फेरियो इङ्ल्यान्डको भाग्य

फेरियो इङ्ल्यान्डको भाग्य

मस्को : पहिलो पटक टाइब्रेकरमा सफलता हात पार्दै इङ्ल्यान्ड जारी विश्वकप फुटबलको क्वार्टरफाइनल चरणमा पुगेको छ। इङ्ल्यान्डले मंगलबार भएको खेलमा दक्षिण अमेरिकी टोली कोलम्बियालाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्‍यो। विश्वकप फुटबलमा लगातार तेस्रो टाइब्रेकरमा असफलता बेहोरेको इङ्ल्यान्डले चौथो प्रयासमा भने सफलता हात पारेको हो।

इङ्ल्यान्ड यसअघि सन् १९९०, सन् १९९८ र सन् २००६ को विश्वकपमा टाइब्रेकरमै असफल हुँदै उपाधि होडबाट बाहिरिएको थियो। इङ्ल्यान्ड सन् १९९० को विश्वकपको सेमिफाइनलमा तत्कालीन पश्चिम जर्मनीसँग टाइब्रेकरमा ४–३ ले, सन् १९९८ को विश्वकपको प्रिक्वार्टरफाइनलमा अर्जेन्टिनासँग ४–३ ले र सन् २००६ को विश्वकपको क्वार्टरफाइनलमा पोर्चुगलसँग ३–१ गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

विश्वकपबाहेक इङ्ल्यान्ड युरोकपमा समेत टाइब्रेकरमै तीन पटक पराजित भइसकेको छ। इङ्ल्यान्ड सन् १९९६ को युरोकपको सेमिफाइनल तथा सन् २००४ र सन् २०१२ को युरोकपको क्वार्टरफाइनलमा टाइब्रेकरमै पराजित भएको थियो। ठूला प्रतियोगिताको महत्वपूर्ण चरणमा टाइब्रेकरमै निरन्तर असफलता जोडिएपछि इङ्ल्यान्डले रुस विश्वकपको तयारीको धेरै समय यसमै खर्चिएको थियो। अन्ततः त्यही मेहनत काम पनि लाग्यो।

टाइब्रेकरमा टोलीलाई विजयी बनाउन गोलरक्षक जोर्डन पिकफोर्डको भूमिका महत्वपूर्ण देखियो। कोलम्बियाका लागि कप्तान राडामेल फाल्काओ, हुवाँ क्वार्डाडो र लुइस मुरिइलले लगातार गोल गरे। इङ्ल्यान्डका लागि कप्तान हेरी केन र मार्कस रासफोर्डको प्रहार पनि लगातार गोलमा परिणत भएको थियो। तर, तेस्रो प्रहारका लागि आएका जोर्डन हेन्डर्सनको प्रहारलाई कोलम्बियन गोलरक्षक डेभिड ओस्पिनाले असफल तुल्याएपछि इङ्ल्यान्ड ३–२ ले पछि पर्‍यो।

त्यसपछि कोलम्बियाको दुईवटा प्रहार असफल भयो भने इङ्ल्यान्डले आफ्नो बाँकी दुबै प्रहारलाई गोलमा परिणत गर्‍यो। कोलम्बियाको चौथो प्रहारका लागि आएका मात्युस उरिबेले क्रसबारमा प्रहार गर्दा पाँचौं नम्बरमा आएका कार्लाेस बाक्काको प्रहारलाई इङ्ल्यान्डका गोलरक्षक पिकफोर्डले रोकेका थिए। इङ्ल्यान्डका लागि अन्तिम दुई प्रहारमा काइरन ट्रिपियर र एरिक डायरले गोल गरे।

त्यसअघि निर्धारित ९० र थप गरिएको ३० मिनेट समयको खेल भने १–१ गोलको बराबरीमा टुंगिएको थियो। खेलमा इङ्ल्यान्डले पेनाल्टी प्रहारको अवसर सदुपयोग गर्दै ५७औं मिनेटमा १–० को अग्रता बनाएको थियो। डीबक्स भित्र कोलम्बियन मिडफिल्डर कार्लाेस सान्चेजले हेरी केनलाई लडाएपछि इङ्ल्यान्डले पेनाल्टीको अवसर पाएको थियो। उक्त अवसरलाई केनले सदुपयोग गरे। जारी प्रतियोगितामा उनले तीन खेलमा ६ गोल गरेका छन्। उनी गोल्डेन बुटका लागि पनि मुख्य दाबेदार पनि बनेका छन्।

खेलको अन्त्यतिर सुधारिएको प्रदर्शनसहित निरन्तर आक्रमण बुनेको कोलम्बियाले ९० मिनेट खेलको इन्जुरी समयमा बराबरी गोल फर्काएको थियो। क्वार्डाडोको क्रसमा रक्षक ऐरी मिनाले गोल गर्दै कोलम्बियालाई बराबरीमा फर्काएका थिए। गत संस्करण जेम्स रोड्रिगेजको सशक्त प्रदर्शनसँगै क्वार्टरफाइनलसम्म पुगेको कोलम्बिया यस पटक भने प्रिक्वार्टरफाइनल चरणबाटै बाहिरीएको छ।

चोटका कारण जारी प्रतियोगिताको कुनै पनि खेलमा पूर्ण समय खेल्न नसकेका रोड्रिगेज मंगलबार पनि बेन्चमै थिए। उनको अनुपस्थितिमा कोलम्बियाको आक्रमण केही कमजोर देखियो। प्रतियोगितामा कोलम्बियाका लागि स्ट्राइकर असफल देखिँदा रक्षक मिनाले तीन गोल गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.