीरगन्जका मेयर विजय सरावगीको भनाइ छ। पानीको निकासका लागि कर्मचारीका साथ आफू पनि खटिएको उनले बताए। ‘मंगलबार बिहानदेखि नगरका विभिन्न स्थानमा पुगेर पानीको निकास गराउने काम भइरहेको छ’, उनले भने, ‘आवश्यक पर्ने ठाउँमा एस्काभेटर पनि प्रयोग गरिएको छ।’

उनका अनुसार सिर्सिया नदीका विभिन्न पुलमा बाढीले ल्याएका जलकुम्भी अड्किएपछि पानीको बहाव रोकिएकाले त्यसलाई हटाउने काम पनि भइरहेको छ।

ग्रामीण भेगका ओरिया र सिक्टा नदीको बाढी गाउँमा पस्दा पकाहामैनपुर, सबैठवा, लहावरथकरी, भिस्वा, सम्भौता, खेस्रहा, धोबिनी, लंगडी, जयमंगलापुर, मसिहानीलगायत क्षेत्र डुबानमा परेका छन्। सबैठवा र खेस्राहामा रहेका प्रहरी चौकीमा बाढी पसेपछि प्रहरीलाई राति नै सुरक्षित स्थानमा सारिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए। बाढीले ठाउँ–ठाउँमा सडक बगाउँदा ग्रामीण क्षेत्रमा सोमबारदेखि नै यातायात सेवा अवरुद्ध भएको छ। सदरमुकाम वीरगन्जबाट पोखरीसम्म सार्वजनिक यातायातका साधन चले पनि पोखरियाबाट लंगडी, भिस्वा, जयमंगलापुर, धोबिनी, जानकी टोल, सुर्वणपुर र ठोरीसम्म ठप्प छ।

नदी किनारको रूखमा भेटियो शव

पर्सागढी नगरपालिका वडा–४ हरपुरमा फन्ठी खोलाको बाढीले बगाउँदा बेपत्ता भएका किशोरको शव मंगलबार फेला परेको छ। विद्यालयबाट घर फर्किने क्रममा सोमबार बिहान १५ वर्षीय सुरेन्द्र महतो खोलाले बगाउँदा बेपत्ता भएका थिए। पानीको सतह घटेपछि मंगलबार बिहान स्थानीयले खोजी गर्दै जाँदा नदी किनारस्थित रूखमा चेपिएको अवस्थामा महतोको शव फेला परेको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए।

बाढीले महतोसँगै चार विद्यार्थीलाई बगाएकामा सोमबार १५ वर्षीया प्रतिमाकुमारी रामको मृत्यु भएको थियो भने दुई जनाको तत्कालै उद्धार गरिएको थियो।

बाढीले बगाएर दुईको मृत्यु

सुनील ठाकुर। मलंगवा

वर्षाका कारण सर्लाहीका विभिन्न खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ। हरिवन नगरपालिका–३ मोहनपुरका ४० वर्षीय धनबहादुर लोप्चन र हरिवन–९ विष्णुपुरका ७० वर्षीय टेकबहादुर विकको मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताए। लालबन्दी बजारबाट घर फर्किने क्रममा लखन्देही खोलाले बगाएर लोप्चनको मृत्यु भएको स्थानीय सञ्जीव लामाले सुनाए। उनका अनुसार लोप्चनको शव एक किलोमिटर पर भेटिएको थियो।

लखन्देही र वाग्मती खोला आसपासका चक्रघट्टा, रामनगर, गोडैता, बलरालगायत बस्तीका केही घर डुबानमा परेका छन्। घर डुबानमा परे पनि ठूलो समस्या नरहेको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए। वाग्मती नदीको बाढीमा फसेका रौतहटका ६५ किसानलाई सामेबार राति उद्धार गरी मंगलबार बिहान घर फार्काइएको प्रहरीले जनाएको छ। उनीहरूलाई राति ११ बजे उद्धार गरी हथिऔलको प्राथमिक विद्यालयमा राखिएको थियो।सडक आवागमन ठप्प

त्यस्तै, सपहा खोलाको बाढीले ब्रह्मपुरी गाउँपालिका–३ सखुवामा सडक बगाउँदा सर्लाहीको पूर्वी क्षेत्रमा सवारी आवगमन ठप्प बनेको छ। दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले सडक बगाउँदा बस, जिपलगायत ठूला सवारी साधन गुड्न सकेका छैनन्। हुलाकी सडक आयोजनाअन्तर्गत रहेको सखुवामा समयमा पुल निर्माण नहुँदा आवागमन ठप्प बनेको हो। पुलको विकल्पमा बनाइएको बाटो बगाउँदा अहिले समस्या भएको हरिपुर्वाका मुकेश झाले बताए।

‘दुई दिनदेखि सडक अवरुद्ध छ’, सखुवाका रामसिंहासन दासले भने, ‘अहिले साइकल र मोटरसाइकल मात्र गइरहेका छन्।’ मोटरसाइकल तार्न स्थानीय युवाले ५० रुपैयाँ लिने गरेका छन्। सडक बिग्रिँदा पूर्वी क्षेत्रका बासिन्दाले अहिले भारतीय बाटो प्रयोग गर्दै आएको हरिपुर्वाका शम्भु साहले बताए। ‘सखुवा, भेल्हीमा सडक पूरै बिग्रिएको छ। मोटरसाइकल जाने अवस्था छैन’, उनले भने, ‘भारतको बाटो प्रयोग गरेर मलंगवा जानुपरेको छ।’ ५ करोड लागतमा ठेक्का लागेको पुल समयमा निर्माण नहुँदा समस्या भएको स्थानीयको गुनासो छ।

बाह्रबिघा मैदान पोखरीमा परिणत

जनकपुरधाम ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला १ करोडभन्दा बढी रकम खर्च गरी सुन्दर बनाइएको जनकपुरको बाह्रबिग्घा मैदान अहिले पोखरीमा परिणत भएको छ। आइतबारदेखि दुई दिन परेको वर्षा हुँदा पानी मैदान पोखरीमा परिणत भएको हो।

यही मैदानमा भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुर उपमहानगरपालिकाको आयोजनामा नागरिक अभिनन्दन गरिएको थियो। त्यस बेला मैदानलाई व्यवस्थित बनाउन प्रदेश सरकार दिन–रात नभनी लागिपरेको थियो। मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनारको प्रत्यक्ष रेखदेखमा मैदान व्यवस्थापनको काम भएको थियो। मैदानमा पानी जम्न नदिन दमकल व्यवस्था गरी पानी तान्न लगाइएको थियो। तर, मोदी फर्किएपछि मैदानको हाल जस्ताको तस्तै भएको हो।

बिनायोजना बाह्रबिघामा माटो र ग्राभेल हालेर यसको सौन्दर्य बिगार्ने काम भएको स्थानीय युवा सरोज मि श्रको भनाइ छ। उनका अनुसार पानीको निकासका लागि व्यवस्था नभएको हुनाले अहिले थोरै वर्षा हुँदा पनि मैदान पोखरीमा परिणत हुन थालेको हो। ‘यो क्षेत्रका जनता नै सुस्त छन्’, उनले भने, ‘सम्बन्धित निकायले करोडौं खर्च गरेको स्थान दुई महिना नबित्दै बिजोग अवस्थामा पुग्दा पनि आवाज नउठाउनु ठूलो विडम्बना हो।’

बाह्रबिघा मैदानको सौन्दर्यीकरण तथा प्रवद्र्धनका लागि भारत सरकारको आर्थिक सहयोगमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले ३ करोड रकम खर्चिसकेको छ। परिषद्बाट मैदानको सौन्दर्यीकरणका लागि चार निर्माण कम्पनीलाई २ करोड ७० लाखभन्दा बढी रकम भुक्तानी भइसकेको जनाइएको छ।

०००

जलमग्न जनकपुरको बाह्रबिघा मैदान। मनिका झा

०००

रानीघाट र रामगढवामा डुबानमा परेका घर। क्रान्ति शाह


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.